बालेनले तोडे विमानस्थलको सलामी र तामझामयुक्त बिदाइको औपचारिकता

बालेनले तोडे विमानस्थलको सलामी र तामझामयुक्त बिदाइको औपचारिकता

न्यूयोर्कदेखि दिल्लीसम्म उस्तै कार्यशैली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‍काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले विदेश भ्रमणका क्रममा विगतदेखि अभ्यासमा रहेका कतिपय औपचारिकता र कूटनीतिक परम्परालाई तोड्दै लगेका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाँदा सुरु भएको उनको फरक कार्यशैली आइतबारदेखि हुन लागेको भारत भ्रमणमा पनि देखिँदैछ।

आइतबार भारत प्रस्थान गर्न लागेका प्रधानमन्त्री शाहले यसपटक पनि राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो भ्रमणबारे जानकारी गराएका छैनन्।

राष्ट्रपति कार्यालयको सचिवालयका अनुसार प्रधानमन्त्रीले भ्रमणबारे औपचारिक वा अनौपचारिक कुनै माध्यमबाट जानकारी दिएका छैनन्।

राष्ट्रप्रमुखलाई प्रधानमन्त्रीको विदेश भ्रमणबारे जानकारी गराउने अभ्यास रहे पनि शाहले त्यसलाई महत्त्व दिएका छैनन्।

यसअघि न्यूयोर्क जाँदा पनि उनले राष्ट्रपति पौडेललाई जानकारी गराएका थिएनन्। अहिले भारत जाँदासमेत त्यही अवस्था दोहोरिएको छ।

तर, आफ्नै देशका राष्ट्रपतिलाई भ्रमणबारे जानकारी नगराएका प्रधानमन्त्रीले भारत पुगेपछि त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मूसँग भने शिष्टाचार भेट गर्नेछन्। सोमबार दिउँसो ३:१५ बजे मुर्मूसँग भेट गर्ने उनको कार्यतालिका छ।

प्रधानमन्त्रीको यो कार्यशैली राष्ट्रपतिसँगको औपचारिक सम्बन्धमा मात्र सीमित छैन। विदेश भ्रमणमा हुने सरकारी तामझाम, सुरक्षा प्रोटोकल र कूटनीतिक भेटघाटको परम्परागत ढाँचामा पनि उनले परिवर्तन गर्न खोजेको देखिन्छ।

विमानस्थलमा छैन औपचारिक बिदाइ

यसअघि जुनसुकै प्रधानमन्त्री विदेश जाँदा त्रिभुवन विमानस्थलमा तामझाम र सैनिक परेड हुने गरेको थियो । तर बालेनले त्यो औपचारिक बिदाइ गर्ने अभ्यास तोडेका छन्। लामो समयदेखि चल्दै आएको त्यो परम्परा भत्काएर उनी सरल शैलीमा विदेश उड्दैछन्।

प्रधानमन्त्री र राष्ट्रपति विदेश जाँदा मन्त्री, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख र अन्य विशिष्ट व्यक्तिहरू विमानस्थल पुग्ने गरेका थिए। कतिपय भ्रमणमा नेपाली सेनाको सम्मान गारत र अन्य औपचारिक कार्यक्रमसमेत धुमधामसँग हुने गरेका थिए।

तर, प्रधानमन्त्री शाहले न्यूयोर्क जाँदा यस्तो औपचारिक बिदाइ कार्यक्रम राखेनन्। उनको सवारीसाधन सीधै विमान पार्किङ क्षेत्रमा पुगेको थियो। यस पटक पनि त्यही शैली उनले अपनाएका छन्।

यसपटक प्रधानमन्त्री शाहका लागि विमानस्थलमा परम्परागत शैलीको औपचारिक बिदाइ कार्यक्रम राखिएको छैन। उनको सवारीसाधन विमानस्थलको अतिविशिष्ट कक्षमा लामो औपचारिकतामा सहभागी नभई सीधै विमान पार्किङ क्षेत्रमा पुग्ने तयारी छ।

यद्यपि विमानस्थलमा भीभीआईपीको उपस्थितिसम्बन्धी व्यवस्था र औपचारिक सैनिक सलामी एउटै विषय होइनन्। सरकारले यसअघि नै विशिष्ट व्यक्तिको विमानस्थल बिदाइमा उपस्थित हुने अधिकारीको संख्या सीमित गर्ने व्यवस्था गरेको छ।

२५ घण्टा दिल्लीमै, दूतावास पनि नजाने

प्रधानमन्त्री शाहको भारत भ्रमण दिल्लीमै सीमित हुँदैछ । यसअघि भारत जाने नेपाली प्रधानमन्त्रीले दिल्लीबाहेक अन्य सहर र धार्मिक भ्रमण पनि गर्थे। त्यक्रममा विकास परियोजना र औद्योगिक क्षेत्रको अवलोकन गर्ने चलन थियो । धार्मिक तथा सांस्कृतिक स्थल पुगेर तीर्थयात्रा पनि गर्ने चलन थियो ।

