अन्तर्वार्ता

अबको चुनावमा वाम सहकार्य हुन्छ, रास्वपा कुँडेको दूधजस्तै साइजमा आउँछ : महेश बस्नेत

अबको चुनावमा वाम सहकार्य हुन्छ, रास्वपा कुँडेको दूधजस्तै साइजमा आउँछ : महेश बस्नेत

मध्यावधि निर्वाचन भए फेरि केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेश बस्नेत नेकपा एमालेका सचिव मात्रै होइनन्, अध्यक्ष केपी शर्मा ओलीका निकट र विश्वासिला नेताका रूपमा चिनिन्छन्। ओलीसँगको उनको निकटता राजनीतिक वृत्तमा चर्चाको विषय बन्दै आएको छ। २०८२ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि ओलीका लागि गुण्डूमा निवासको व्यवस्था गर्नेदेखि राजनीतिक घटनाक्रममा बलियो समर्थकका रुपमा उनी देखिएका छन्। केपी ओली प्रधानमन्त्री हुञ्जेल बालुवाटार नछिरेका उनी त्यसपछि भने बलियो सारथि बनेका छन्। बस्नेतले ओलीलाई ‘बा’ भनेर सम्बोधन गर्ने गरेको काठमाण्डुपाटीसँग स्वीकार गरेका छन्।

एमालेले राष्ट्रिय भेला गरिसकेपछि पनि बस्नेतलगायत एमालेका नेताहरू ओलीको विकल्प खोज्ने पक्षमा देखिएका छैनन्। देशले नयाँ पुस्ताको नेतृत्व खोजिरहेका बेला एमाले किन ओलीलाई नै नेतृत्वमा अघि बढाउन चाहन्छ भन्ने प्रश्नमा बस्नेतले अनुहार नयाँ हुँदैमा नेतृत्व सफल नहुने तर्क गरे। व्यक्तिको पहिचान विचार, क्षमता र योग्यताका आधारमा हुनुपर्ने उनको तर्क छ।

सुरुमै ‘तपाईं एमालेको नेतृत्व फेर्न तयार हुनुहुन्न ?’ भन्ने प्रश्नमा उनले भने, ‘अबको चार वर्ष एमालेको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले नै लिनुहुन्छ। त्यसपछि कुरा गरौँला।’

बस्नेतले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने दाबी गरेका छन्। कांग्रेस दोस्रो, नेकपा तेस्रो र अहिलेको प्रमुख दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो शक्तिमा खुम्चिने दाबी उनले गरेका छन्।

२०८२ फागुनको निर्वाचनमा अल्गोरिदम र प्रचारबाजीका कारण रास्वपा कुँडेको दूधजस्तै उम्लिएको टिप्पणी गर्दै उनले अबको निर्वाचनमा पार्टी आफ्नो वास्तविक आकारमा आउने दाबी गरे। रास्वपाप्रति आक्रामक देखिने बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह र रवि लामिछानेबीचको सम्बन्ध पनि बिस्तारै बिग्रँदै गएको टिप्पणी गरे। उनीहरूको सम्बन्धलाई ‘तरबार बेचुवा र घिउ व्यापारी’को जस्तो संज्ञा दिँदै उनले यस्तो सम्बन्ध दिगो नहुने विश्लेषण सुनाए। बस्नेतले आगामी निर्वाचनमा वाम सहकार्य अघि बढ्ने संकेत पनि गरेका छन्। वाम सहकार्य हुँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चुनावी कमान्डर बन्न सक्ने उनको संकेत थियो । वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैली नसुध्रिए मध्यावधि निर्वाचन हुन सक्ने उनले दाबी गरे। त्यसपछि फेरि केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सम्भावना रहेको उनको विश्लेषण छ। बुधबार सकिएको राष्ट्रिय भेला र सचिवालय बैठकको व्यस्तताबीच बस्नेतले काठमाण्डुपाटीसँग संक्षिप्त संवाद गरेका छन्। उनीसँगको कुराकानीको सम्पादित अंश :

एमालेको राष्ट्रिय भेलामा त नेताकै कुरा मात्रै सुन्ने काम भएछ, तल्लो तहका नेता तथा कार्यकर्ताको सुझाव लिनुभएन रे?

