कार्यसम्पादनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय पहिलो

कार्यसम्पादनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय पहिलो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – नेपाल प्रहरीका विभिन्न इकाइको गत कात्तिक महिनाको कार्यसम्पादन मूल्यांकनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय देशभरमै पहिलो हुन सफल भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयद्वारा गठित मूल्यांकन समितिले गरेको मासिक कार्यसमीक्षाका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय कात्तिक महिनामा उत्कृष्ट हुन सफल भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अभिलेख प्रणालीमार्फत कार्यसम्पादन मूल्यांकन गर्ने उद्देश्यले निर्धारण गरिएका विभिन्न सूचक तथा तालुक कार्यालयबाट प्राप्त मूल्यांकन समेतका आधारमा उत्कृष्ट नतिजासहित शीर्ष स्थानमा उक्लिन सफल भएको रौतहट प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

रौतहट प्रहरी प्रमुख रिजालका अनुसार प्रहरी प्रधान कार्यालयले स्पष्ट सूचकसहित कार्यसम्पादन समीक्षाका आधारमा मातहतका कार्यालयलाई ‘क’ श्रेणी (उत्कृष्ट), ‘ख’ श्रेणी (सन्तोषजनक) र ‘ग’ श्रेणी (सुधार गर्नुपर्ने) गरी वर्गीकरण गरेकामा यस वर्ष रौतहट ‘क श्रेणी’मा पर्न सफल भएको हो ।

जिल्लाको यसकिसिमको उपलब्धिलाई संस्थागत कार्यकुशलता, व्यावसायिक दक्षता, अनुशासन, जिम्मेवारी बोध तथा नागरिक सेवाप्रतिको समर्पणको परिणाम भएको जिल्ला प्रहरी कार्यालय रौतहटले स्पष्ट गरेको छ । साथै सफलता हासिल गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सम्पूर्ण प्रहरी कर्मचारी, मातहतका प्रहरी इकाइ तथा समन्वय र सहकार्य गर्ने सरोकारवाला निकायहरूप्रति रौतहट प्रहरी कार्यालयले आभार व्यक्त गरेको छ ।

यसै सन्दर्भमा प्रहरी उपरीक्षक रिजालले आफ्नो  नेतृत्वमा आगामी दिनमा समेत जिल्लाको शान्तिसुरक्षा, अमनचयन कायम राख्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाइराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।