प्रधानमन्त्रीको भारत भ्रमण

सांसद चीन पठाएर आफू दिल्ली यात्रामा निस्कन लागेका बालेनबारे भारतीय मिडियाले भने, ‘चलाखीपूर्ण रणनीति’

सांसद चीन पठाएर आफू दिल्ली यात्रामा निस्कन लागेका बालेनबारे भारतीय मिडियाले भने, ‘चलाखीपूर्ण रणनीति’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाहले आइतबारदेखि भारतको दुई दिने राजकीय भ्रमण गर्दैछन् । यो उनको पहिलो ‍‍औपचारिक छिमेक यात्रा पनि हो । प्रधानमन्त्री भएकै दिन गत चैत १३ गते आएको निम्तो उनले आठ महिनापछि कार्यान्यवन गर्दै उनी दिल्ली यात्रामा जाँदैछन्।

भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले त्यहाँस्थित समकक्षी नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । यसैक्रममा मोदीले शाहको सम्मानमा दिवाभोजको आयोजना गर्ने तालिका छ ।

त्यस क्रममा एक दर्जनभन्दा बढी परियोजनाको शिलान्यास तथा उद्घाटन गरिँदैछ । भ्रमणमा दुई देशबीचको आर्थिक सहकार्य, हवाई सम्पर्क विस्तार तथा विकास आयोजनासम्बन्धी विभिन्न सम्झौता र समझदारीलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

यसैगरी, भ्रमणका क्रममा पर्साको अमलेखगन्जदेखि चितवनसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास हुने तय भएको छ ।

उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय छलफल सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार नै साँझ स्वदेश फर्किने तालिका छ । प्रधानमन्त्री शाहको भ्रमणलाई भारतीय सञ्चारमाध्यमले विशेष प्राथमिकतासहित चर्चा गरिरहेका छन्।

भारतबाट प्रकाशित हुने अधिकांश अंग्रेजी र हिन्दीभाषी पत्रिकाहरूमा भ्रमणको कार्यसूची, प्रधानमन्त्री मोदीसँगको वार्ता, व्यापार, ऊर्जा, पूर्वाधार र दुई देशबीचको सम्बन्ध सुधारलाई मुख्य विषय बनाइएको छ ।

भारतीय पत्रपत्रिकाको समाचार र विश्लेषण हेर्दा एउटा साझा दृष्टिकोण देखिन्छ-भारतले शाहको भ्रमणलाई नेपालसँगको सम्बन्धमा नयाँ सुरुवात गर्ने अवसरका रूपमा लिएको छ । तर, केही पत्रिकाले यस भ्रमणलाई दुई देशबीचका पुराना विवाद र विश्वासको परीक्षणका रूपमा पनि व्याख्या गरेका छन् ।

ती पत्रिकाहरूले समग्रमा नेपालका नयाँ नेतृत्वसँग सम्बन्ध सुधार, आर्थिक सहकार्य, व्यापार तथा लगानी, ऊर्जा व्यापार र पूर्वाधार, हवाई, सडक, रेल र डिजिटल कनेक्टिभिटका साथै सीमा विवाद, चीनको प्रभाव र क्षेत्रीय सहकार्यका विषयमा विश्लेषणात्मक समाचार छापेका छन् ।

पत्रिकाहरूले भारत नेपालसँगको सम्बन्धमा नयाँ सुरुवात चाहेको र शाहको भ्रमणलाई पुरानो राजनीतिक असहजता हटाएर नयाँ नेतृत्वसँग विश्वास निर्माण गर्ने अवसरका रूपमा व्याख्या गरेका छन् ।

भारतले नेपालसँगको आर्थिक तथा रणनीतिक सम्बन्धलाई थप गहिरो बनाउन चाहेको चर्चासहित समाचारहरूमा ऊर्जा, व्यापार, पारवहन, डिजिटल पूर्वाधार र लगानी यसका प्रमुख क्षेत्र रहेको उल्लेख गरिएको छ ।

व्यापार, ऊर्जा र प्रविधि मुख्य एजेन्डा

प्रतिष्ठित पत्रिका इन्डिएन एक्सप्रेसले प्रधानमन्त्री शाहको भ्रमणमा व्यापार, ऊर्जा र प्रविधिलाई प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गरेको छ ।

यस पत्रिकाले यो भ्रमणलाई नयाँ नेपाली प्रधानमन्त्रीसँग भारतले सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा पनि प्रस्तुत गरेको छ ।

यस्तै द टाइम्स अफ इन्डियाले मोदी र बालेनले समग्र सम्बन्धको समीक्षा गर्दै लेखेको छ, ‘विकास सहकार्य, जनस्तरको सम्बन्ध, ऊर्जा, सम्पर्क सञ्जाल, स्टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदलाई वार्ताका सम्भावित विषय हो ।’ क्रिकेटलाई पनि दुई देशबीचको सम्बन्धको महत्त्वपूर्ण माध्यमका रूपमा पत्रिकाले चर्चा गरेको छ।