उहाँहरूका कुरा नसुनिएको भन्ने होइन। भेलामा मुख्यतः प्रशिक्षण दिने काम भएको हो। समूहगत छलफल गर्ने र प्रतिवेदनहरू समूहमा लैजाने काम अरू बैठकहरूमा हुन्थ्यो। यसपटक त्यो चाहिँ भएन। तर अनौपचारिक रूपमा सुझावहरू लिइएको छ। लिखित तथा मौखिक रूपमा आएका सुझाव र पत्रहरूलाई पनि समेटिएको छ।

स्थानीय तहको निर्वाचन, प्रदेश निर्वाचन र अन्य गतिविधिमा के गर्ने भन्ने विषयमा सामान्य सुझाव मागिएको थियो। तल्लो तहबाट आएका साथीहरूसँग सञ्चार नै भएन भन्नेचाहिँ होइन।

अब स्थानीय तह र प्रदेशसभा निर्वाचन नजिकिँदै छन्। वाम सहकार्यको विषयमा पनि चर्चा भइरहेको छ। तपाईं र अध्यक्षबीच निरन्तर संवाद भइरहेको छ। के छलफल हुँदैछ ?

सहकार्यको सम्भावना छँदैछ। तर अरूसँग सहकार्य हुन्छ भनेर निर्वाचनको तयारी फितलो गर्ने पक्षमा हामी छैनौँ। हामी एक्लै चुनाव जित्न सक्छौँ भन्ने मानसिकताका साथ तयारी गरिरहेका छौँ। एकल रूपमा नै चुनाव जित्ने लक्ष्य राखेर अघि बढेका छौँ।

तपाईंहरू वाम सहकार्य गर्नुहुन्छ कि जुनसुकै पार्टीसँग पनि सहकार्य हुन सक्छ?

अहिले लोकतन्त्र नै धरापमा परेको र अधिनायकवादी हिसाबले सरकार चलिरहेको अवस्थामा मूलतः कम्युनिस्ट पार्टीले वामपन्थी शक्तिलाई प्राथमिकता दिने नै भयो। लोकतान्त्रिक मूल्य–मान्यता स्थापित गराउने र जनताको हकहितमा काम गर्ने दलहरूसँग पनि सहकार्यको सम्भावना रहन्छ।

हामीलाई प्राप्त सूचनाअनुसार एमाले र नेकपाबीच सहकार्य गर्ने भित्री सहमति भइसकेको छ रे, हो?

सम्भावना प्रबल छ र निरन्तर संवाद पनि भइरहेको छ। तर सबै कुरा टुङ्गिसकेको भन्ने होइन। सबै कोणबाट वाम सहकार्यको सम्भावनाबारे छलफल र परामर्श भइरहेको छ। अध्यक्ष ओली र संयोजक प्रचण्डबीच पनि कुराकानी भइरहेको छ।

सहकार्य भन्नाले पार्टी नै एकीकरण गर्ने हो कि अरू कुनै स्वरूपमा अघि बढ्ने हो?

अहिले नै पार्टी एकीकरण गर्ने तहमा परिस्थिति विकास भइसकेको छैन। राष्ट्रिय कार्यकर्ता भेलामा पनि दुई कार्यभार र १५ वटा कार्यक्षेत्रका विषयमा व्यापक छलफल भएको छ।

यो अवसरवादीहरूको झुन्ड हो। स्वार्थ मिलुन्जेल घिउ बेच्ने र तरबार बेच्नेहरू मिलेका हुन्।

मूलतः हाम्रो लोकतन्त्र, राष्ट्रियता र स्वाधीनतामाथि हमला भइरहेको छ। कुनै सिद्धान्त र विचार नबोकेका टपरटुइयाँहरूले यो देशको शासन चलाउने अवस्था बनेको छ। त्यसलाई सच्याउनुपर्छ भन्ने हाम्रो माग हो। यो अवस्था सच्याउने क्रममा निर्वाचन र आन्दोलन दुवैको सामना गर्नुपर्छ।

