काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन कुमार आचार्यले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको भारत भ्रमण सफल, उपलब्धिपूर्ण र सुखद रहोस् भन्दै शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दैछन्।
दुईदिने भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
महामन्त्री आचार्यले भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन भ्रमण महत्त्वपूर्ण हुने बताएका छन्।
भारतको औपचारिक राजकीय भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शाहले सभापति लामिछानेसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराएको पनि रास्वपाले जनाएको छ ।
सोही भेटका अवसरमा सभापति लामिछानेले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेको महामन्त्री आचार्यले बताएका छन् ।



प्रतिक्रिया