तेस्रो प्रयासमा सुदूरपश्चिम बन्यो एनपीएल च्याम्पियन (तस्वीरहरू)

तेस्रो प्रयासमा सुदूरपश्चिम बन्यो एनपीएल च्याम्पियन (तस्वीरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार फाइनलमा पुगेर पनि उपाधिविहीन हुँदै आएको सुदूरपश्चिम रोयल्सले अन्तत: तेस्रो प्रयासमा च्याम्पियन बन्ने सपना पूरा गरेको छ ।

शनिबार भएको तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि जितेको हो ।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्‍यो । सुदूरपश्चिमको जीतमा जर्ज मुन्सेले विस्फोटक शतक प्रहार गरे । उनले मात्र ५४ बलमा अविजित १२५ रन बनाए ।

यसअघि टसको नतिजा अनुकूल भएपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । तर सुदूरपश्चिमका ओपनरले सुरुदेखि नै आक्रामक ब्याटिङ गरेपछि लुम्बिनीले दिएको लक्ष्य निकै सानो साबित भयो ।

जीतसँगै सुदूरपश्चिमले अघिल्ला २ संस्करणको फाइनलमा बेहोरेको हारको बदला पनि लिएको छ । संयोगवश यसपटक पनि फाइनलमा उसले अघिल्लो संस्करणको विजेता लुम्बिनीलाई नै प्रतिद्वन्द्वी पाएको थियो ।

एनपीएलका ३ वटै संस्करणमा फाइनल पुग्ने सुदूरपश्चिम एक्लो टोली बनेको छ । तर लगातार २ पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको टोलीका लागि तेस्रो फाइनल यात्रा प्रतिष्ठाको विषय बनेको थियो ।