काठमाण्डु- कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ६ विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ।
दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको मैदानमा युएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो। नेपालले २८ ओभर बाँकी छँदै जित निकालेको हो।
नेपालको जितमा कुशल भुर्तेलले अर्धशतकीय पारी खेले। उनले ५६ बलमा ६ चौका र १ छक्कासहित ५७ रन बनाए। भुर्तेल २०.२ ओभरमा चौथो विकेटका रूपमा आउट भए।
त्यसअघि मयन यादवले २८ बलमा ४ चौका र १ छक्काको मद्दतले २७ रन जोडे। बसिर अहमद ३१ बलमा १८ र पवन सर्राफ ८ बलमा ९ रन बनाउँदै अविजित रहे।
नेपालका ओपनर अर्जुन कुमाल ५ रनमा आउट भए भने देव खनालले खाता खोल्न सकेनन्। दुवैलाई मुहम्मद मोहसिनले पभेलियन फर्काएका थिए। मयन यादव ६९ रनको अवस्थामा तेस्रो विकेटका रूपमा आउट भए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो।
युएईका लागि मुहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए। उनले ७० बलमा ५ चौका प्रहार गरे। हरप्रीत सिंहले ४८ बलमा ३२ र नुरुल्लाह अयोबीले २४ बलमा १२ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३ विकेट लिए। लामिछानेले १० ओभरमा ३ मेडन राख्दै ११ रन मात्र खर्चिए। भुर्तेलले ५ ओभरमा १५ रन दिएर ३ विकेट हात पारे।
त्यस्तै ललित राजवंशी, राशिद खान र नन्दन यादवले १/१ विकेट लिए।
प्रतियोगितामा नेपाल र युएई दुवै पहिलो जितको खोजीमा थिए। नेपालले यसअघि पहिलो खेलमा भारत ‘ए’सँग पराजय बेहोरेको थियो भने युएई पाकिस्तान ‘ए’सँग हारेको थियो।
आठ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ। युएईलाई हराएसँगै नेपालले प्रतियोगितामा दुई अंक जोडेको छ।



प्रतिक्रिया