निरज आचार्यलाई प्रश्नः एमालेको रास्वपा लक्षित ‘अपरेसन ऐना’ अभियान के हो ?

निरज आचार्यलाई प्रश्नः एमालेको रास्वपा लक्षित ‘अपरेसन ऐना’ अभियान के हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमालेले सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित ‘अपरेसन ऐना’ अभियान थालेको छ ।
सामाजिक सञ्जालमार्फत असभ्य, अभद्र र अराजनीतिक गाली गर्नेहरुलाई सुधार्ने उद्देश्यले अभियान थालिएको एमालेले जनाएको छ ।

एमाले प्रचार एवं प्रकाशन विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जालमार्फत असभ्य बन्दै गएको समाजलाई सचेत गराउन र सुधार्न ‘तपाईंले लेखेको, समाजले देखेको’ भन्ने स्लोगनसहित ‘अपरेसन ऐना’ अभियान थालिएको बताए ।

आचार्यका अनुसार अभियानअन्तर्गत नियमित रुपमा असभ्य र छुद्र गाली गर्नेहरुलाई सामाजिक सञ्जाल वा अन्य माध्यममार्फत सचेत गराइनेछ ।

‘सामाजिक सञ्जाललाई परिवार र समाजका अगाडि हेर्नै नमिल्ने गरी विकृतिपूर्ण बनाइएको छ । मनपरि लेख्ने, परिवारमा र समाजमा बोल्न नसक्ने,, हेर्न नसक्ने फोहोर गाली सामान्यजस्तै बन्न लाग्यो’, आचार्यले काठमाण्डु पाटीसँग भने, ‘कम्तिमा समाज सभ्य बनोस्, आलोचान पनि सभ्य शुद्ध र राजनीतिक भाषामा गरोस् भन्नका लागि कहिं न कहीं, कसै न कसैले त सचेत गराउनुपर्ने भयो भन्ने लागेर हामीले यो अभियान सुरु गर्न लागेका हौं ।’

यद्यपि आफूहरुको अभियान रास्वपा वा अरु कुनै दलविरुद्ध लक्षित नरहेको दाबी आचार्यले गरे ।

‘एमाले, काँग्रेस, नेकपा वा रास्वपालाई मन पराउन र नपराउन पाइन्छ । तर, समर्थन र आलोचना गर्दा पनि समाजमा बोल्न र सुन्न सकिने भाषमा गर भनेर उनीहरुलाई सम्झाउने÷सचेत गराउने काम गरिन्छ’, उनले भने ।


एमाले प्रचार विभागअन्तर्गतको सोसल मिडिया युनिटले असभ्य गाली गर्नेहरुको पहिचान गरी त्यस्ता व्यक्तिसहित उनीहरुका परिवारका सदस्य र आफन्तलाई समेत सञ्जालमा लेखिएको विषय जस्ताको त्यस्तै पठाउने काम गर्नेछ ।

यसका अलावा देशभरका पार्टी नेता तथा कार्यकर्ताले स्वतः स्फुर्त रुपमा असभ्य गाली गर्नेलाई ‘ऐना’ देखाउने आचार्य बताउँछन् ।

जसअन्तर्गत साताको एक दिन शनिबार भने अभियानकै रुपमा ‘ऐना’ देखाइनेछ ।


सत्तारुढ रास्वपाका नेता कार्यकर्ता र समर्थकले आफ्नो पार्टी तथा नेतृत्वविरुद्ध समाजमा घृणा फैलाएको निस्कर्षसहित एमालेले अभियान थालेको हो ।

यद्यपि, औपचारिक रुपमा रास्वपाविरुद्ध लक्षित अभियान भनिएको छैन ।