काठमाण्डु– दैलेखमा एक व्यक्तिले आफ्नै परिवारका चार सदस्यमाथि बन्चरो प्रहार गरेका छन् ।
बाबुको आक्रमणबाट दुई बालबालिकाको मृत्यु भएको छ भने श्रीमती र अर्का एक छोरा गम्भीर घाइते भएका छन् ।
चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले शनिबार बिहान करिब ९ः३५ बजे परिवारका सदस्यहरूमाथि बन्चरो प्रहार गरेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सामान्य घरायसी विवादका क्रममा उनले ३५ वर्षीया श्रीमती मनीषा सलामी मगर र तीन सन्तानलाई आक्रमण गरेका थिए ।
बन्चरो प्रहारबाट १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र तीन वर्षीया छोरी करिश्मासहित चारै जना घाइते भएका थिए । उनीहरूको टाउकोमा गम्भीर चोट लागेको थियो ।
घाइते चारै जनालाई एम्बुलेन्समार्फत उपचारका लागि दुल्लु नगर अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा बिहान ११ बजे चिकित्सकले तपेन्द्र र करिश्मालाई मृत घोषणा गरेका थिए ।
गम्भीर घाइते मनीषा र मिलनलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
घटनामा संलग्न अम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया