काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि भिडन्तमा जर्ज मुन्सेको विस्फोटक ब्याटिङमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्समाथि दबाब बढाएको छ ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १२ ओभरको खेल सकिँदा विना विकेटको क्षतिमा ११६ रन बनाएको छ ।
सुदूरपश्चिमका ओपनर मुन्से शतकतर्फ अघि बढिरहेका छन् । उनले ४५ बलमा अविजित ८९ रन बनाइसकेका छन् । उनको आक्रामक ब्याटिङले लुम्बिनीका बलरलाई सुरुदेखि नै दबाबमा पारेको छ ।
अर्का ओपनर विनोद भण्डारी २५ बलमा २४ रन बनाएर खेलिरहेका छन् । दुवै ओपनरले पहिलो विकेटका लागि शतकीय साझेदारी गरिसकेका छन् ।
सुदूरपश्चिमलाई उपाधि जित्न अब ४८ बलमा ३९ रन मात्रै आवश्यक छ । टोलीले कुनै पनि विकेट नगुमाई लक्ष्यको यात्रालाई मजबुत बनाइसकेको छ ।
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो ।



प्रतिक्रिया