काठमाण्डु– नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमणमा जानुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सीमा जोडिएको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेट गरेका छन् । मोदीले धामीलाई शुक्रबार नयाँदिल्ली बोलाएर भेटेका हुन् ।
प्रधानमन्त्री बालेन आइतबार दुईदिने औपचारिक भ्रमणका लागि भारत जाँदैछन् । भ्रमणका क्रममा सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग उनको एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् ।
दुई प्रधानमन्त्रीबीचको छलफलमा आर्थिक सहयोग, बाढीपछिको पुनर्निर्माण, हवाई सम्पर्क, ऊर्जा, पूर्वाधार र द्विपक्षीय सम्बन्धका विषय उठ्ने दुवै देशका अधिकारीहरुले बताएका छन् ।
भेटमा नेपालसँगको सीमा विवादका विषयमा बालेन भ्रमणका क्रममा उठाउने एजेन्डाबारे छलफल भएको बुझिएको छ ।
नेपालसँग जोडिएको सीमावर्ती राज्यका मुख्यमन्त्रीसँग भेटेर प्रधानमन्त्री मोदीले बालेनको भ्रमणमा उठ्न सक्ने सीमा, सुरक्षा, व्यापारजस्ता मुद्दामा छलफल गर्न चाहेको संकेत गरेका छन् ।
मोदीले किन बोलाए उत्तराखण्डका मुख्यमन्त्रीलाई दिल्ली ?
नेपाल र भारतबीचको सबैभन्दा संवेदनशील सीमा विवादमध्ये कालापानी, लिपुलेक र लिम्पियाधुरा उत्तराखण्डमा पर्ने क्षेत्र हुन् । ती क्षेत्र नेपालको दार्चुला जिल्लासँग सीमा जोडिएका छन् ।
नेपालले सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको उद्गम लिम्पियाधुरा आफ्नो भएको दाबी गर्दै आएको छ ।
नेपालको संसदले महाकाली नदीको पूर्वतर्फ पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर २०७७ जेठमा नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । त्यसयता दुई देशबीच सीमा विवाद चर्किएको छ ।
भारतले भने नेपालको उक्त दाबी स्वीकार गरेको छैन । उक्त क्षेत्रमा ६० वर्षभन्दा अघिदेखि भारतीय सुरक्षा फौजको उपस्थिति छ ।
भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने मार्ग सञ्चालन गर्दै आएको छ । नेपालले आफ्नो भूमिमा भारतले सडक तथा अन्य पूर्वाधार निर्माण गरेको भन्दै कूटनीतिक असहमति जनाउँदै आएको छ ।
महाकाली नदी, टनकपुर र पञ्चेश्वरको विषय
उत्तराखण्डसँग नेपालको अर्को महत्त्वपूर्ण सरोकार महाकाली नदीको पानी र त्यसको उपयोगसँग सम्बन्धित छ ।
नेपाल र भारतबीच महाकाली सन्धिमा शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर बहुउद्देश्यीय परियोजना समेटिएको छ ।
महाकाली नदीको पानी सिँचाइ तथा विद्युत् उत्पादनका लागि पञ्चेश्वर परियोजना निर्माण गर्ने भनिएको थियो ।
तर, उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन, लाभको बाँडफाँटजस्ता विषय लामो समयदेखि टुंगिन सकेका छैनन् ।
महाकाली सन्धिअनुसार नेपालले टनकपुर ब्यारेजबाट वर्षायाममा प्रतिसेकेन्ड एक हजार क्युसेक र हिउँदमा तीन सय क्युसेक पानी पाउने छ ।
यसबाहेक टनकपुर ब्यारेजसँग जोडिएको नेपाली भूभाग, महेन्द्रनगर आसपासको सीमा क्षेत्र, सीमा स्तम्भ व्यवस्थापन र सीमावर्ती नागरिकको आवागमन पनि दुई देशबीच नियमित समन्वय आवश्यक पर्ने विषय हुन् ।
बालेनको भ्रमणमा सीमा विवाद उठ्छ ?
प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा सीमा विवादले कति प्राथमिकता पाउँछ भन्ने विषयमा नेपाल–भारत दुवैतिर चासो छ ।
बालेन भ्रमणको एजेण्डाबारे छलफल गर्न गत महिना काठमाण्डु आएका भारतीय विदेश सचिव विक्रम मिस्रीको भ्रमणका क्रममा सीमा विवादले प्रवेश पाएको थिएन ।



प्रतिक्रिया