एनपीएलका उत्कृष्ट खेलाडी रिजनले चढे ओमोडाको कार, अरूले के-के जिते ?

एनपीएलका उत्कृष्ट खेलाडी रिजनले चढे ओमोडाको कार, अरूले के-के जिते ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजका तीव्र गतिका बलर रिजन ढकाल व्यक्तिगत प्रदर्शनका आधारमा सबैभन्दा बढी लाभ लिने खेलाडी बनेका छन्।

उनले प्रतियोगितामा दुई व्यक्तिगत अवार्ड जित्नुका साथै ओमोडाको कारसमेत उपहार पाएका छन्।

देब्रे हाते तीव्र गतिका बलर रिजनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक विकेट लिने खेलाडीको गोल्डेन क्याप जिते।

उनले प्रतियोगिताका विभिन्न खेलमा गरी कुल १७ विकेट लिए। सर्वाधिक विकेटकर्ताको अवार्डसँगै उनले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट नेपाली खेलाडी घोषित भएका रिजनले पुरस्कारस्वरूप ओमोडाको कार प्राप्त गरे। यससँगै उनी तेस्रो संस्करणको एनपीएलमा व्यक्तिगत अवार्ड र ठूलो पुरस्कार जित्ने खेलाडीमध्ये प्रमुख आकर्षण बने।

रिजनको व्यक्तिगत प्रदर्शन उत्कृष्ट रहे पनि उनको टोली चितवन राइनोज भने फाइनलसम्म पुग्न सकेन। चितवन दोस्रो क्वालिफायरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी घोषित भए। उनले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।

सुदूरपश्चिमलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका दीपेन्द्रले ब्याटिङ, बलिङ र कप्तानी तीनै क्षेत्रमा योगदान दिएका थिए।

त्यस्तै, नेपाली खेलाडीमध्ये सर्वाधिक रन बनाउने लोकेश बमले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाए। इमर्जिङ खेलाडीको अवार्ड जनकपुर बोल्ट्सका १७ वर्षीय बलर राहुल यादवले जिते। उनले पनि मोटरसाइकल प्राप्त गरे।

चितवन राइनोजका कमिल मिसरा प्रतियोगिताको इनर्जेटिङ खेलाडी घोषित भए। उनले दुई लाख रुपैयाँ पुरस्कार पाए।

सुदूरपश्चिमलाई डेढ करोड, लुम्बिनीलाई ८० लाख

तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि उचालेको हो।

उपाधिसँगै सुदूरपश्चिमले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँ पाउनेछ। तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

एनपीएलको पहिलो र दोस्रो संस्करणमा विजेता टोलीले एक करोड रुपैयाँ पुरस्कार पाएको थियो। तेस्रो संस्करणमा भने नेपाल क्रिकेट संघ (क्यान) ले पुरस्कार राशि बढाएर शीर्ष चार टोलीका लागि कुल तीन करोड रुपैयाँ छुट्याएको थियो। अघिल्लो संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशि ५० लाख रुपैयाँले बढाइएको हो।