निर्वाचनमार्फत हिजो नेपाली जनता अल्गोरिदमको भ्रममा परेर साम्राज्यवादी शक्तिहरूको डिजाइनमा केही तत्वले जसरी दुरुपयोग गरे, त्यसलाई सच्याउनुपर्छ भन्ने सन्देश जनताले अबको निर्वाचनमा दिनुपर्छ। अर्को कुरा, वर्तमान सरकारलाई सही ट्र्याकमा ल्याउन सशक्त आन्दोलन गर्नुपर्छ। सरकार ट्र्याकभन्दा बाहिर गएको छ। त्यसका लागि हामी मानसिक रूपमा तयार छौँ भन्ने सन्देश पनि हाम्रो भेलाले दिएको हो।

उसोत तपाईंहरू बहुमतको सरकारलाई चुनौती दिन वाम एकताको धुन बजाउँदै हुनुहुन्छ, होइन?

सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेको छैन। महँगी र भ्रष्टाचार बढेको छ। अनियमितता भएको छ। सरकारले ट्र्याकभन्दा बाहिर गएर काम गरिरहेको छ। अधिनायकवादी शैली अपनाएको छ र प्रतिशोधको राजनीति गरिरहेको छ। यस्तो अवस्थामा हामीले केही न केही गर्नैपर्ने हुन्छ।

एमालेजस्तो लोकतन्त्रका लागि संघर्ष गरेको र नेपाली जनताका लागि काम गरेको पार्टीले अहिलेको ज्यादती सहेर चुप लागेर बस्दैन। बस्नु पनि हुँदैन भन्ने मलाई लाग्छ।

एमालेमा नेतृत्व परिवर्तन र पुस्तान्तरण नभएकै कारण जनताले तपाईंहरूको पार्टीप्रति विश्वास गुमाएका हुन् कि? तपाईंहरू दोस्रो र तेस्रो पुस्ताका नेताहरू यसबारे किन सोच्नुहुन्न?

पार्टीभित्र नेतृत्व परिवर्तनको वैधानिक व्यवस्था हुन्छ। हामीले ११औँ महाधिवेशन गरेको एक वर्ष पुग्दैछ। एक वर्षअघि लोकतान्त्रिक विधि अपनाएर नेतृत्व चयन गरिसकेको अवस्थामा अहिले कसैलाई के भूत चढ्यो भन्दैमा नेतृत्व परिवर्तन गर्ने कुरा हुँदैन। त्यो एजेन्डा एमालेभित्र छँदै छैन।

अबको चार वर्षपछि महाधिवेशन गरेर नयाँ नेतृत्व र नीतिबारे छलफल हुन्छ। नयाँ नेतृत्व भन्नाले उमेरका हिसाबले पछि जन्मिएको व्यक्ति योग्य हुने र अगाडि जन्मिएको व्यक्ति अयोग्य हुने भन्ने मान्यता हामी राख्दैनौँ।

नेतृत्वमा ज्ञानको भण्डार हुनुपर्छ। नीति, सिद्धान्त र विचारको ज्ञान हुनुपर्छ। इमानदारी, भरोसा, सही विचार, दृष्टिकोण र अनुभव हुनुपर्छ। एउटा बालक वा बालिका जन्मिएर २५–२६ वर्षको हुँदैमा देशको नेतृत्व गर्न योग्य हुन्छ भन्ने हुँदैन। त्यसका लागि ज्ञान, अनुभव र क्षमता चाहिन्छ। नयाँ हुँदैमा कोही नेता हुन योग्य हुन्छ भन्ने मान्यता हामी राख्दैनौँ।

तर अहिले राजनीतिक परिस्थिति फेरिएको छ। यही नेतृत्व र यही दिशामा एमाले अघि बढ्दा अबको निर्वाचनमा सम्मानजनक सिट आउला र?

आउँछ। हामी यो चुनावमा एमाले एक्लै लडे पनि पहिलो शक्ति बन्छौँ। वाम नेतृत्वलाई अगाडि लिएर गए पनि एमालेले सबैभन्दा धेरै सिट हात पार्छ।

निर्वाचनमार्फत हिजो नेपाली जनता अल्गोरिदमको भ्रममा परेर साम्राज्यवादी शक्तिहरूको डिजाइनमा केही तत्वले जसरी दुरुपयोग गरे, त्यसलाई सच्याउनुपर्छ भन्ने सन्देश जनताले अबको निर्वाचनमा दिनुपर्छ।

