काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार ३ पटक फाइनलमा पुगेर पनि उपाधिविहीन हुँदै आएको सुदूरपश्चिम रोयल्सले अन्तत: तेस्रो प्रयासमा च्याम्पियन बन्ने सपना पूरा गरेको छ ।
शनिबार भएको तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि जितेको हो ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्यो । सुदूरपश्चिमको जीतमा जर्ज मुन्सेले विस्फोटक शतक प्रहार गरे । उनले मात्र ५४ बलमा अविजित १२५ रन बनाए ।
अर्का ओपनर विनोद भण्डारीले २७ बलमा अविजित ३० रन बनाए । मुन्से र भण्डारीले पहिलो विकेटका लागि १५८ रनको अविजित साझेदारी गर्दै टोलीलाई सहज जीत दिलाए ।
मुन्सेको आक्रामक ब्याटिङसामु लुम्बिनीका बलर निरीह देखिए । उनले ४९ बलमै शतक पूरा गरेका थिए । शतकपछि पनि आक्रामक ब्याटिङलाई निरन्तरता दिँदै उनले आफ्नो व्यक्तिगत स्कोर १२५ रन पुर्याए ।
यसअघि टसको नतिजा अनुकूल भएपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । तर सुदूरपश्चिमका ओपनरले सुरुदेखि नै आक्रामक ब्याटिङ गरेपछि लुम्बिनीले दिएको लक्ष्य निकै सानो साबित भयो ।
जीतसँगै सुदूरपश्चिमले अघिल्ला २ संस्करणको फाइनलमा बेहोरेको हारको बदला पनि लिएको छ । संयोगवश यसपटक पनि फाइनलमा उसले अघिल्लो संस्करणको विजेता लुम्बिनीलाई नै प्रतिद्वन्द्वी पाएको थियो ।
३ फाइनल, तेस्रो प्रयासमा उपाधि
एनपीएलका ३ वटै संस्करणमा फाइनल पुग्ने सुदूरपश्चिम एक्लो टोली बनेको छ । तर लगातार २ पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको टोलीका लागि तेस्रो फाइनल यात्रा प्रतिष्ठाको विषय बनेको थियो ।
पहिलो र दोस्रो संस्करणमा उपविजेतामै सीमित भएको सुदूरपश्चिमले यसपटक भने पुरानो असफलता दोहोरिन दिएन ।
एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिमले लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरेको थियो । क्वालिफायर–वानमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै टोली सोझै फाइनल पुगेको थियो ।
तर फाइनलमा जनकपुरसँग ५ विकेटले पराजित भएपछि सुदूरपश्चिम उपविजेतामा सीमित भयो । लिग चरण र क्वालिफायरमा देखाएको उत्कृष्ट प्रदर्शनलाई उपाधिमा परिणत गर्न सकेन ।
दोस्रो संस्करणमा पनि सुदूरपश्चिमको प्रदर्शन प्रभावशाली रह्यो । लिग चरणमा शीर्ष स्थानमा रहँदै क्वालिफायर–वानमा पुगेको टोलीले विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको थियो ।
तर फाइनलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमले फेरि उपाधि गुमायो । लगातार २ संस्करण फाइनल पुगेर पनि च्याम्पियन बन्न नसक्दा टोलीमाथि फाइनलमा दबाब थेग्न नसक्ने प्रश्नसमेत उठ्न थालेको थियो ।
तेस्रो संस्करणमा पनि फाइनल यात्रा सहज थिएन
जारी तेस्रो संस्करणमा भने सुदूरपश्चिमले अघिल्ला २ सिजनको तुलनामा केही फरक परिस्थितिबाट फाइनल यात्रा तय गरेको थियो ।
यसपटक लिग चरणमा दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले क्वालिफायर–वानमा शीर्ष स्थानको लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गरेको थियो । खेलमा ६ विकेटले पराजित भएपछि टोलीले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्नुपरेको थियो ।
दोस्रो क्वालिफायरमा चितवन राइनोजले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो । जीतका लागि अन्तिम ओभरसम्म संघर्ष गर्नुपरेको खेलमा थरिन्दु रत्नायकेले अविजित ५३ रन बनाएर टोलीलाई फाइनल पुर्याएका थिए ।
यससँगै सुदूरपश्चिमले लगातार तेस्रो संस्करण फाइनल खेल्ने उपलब्धि हासिल गरेको थियो । २ वटै संस्करणमा प्लेअफ हुँदै फाइनल पुग्नु टोलीको निरन्तरता र प्रतिस्पर्धात्मक क्षमताको प्रमाण पनि बन्यो ।
तर यसपटक उसको मुख्य चुनौती फाइनल पुग्नु मात्र थिएन, विगतका २ हारको इतिहास बदल्नु थियो ।

लुम्बिनीसँगै बदला पूरा
यसपटकको फाइनल सुदूरपश्चिमका लागि दोहोरो अर्थमा महत्त्वपूर्ण थियो । एकातिर लगातार २ पटक उपाधि गुमाएको पीडा मेटाउनु थियो भने अर्कोतिर अघिल्लो संस्करणको फाइनलमा हराउने लुम्बिनीलाई नै पराजित गर्नु थियो ।
पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवनलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनलमा फेरि लुम्बिनीसँगै भेट भएपछि अघिल्लो हारको बदला लिने अवसर टोलीसामु थियो ।
मुन्सेको शतक र भण्डारीसँगको अविजित साझेदारीले सुदूरपश्चिमले त्यो अवसरलाई शानदार जितमा परिणत गर्यो ।
लगातार ३ संस्करण फाइनल खेलेर पनि उपाधि जित्न नसके ‘अभागी’ टोलीको परिचय पाउने जोखिममा रहेको सुदूरपश्चिमले तेस्रो प्रयासमै त्यो आशंकालाई समाप्त पारेको छ । अब सुदूरपश्चिम एनपीएलको उपविजेता होइन, च्याम्पियन टोली बनेको छ ।



प्रतिक्रिया