मस्को- रुसले युक्रेनका विभिन्न क्षेत्रमा रहेका सैन्य संरचना र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी लामो दूरीका क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ। उक्त आक्रमणमा कम्तीमा पनि ८ जनाको ज्यान गएको किएभ पोस्टले जनाएको छ।
रुसी रक्षा मन्त्रालयले शुक्रबार रातभर गरिएको आक्रमणमा युक्रेनका सैन्य उत्पादन केन्द्र, ऊर्जा संरचना र यातायात पूर्वाधारलाई निशाना बनाइएको उल्लेख गरेको छ। उक्त आक्रमणमा परेर अन्य १७ जना घाइते भएको खबर आएको छ।
मन्त्रालयका अनुसार आक्रमणमा युक्रेनले लामो दूरीका क्रुज क्षेप्यास्त्र र ड्रोन उत्पादन तथा भण्डारण गर्ने संरचनालाई लक्षित गरिएको थियो। साथै, युक्रेनी सेनालाई सहयोग पुर्याउने ऊर्जा तथा यातायात पूर्वाधारमा पनि प्रहार गरिएको थियो।
रुसी सेनाले किएभसहित युक्रेनका अन्य पाँच क्षेत्रमा आक्रमण केन्द्रित गरेको मन्त्रालयले जनाएको छ। युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा रहेको बन्दरगाह पूर्वाधारलाई पनि निशाना बनाइएको थियो। उक्त पूर्वाधार युक्रेनी सेनाको सैन्य सामग्री ओसारपसारमा प्रयोग हुँदै आएको रुसी पक्षको दाबी छ।
युक्रेनको राजधानी किएभका मेयर भिटाली क्लिच्कोले रुसी आक्रमणका कारण कम्तीमा तीनवटा पुलमा क्षति पुगेको बताएका छन्। पुलमा क्षति पुगेपछि डिनिप्रो नदीमाथिका पुलबाट हुने आवागमन रोकिएको वा सीमित गरिएको उनले जानकारी दिएका छन्।
युक्रेनी सञ्चारमाध्यमले डिनिप्रो सहरमा पनि नदी पार गर्ने यातायात सेवा रोकिएको जनाएका छन्। तर त्यहाँका पुलमा रुसी आक्रमण भएको पुष्टि भने भएको छैन।
युक्रेनको क्रिभी रिह सहरका स्थानीय प्रशासन प्रमुख अलेक्सान्द्र विल्कुलले रुसी आक्रमणबाट भएको क्षतिका कारण सहरका विभिन्न क्षेत्रमा पालैपालो विद्युत् कटौती गर्नुपरेको बताएका छन्।
रुसी रक्षा मन्त्रालयका अनुसार किएभसहित ६ क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन उत्पादन केन्द्रलाई निशाना; राजधानीका कम्तीमा तीन पुलमा क्षति पुगेको युक्रेनी अधिकारीको भनाइ
यसैबीच, रुसी सेनाले पछिल्ला दिनमा आफ्नो हवाई प्रतिरक्षा प्रणालीले खसालेका युक्रेनी ड्रोनको संख्या उल्लेख्य रूपमा घटेको जनाएको छ।
रुसी रक्षा मन्त्रालयका अनुसार शुक्रबार बिहानसम्मको रातभरमा ३१० वटा युक्रेनी ड्रोन खसालिएका थिए। यसअघि यही साता एकै रातमा १ हजार ४४१ वटा ड्रोन खसालिएको रेकर्ड रहेको रुसी पक्षको दाबी छ।
रुसका अनुसार युक्रेनले त्यसबेला क्रिमियन पुललाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गर्न आफ्नो हवाई प्रतिरक्षा प्रणालीलाई दबाबमा पार्ने उद्देश्यले ठूलो संख्यामा ड्रोन परिचालन गरेको थियो।
रुसको क्रिमिया प्रायद्वीपलाई क्रास्नोडार क्षेत्रसँग जोड्ने क्रिमियन पुलमा युक्रेनी आक्रमणबाट ठूलो क्षति पुगेको रुसी पक्षले जनाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका समर्थकहरूले भने उक्त आक्रमणलाई लामो समयदेखिको प्रतीकात्मक सैन्य सफलताका रूपमा व्याख्या गरेका छन्।
उक्त आक्रमणमा नेदरल्यान्ड्सले उपलब्ध गराएका क्रुज क्षेप्यास्त्र प्रयोग गरिएको क्षेप्यास्त्र निर्माता कम्पनी डेस्टिनसले जनाएको छ।
चीनमा जारी एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै रुसी राष्ट्रपति पुटिनले क्रिमियन पुलमाथिको आक्रमणलाई रणनीतिक भूल भनेका थिए।
उनले यसले युक्रेनले आंशिक युद्धविरामका लागि गरिरहेको आह्वानप्रति रुसको अविश्वास थप बलियो बनाएको र त्यसको जवाफमा कडा प्रतिकार गरिने बताएका थिए।
‘मेरो बुझाइमा किएभका अधिकारीहरू युद्ध रोक्न चाहँदैनन्। किनकि युद्ध रोकिएपछि उनीहरूले निर्वाचन गर्नुपर्ने हुन्छ,’ पुटिनले भनेका थिए, ‘यो उनीहरूका लागि समस्यापूर्ण छ। किनकि किएभमा सत्तामा रहेका व्यक्तिहरूले सत्ता गुमाउनेछन् र युद्धबाट भइरहेको आम्दानी पनि गुमाउनेछन्।’
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२७ का लागि युक्रेनको अनुमानित वित्तीय अभाव बढेको बताएका छन्। बिहीबार पश्चिमा सहयोगीहरूसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै उनले युक्रेनलाई आगामी वर्ष ११५ अर्ब युरो आवश्यक पर्ने बताएका थिए।
‘हामीले युक्रेनलाई ११५ अर्ब युरो आवश्यक पर्ने निष्कर्ष निकालेका छौँ। हामीले ९० अर्ब युरो प्राप्त गर्ने बुझाइ बनाएका छौँ। बाँकी २५ अर्ब युरोको व्यवस्था हामी आफैँ गर्नेछौँ,’ जेलेन्स्कीले भनेका थिए।
रुस र युक्रेनबीच युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहे पनि दुवै पक्षबाट सैन्य आक्रमण र प्रत्याक्रमण तीव्र भइरहेका छन्।



प्रतिक्रिया