हिजो हावाको भरमा जसरी राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन जितेको थियो, स्थानीय तहको निर्वाचनमा उसको अवस्था ‘पानीपानी’ हुने स्थिति आउँछ। कुँडेमा उम्लिएको दूध उम्लिने बेलामा भाँडोभरि देखिन्छ। अघिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सिट पनि त्यस्तै हो। स्थानीय तहको निर्वाचनमा त्यो दूध सेलाइसकेको हुन्छ। त्यसकारण राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नो वास्तविक आकारमा आउँछ। सेलाएको दूध पिँधमा बसेजस्तै राष्ट्रिय स्वतन्त्र पार्टी पनि पिँधमै पुग्छ।

सवाल के हो भने उनीहरूले राजनीतिमा जुन किसिमका मानक स्थापित गर्न खोजेका छन् र पार्टीबाट जसरी आफूलाई अवतारी व्यक्तिका रूपमा प्रस्तुत गर्ने मान्छेहरू उठाएका छन्, त्यसप्रति जनतामा वितृष्णा बढेको छ। नयाँ पुस्ताको पार्टी भनिएकाहरूप्रति जनताको घृणा फैलिएको छ।

बंगलादेशमा भएको जस्तै घटना नेपालमा हिजो बालेन, रवि र सुदनहरूले गरेका हुन्। बालेन, रवि र सुदनहरूको उत्साह र प्रोत्साहनमा हिजो भएका आन्दोलनमा सहभागी व्यक्तिहरू नै अहिले निराश छन्। ती घटनाको न छानबिन भएको छ, न त त्यस्ता गतिविधिबाट पीडित भएका व्यक्तिहरूको उचित हेरचाह भएको छ।

उनीहरू अहिले जनतालाई दमन र शोषण गर्न चाहन्छन्। तर जनताले बिस्तारै यो कुरा बुझ्दैछन्। नयाँ दलप्रति जनतामा घृणा प्रकट हुने र त्यसले उग्र रूप लिने अवस्था छ। रवि, बालेन, सुदनलगायतका साथीहरू बेलैमा सचेत होऊन् भन्ने मेरो आग्रह छ।

तपाईंहरूको विश्लेषणमा एमाले स्थानीय तहको निर्वाचनमा फेरि पहिलो शक्ति बन्छ?

हो। एमाले पहिलो शक्ति बन्छ। कांग्रेस दोस्रो, नेकपा तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा आउँछ।

अहिलेको सरकार र बालेन–रविबीचको सम्बन्धचाहिँ राम्रो छ, होइन?

यो अवसरवादीहरूको झुन्ड हो। स्वार्थ मिलुन्जेल घिउ बेच्ने र तरबार बेच्नेहरू मिलेका हुन्। तरबार भनेर सिल्भर कभरको तरबार बनाएको र घिउ भनेर तल नक्कली तथा माथि तरम र घिउ हालेको कुरा थाहा भएपछि उनीहरूबीच खटपट लागेको भन्ने एउटा लोककथा हाम्रो समाजमा लोकप्रिय छ।

यो तरबार बेचुवा र घिउ बेचुवाबीचको सम्बन्धजस्तै हो। यस्तो सम्बन्ध दिगो हुँदैन।

तपाईं र अध्यक्ष ओलीबीच निकै घनिष्ठ सम्बन्ध छ। पार्टीमा ओलीले कहिलेसम्म नेतृत्व गरिरहनुहुन्छ?

हाम्रो पार्टीको महाधिवेशनको अवधि चार वर्ष हो। त्यो कार्यकालसम्म जुनसुकै व्यक्ति आए पनि नेतृत्वमा तलमाथि हुनेवाला छैन। अबको चार वर्षसम्म अध्यक्ष केपी शर्मा ओलीलाई कसैले पनि हल्लाउन सक्दैन।

यो बीचमा मध्यावधि निर्वाचन हुन सक्छ र प्रधानमन्त्रीमा पुनः केपी ओली नै आउन सक्ने सम्भावना छ। नेकपा एमालेले निर्वाचनमार्फत बहुमत ल्याउन सक्ने परिस्थिति बन्दैछ। अरू जे–जस्तो भए पनि अबको चार वर्ष एमालेमा कमरेड केपी ओलीकै नेतृत्व रहन्छ।