शाहको दुई दिने भ्रमण दिल्लीमै सीमित छ। आइतबार दिउँसो दिल्ली पुग्ने उनी सोमबार साँझ काठमाडौं फर्किनेछन्। करिब २५ घण्टाको बसाइमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र राष्ट्रपति मुर्मूसँग भेट गर्ने कार्यक्रम छ।

उनी दिल्लीस्थित नेपाली दूतावास पनि नजाने भएका छन्। दूतावासमा राजदूत तथा अन्य कर्मचारीसँग भेटघाट गर्ने कार्यक्रम पनि छैन। विदेश भ्रमणमा रहेका नेपाली प्रधानमन्त्रीले सम्बन्धित देशमा रहेको नेपाली दूतावास पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिने चलन पुरानै हो।

तर उनी त्यहाँ पनि नजाने भएका छन्। उनले नेपाली दूतावासका कर्मचारीसँग छलफल गर्ने अभ्यास पनि पालना नगर्ने भएका छन्। यस पटक प्रधानमन्त्रीको भ्रमण उच्चस्तरीय वार्तामा केन्द्रित भएको छ।

व्यवसायीसँग मन्त्रीहरू

भारत भ्रमणका क्रममा वालेन्द्रले आर्थिक कूटनीतिसँग जोडिएको छलफलमा पनि भाग नलिने भएका छन्। प्रधानमन्त्री शाहले आइतबार साँझ नेपाल–भारत बिजनेस फोरमको बैठकमा सहभागिता जनाउनेछन्। तर, भारतीय तथा नेपाली व्यवसायीसँगको विस्तृत अन्तरक्रियामा उनी आफैँभन्दा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी हुँदैछन्।

यसअघि भारत भ्रमणमा जाने नेपाली प्रधानमन्त्रीले भारतीय उद्योगी व्यवसायीसँग छुट्टै भेटघाट गर्ने गरेका थिए। यसपटक आर्थिक सहकार्यका विषयमा सम्बन्धित मन्त्रीहरूले छलफल गर्ने तालिका छ।

यस पटक प्रधानमन्त्री शाहको भ्रमणको मुख्य राजनीतिक उपलब्धि मोदीसँगको वार्ता हुनेछ। बालेन प्रधानमन्त्री बनेपछि पहिलो पटक मोदीसँग भेट्दैछन्।

यो उनीहरूबीच चिनजानको भेट पनि हुनेछ । सोमबार बिहान हैदराबाद हाउसमा हुने भेटमा दुई देशबीचको सम्बन्ध, व्यापार, ऊर्जा, पारवहन र विकास सहकार्यका विषयमा छलफल हुँदैछ। उक्त भेटपछि विकास परियोजनाको उद्घाटन, समझदारीपत्र तथा सम्झौता आदानप्रदान र संयुक्त वक्तव्य जारी गरिनेछ।

विदेश नजाने घोषणादेखि भारत यात्रासम्म

प्रधानमन्त्री बनेपछि शाहले पहिलो एक वर्ष विदेश भ्रमण नगर्ने नीति लिएका थिए । गत चैत १३ गते प्रधानमन्त्रीको पदभार सम्हालेको आठ महिनामै उनी पहिलो औपचारिका भ्रमणका लागि भारत जाँदैछन्।

भारत भ्रमणको तयारीका क्रममा पनि उनले परम्परागत कूटनीतिक शैलीभन्दा फरक व्यवहार देखाए । भारतीय विदेश सचिव विक्रम मिस्रीले गत वैशाख २६ गते नै नेपाल आउन चाहेका थिए । तर उनले प्रोचोकल नमिल्ने भनेर भेट्न अस्वीकार गरिदिए । त्यहीकारण मिस्रीको भ्रमण लामो समय रोकियो ।

तर उनै प्रधानमन्त्री शाहले गत कात्तिक १८ गते मिस्रीसँग सिंहदरबारमा लामो संवाद गरे। अनावश्यक तामझाम घटाउँदै गर्दा उनले राष्ट्रप्रमुखलाई जानकारी गराउने अभ्यास भुलेका छन्।

तर प्रधानमन्त्री शाहले विदेश भ्रमणलाई सीमित कार्यक्रम र कम औपचारिकतामा सम्पन्न गर्न खोजेका छन्। विगतको अभ्यासभन्दा अलग राजनीतिक शैली स्थापित गर्न चाहेका छन्।

भारत भ्रमणमा उनले आफ्नै देशको विमानस्थलमा परम्परागत बिदाइको शैली अपनाउने छैनन्। तर, दिल्लीमा भारतीय राजकीय प्रोटोकलअनुसार औपचारिक स्वागत, मोदीसँग उच्चस्तरीय वार्ता र राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्।