काठमाण्डु– रसुवागढी नाका बन्द भएपछि नेपाल–चीन व्यापारको वैकल्पिक मार्ग बनेको कोरलानाबाट विद्युतीय सवारीसाधन (ईभी) आयात ह्वात्तै बढेको छ। चालु आर्थिक वर्षको पहिलो ४ महिनामै उक्त नाका हुँदै ७ हजार ईभी नेपाल भित्रिएका छन्।
मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्षभरि ३ हजार २२३ वटा ईभी आयात भएकामा यस वर्ष चार महिनामै त्यसको दोब्बरभन्दा बढी सवारी भित्रिएका हुन्।
गत भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि कोरलानाबाट ईभीसहित अन्य मालसामानको आयात बढेको भन्सार अधिकृत अमिन्द्र सिंहले जानकारी दिए।
उनका अनुसार साउनमा एक सय, भदौमा १ हजार २५३ तथा असोज र कात्तिकमा ५ हजार ६४७ वटा ईभी नेपाल भित्रिएका छन्।
यद्यपि, नेपाल भित्रिएका सवारीसाधनलाई गन्तव्यसम्म पुर्याउन जोखिमपूर्ण सडक र दक्ष चालकको अभाव चुनौती बनेको छ। यही कारण भन्सार जाँचपास भइसकेका दर्जनौँ ईभी अझै सडकमा अलपत्र अवस्थामा रहेका छन्।
चार महिनामै लक्ष्यभन्दा ३ अर्ब बढी राजस्व
मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयको वार्षिक लक्ष्य ९ अर्ब रुपैयाँ रहेकामा ४ महिनामै लक्ष्यभन्दा ३ अर्ब ५५ करोड १४ लाख रुपैयाँ बढी राजस्व उठेको हो।
यस अवधिमा चीनबाट ३० अर्ब ९ करोड ९ लाख रुपैयाँ बराबरका सामान आयात भएका छन्। ईभी, लत्ताकपडा, कस्मेटिक सामग्री, इलेक्ट्रोनिक उपकरण, निर्माण सामग्री, फलफूल तथा खाद्यान्न प्रमुख आयातित वस्तु हुन्।
त्यस्तै, उक्त नाका हुँदै नेपालबाट २९ करोड ५२ लाख रुपैयाँभन्दा बढीका सामान चीनतर्फ निर्यात भएका छन्। नेपालबाट मुख्यतः हस्तकलाका सामग्री तथा अन्य नेपाली उत्पादन निर्यात हुने गरेका छन्।



प्रतिक्रिया