‘सम्बन्ध सुधारका लागि संयुक्त दृष्टिपत्र’ शीर्षकमा हिन्दुस्तान टाइम्सले विश्लेषणात्मक रिपोर्ट प्रकाशित गरेको छ । पत्रिकाले भारतले नेपालसँगको सम्बन्धलाई नयाँ चरणमा लैजान संयुक्त दृष्टिपत्रप्रस्ताव गरेको उल्लेख गरेको छ ।

व्यापार र लगानी, ऊर्जा तथा पारवहन, हवाई, सडक र डिजिटल सम्पर्क, स्वास्थ्य तथा शिक्षा, सीमा व्यवस्थापन, रोजगारी र शैक्षिक अवसर र जनस्तरको सम्बन्ध भ्रमणको एजेन्डा रहेको पत्रिकाले लेखेको छ ।

रिपोर्टमा अर्को महत्त्वपूर्ण विषय पनि समावेश छ । नेपालले भारतसँग दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्याकेज प्रस्ताव गरेको र त्यसमध्ये एक अर्ब डलर अनुदानका रूपमा मागिएको उल्लेख छ ।

भारतले भने यति ठूलो आर्थिक प्याकेज एकैपटक उपलब्ध गराउनुअघि परियोजनाको विस्तृत प्रतिवेदन र नेपालको अनुदान तथा ऋण उपयोग गर्ने क्षमताको मूल्याङ्कन आवश्यक हुने मत राखेको रिपोर्टमा उल्लेख छ ।

त्यसैगरी, लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा विवाद तथा भारतीय सेनामा नेपाली गोर्खाको भर्तीसम्बन्धी मतभेदलाई पनि भ्रमणमा छलफल हुन सक्ने विषयका रूपमा पनि प्रस्तुत गरिएको छ ।

द्विपक्षीय सम्बन्धको परीक्षा

द पायोनियरले भ्रमणलाई दुई देशबीचको सम्बन्धको परीक्षणका रूपमा व्याख्या गरेको छ । पत्रिकाले नयाँ राजनीतिक नेतृत्वसँग भारतले सम्बन्ध कसरी अघि बढाउँछ भन्ने प्रश्न उठाएको छ ।

पत्रिकाले प्रधानमन्त्री शाहको भ्रमणलाई सामान्य कूटनीतिक भेटघाटभन्दा बढी महत्त्वपूर्ण घटनाका रूपमा प्रस्तुत गरेको छ ।

‘भ्रमणपछि दुई देशबीचको सम्बन्ध व्यवहारमा कति सुधार हुन्छ भन्ने कुरा महत्त्वपूर्ण छ’, पत्रिकाले लेखेको छ । यस्तै द ट्रिब्युनले ऊर्जा, सम्पर्क सञ्जाल र विकास साझेदारीलाई भ्रमणका मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गरेको छ ।

यसले विशेषगरी दुई देशबीचको आर्थिक सहकार्यलाई नयाँ क्षेत्रमा विस्तार गर्ने सम्भावनालाई महत्त्व दिएको छ । भारत र नेपालबीच विद्यमान सहकार्यलाई अझ प्रभावकारी बनाउने र नयाँ क्षेत्र पहिचान गर्ने अवसरका रूपमा भ्रमणलाई व्याख्या गरेको छ ।

यसैगरी द हिन्दुले शाहको भारत भ्रमणमा विभिन्न समझदारीपत्रमा हस्ताक्षर हुने र ऊर्जा परियोजनाहरू उद्घाटन गरिने विषयलाई प्रमुखता दिएको छ ।

यसले भ्रमणलाई नेपाल–भारतबीचको विद्यमान सम्बन्धलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्ने अवसरका रूपमा प्रस्तुत गरेको छ ।

मोदीसँगको भेट र पहिलो द्विपक्षीय विदेश भ्रमण

इन्डिया टुडेले शाहको भारत भ्रमणलाई उनको प्रधानमन्त्री पद सम्हालेपछिको पहिलो द्विपक्षीय विदेश भ्रमणका रूपमा प्रस्तुत गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट, दुई देशबीचको सम्बन्ध र सम्भावित सहकार्यलाई समाचारको मुख्य विषय बनाइएको छ ।

उता दैनिक भाष्करले बालेनको भ्रमणबारे चर्चा गर्दै रास्वपाका कयौँ सांसद चीनतिर पठाएर आफू भने भारत आउन खोजेको दाबी गरेको छ। बालेन शाह आज दिल्ली आउने जनाउँदै उक्त पत्रिकाले तर उनले पहिले नै सासदहरूलाई चीन पठाएको जिकिर गरेको छ।

बालेनले रास्वपाका सांसदहरूलाई चीन पठाएर आफू भने भारत आउनुलाई नेपालको चलाखीपूर्ण रणनीति भनेको छ। उसले मंसिर ६ देखि ७ बीचको २५ घण्टामा बालेनले दिल्लीमा गर्ने भेटघाटसहितका गतिविधिको पनि लामो चर्चा गरेको छ।