काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो भारत भ्रमण हो। भ्रमणका क्रममा उनले आज साँझ भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित विमानस्थलमा भारतीय राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे। नेपाल एयरलाइन्सको नियमित उडानबाट आइतबार दिउँसो दिल्ली प्रस्थान गरेका शाह त्यहाँस्थित ताजमहल होटलमा बस्नेछन्।
भ्रमणको दोस्रो दिन सोमबार भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ। त्यसपछि उनले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।
त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र शाहबीच द्विपक्षीय भेटवार्ता हुनेछ। दुई नेताबीचको छलफलपछि अयोध्या र जनकपुरधामलाई जोड्ने रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भगवान् रामको जन्मभूमि भारतको अयोध्या र माता सीताको जन्मभूमि नेपालको जनकपुरधामलाई जोड्ने उक्त रेल सेवा दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
६०४ किलोमिटर दूरीको रेल सेवा
अयोध्यादेखि जनकपुरधामसम्म सञ्चालन हुने प्रस्तावित रेल सेवाले करिब ६०४ किलोमिटर दूरी तय गर्नेछ। यसका प्रमुख स्टेसनमा अयोध्याधाम, गोरखपुर, बस्ती, नरकटियागञ्ज, रक्सौल, सीतामढी, मधुबनी र जयनगर रहनेछन्।
भारतीय सञ्चारमाध्यमका अनुसार रेल सेवा सातामा एक दिन सञ्चालन हुनेछ। जनकपुरधामबाट हरेक शनिबार र अयोध्या क्यान्टबाट हरेक सोमबार रेल छुट्ने तालिका प्रस्ताव गरिएको छ।
यो सेवा सञ्चालनमा आएपछि नेपाल र भारतका तीर्थयात्रीलाई रामायणसँग सम्बन्धित दुई प्रमुख धार्मिक स्थलबीच आवतजावत गर्न सहज हुनेछ। सीमावर्ती क्षेत्रका बासिन्दालाई पनि शिक्षा, व्यापार तथा पारिवारिक भेटघाटका लागि नयाँ यातायात विकल्प उपलब्ध हुनेछ।
हवाई रुट महत्त्वपूर्ण एजेन्डा
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको हवाई रुटको विषय पनि महत्त्वपूर्ण छ। विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न पश्चिमतर्फबाट नेपाल प्रवेश गर्ने हवाई मार्ग आवश्यक रहेको नेपालको भनाइ छ।
नेपालले महेन्द्रनगर हुँदै पश्चिमबाट नेपाल प्रवेश गर्ने एल६२६ हवाई रुट दुवैतर्फ खुला गर्न भारतसँग आग्रह गर्दै आएको छ। हाल उक्त मार्गबाट नेपालबाट भारततर्फ जान सकिने भए पनि भारतबाट नेपाल प्रवेश गर्ने उडानका लागि पूर्ण अनुमति छैन।
पश्चिमी देश तथा खाडी मुलुकबाट आउने विमानलाई महेन्द्रनगर हुँदै नेपाल प्रवेश गर्न अनुमति मिलेमा भैरहवा र पोखरा पुग्न छोटो मार्ग उपलब्ध हुनेछ। अहिले कतिपय विमानले सिमरा क्षेत्रबाट नेपाल प्रवेश गरी पश्चिमतर्फ फर्किनुपर्ने भएकाले उडान दूरी, समय र इन्धन खर्च बढ्ने नेपालको तर्क छ।
तर भारतले सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै नयाँ हवाई मार्ग खोल्ने विषयमा सावधानी अपनाउँदै आएको छ। प्रस्तावित केही मार्ग उत्तर प्रदेशको गोरखपुरस्थित भारतीय वायुसेनाको महत्त्वपूर्ण सैन्य संरचनानजिक पर्ने भएकाले भारतले सुरक्षा चासो व्यक्त गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
सन् २०२३ मा भारतले एल६२६ मार्गबाट नेपाल प्रवेश गर्ने उडानलाई अनुमति दिने विषयमा सहमति जनाएको भए पनि १५ हजारदेखि २४ हजार फिटको उचाइमा मात्रै उडान गर्न सकिने सर्त राखेको थियो।
नेपालले भने ठूला जेट विमानका लागि उक्त उचाइ व्यावहारिक नहुने बताउँदै आएको छ। यस विषयमा प्रधानमन्त्री शाहको भ्रमणका क्रममा छलफल हुन्छ वा हुँदैन भन्नेबारे औपचारिक रूपमा स्पष्ट भइनसकेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ।



प्रतिक्रिया