काठमाण्डु– सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री एवं पार्टी वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को भारत भ्रमणलाई नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेको छ ।
हाल चीन भ्रमणमा रहेका रास्वपा महामन्त्री विपिनकुमार आचार्यले आइतबार पत्रकारहरूको समूहमा सन्देश पठाउँदै प्रधानमन्त्री बालेनको भारत भ्रमण सफल र उपलब्धिपूर्ण हुने विश्वास व्यक्त गरेका हुन् ।
आचार्यले भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री बालेनले पार्टी सभापति रवि लामिछानेसँग गरेको भेटवार्ताको प्रसंगसमेत उल्लेख गरेका छन् । उनका अनुसार प्रधानमन्त्रीले सभापति लामिछानेलाई भेटेर भारत भ्रमणबारे विस्तृत छलफल गर्नुका साथै भ्रमणका एजेण्डाबारे जानकारी गराएका थिए ।
बालेनले शुक्रबार लामिछानेसँग भेट गरेका थिए । दुई नेताबीच करिब तीन घण्टा ‘वान अन वान’ संवाद भएको थियो ।
आचार्यले सभापति लामिछानेले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा भारतसँगको द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउन भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेको उल्लेख गरेका छन् ।
उनले नेपाल र भारतबीच राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहिआएको स्मरण गराउँदै यस भ्रमणले ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरेका छन् ।
रास्वपाका तर्फबाट आचार्यले प्रधानमन्त्री बालेनको भारत भ्रमण सफल, उपलब्धिपूर्ण र सुखद रहोस् भन्दै शुभकामनासमेत व्यक्त गरेका छन् ।
प्रधानमन्त्री बालेन आइतबार ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने औपचारिक भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् ।
प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार तथा राजनीतिक सल्लाहकार असिम साहसहित उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न संस्थाका प्रतिनिधि सहभागी छन् ।
भ्रमणका क्रममा बालेनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी रहेको आचार्यले उल्लेख गरेका छन् ।



प्रतिक्रिया