काठमाण्डु – नेपालको जनकपुरधाम र भारतको अयोध्या क्यान्टबिच सिधा साप्ताहिक एक्सप्रेस रेल सेवा सञ्चालनका लागि भारत सरकारले औपचारिक स्वीकृति प्रदान गरेको छ ।
भारतीय रेल, सूचना तथा प्रसारण एवम् इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले नयाँ रेल सेवा सञ्चालनका लागि स्वीकृति दिइएको जानकारी दिएका हुन् ।
भारतको बिहारस्थित लोकसभा क्षेत्र नम्बर ७ का सांसद रामप्रीत मण्डललाई पठाइएको पत्रमा जनसुविधा र क्षेत्रीय सम्पर्क (कनेक्टिभिटी) लाई अझ सुदृढ बनाउने उद्देश्यले रेल सेवा विस्तार गरिएको उल्लेख छ ।
त्यही क्रममा १५५९५/१५५९६ नम्बरको ‘जनकपुरधाम–अयोध्या क्यान्ट एक्सप्रेस’ (वाया जयनगर) सञ्चालनको स्वीकृति दिइएको पत्रमा जनाइएको छ ।
यस्तो छ समय तालिका
सांसद मण्डलका अनुसार यो रेल साप्ताहिक रूपमा सञ्चालन हुनेछ । यसको प्राथमिक मर्मतसम्भार जयनगरमा गरिने भएको छ ।
जनकपुरधाम–अयोध्या (१५५९५) : प्रत्येक शनिबार दिउँसो १:१० बजे (नेपाली समय) जनकपुरधामबाट प्रस्थान गर्नेछ ।
यो रेल जयनगर (दिउँसो २:१० बजे आगमन र ३:१० बजे प्रस्थान–भारतीय समय), सीतामढी, नरकटियागञ्ज (रिभर्सल) र गोरखपुर हुँदै आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ ।
अयोध्या–जनकपुरधाम (१५५९६) : प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट छुट्नेछ ।
गोरखपुर, नरकटियागञ्ज, सीतामढी र जयनगर (मंगलबार बिहान ८:३० बजे आगमन र १०:३० बजे प्रस्थान– भारतीय समय) हुँदै सोही दिन दिउँसो १२:४० बजे जनकपुरधाम आइपुग्नेछ ।
धार्मिक पर्यटनमा नयाँ आयाम
सीता जन्मभूमि जनकपुरधाम र राम जन्मभूमि अयोध्याबिच सिधा रेल सम्पर्क स्थापित हुँदा नेपाल र भारतबिचको धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्ध अझ बलियो हुने अपेक्षा गरिएको छ ।
यसअघि २ गन्तव्य जोड्ने यात्रामा सीमावर्ती स्टेसनहरूबाट अर्को रेल फेर्नुपर्ने झन्झट रहँदै आएको थियो ।
नयाँ साप्ताहिक एक्सप्रेस रेल सेवाको उद्घाटन नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम छ ।



प्रतिक्रिया