बालेन आइतबार दिउँसो १ः४५मा वायुसेवाको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गर्ने

बालेन आइतबार दिउँसो १ः४५मा वायुसेवाको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने भ्रमणमा जाँदै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ः४५ बजे नेपाल वायुसेवाको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गर्ने जानकारी दिए ।

भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार तथा उच्च सरकारी अधिकारीहरू सहभागी हुनेछन्। नेपालबाट जाने सरकारी प्रतिनिधिमण्डल ३४ सदस्यीय हुनेछ भने निजी क्षेत्रका ५२ जना व्यवसायी पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन्।

भ्रमणका क्रममा मंसिर ७ गते प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार विकास तथा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारलगायतका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ।

त्यसक्रममा ऊर्जा तथा सम्पर्क सञ्जालसम्बन्धी परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिने पनि सचिव राईले जानकारी दिए।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् भने विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता हुनेछ। साथै महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाहले नेपाल–भारत बिजनेस फोरमलाई सम्बोधन गर्दै भारतीय व्यवसायीलाई नेपालमा लगानीका लागि आग्रह गर्नेछन्। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा समेत प्रधानमन्त्री शाह सहभागी हुनेछन्।

भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते साँझ ६ः३५ बजे नेपाल वायुसेवाको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।