मोदी-बालेन वार्ताका तीन उपलब्धि : नेपालले विशेष आर्थिक प्याकेज पाउने, थप दुई बन्दरगाहमा पहुँच

मोदी-बालेन वार्ताका तीन उपलब्धि : नेपालले विशेष आर्थिक प्याकेज पाउने, थप दुई बन्दरगाहमा पहुँच

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तामा नेपालले तीनवटा महत्वपूर्ण उपलब्धि हासिल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन।

उक्त वार्तामा भारतले नेपाललाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउने, दुईवटा समुद्री बन्दरगाह प्रयोग गर्न दिने र अयोध्या-जनकपुर रेल सेवा सुरु गर्ने विषयमा सहमति जुटेको छ। तर नेपालले मागेको हवाई मार्गबारे यस पटक पनि सहमति हुन सकेन ।

काण्डला र पारादीप बन्दरगाह प्रयोग गर्न पाउने, अयोध्या–जनकपुर रेल सेवा पनि सुरु हुने

सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई प्रधानमन्त्रीबीच भएको उच्चस्तरीय वार्तामा यी विषयमा सहमति जुटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दुई प्रधानमन्त्रीबीच करिब १०० मिनेट वार्ता भएको भारतको चर्चित अनलाइन दैनिक भास्करले जनाएको छ। वार्तामा दुवै देशका उच्च अधिकारीसमेत सहभागी थिए।

सहमति

१. नेपाललाई विशेष आर्थिक प्याकेज

भारतले नेपाललाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउने भएको छ। यसलाई दुई देशबीचको वार्ताको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यद्यपि उक्त प्याकेजअन्तर्गत नेपालले कति रकम प्राप्त गर्ने भन्ने विवरण सार्वजनिक भएको छैन।

गत भदौ १० मा आएको बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि नेपालले भारतसँग आर्थिक सहयोगको प्रस्ताव गर्दै आएको थियो। त्यसै सन्दर्भमा भारतले नेपाललाई विशेष आर्थिक सहयोग उपलब्ध गराउने विषय अघि बढेको हो।

२. काण्डला र पारादीप बन्दरगाहमा नेपालको पहुँच

भारतले नेपाललाई गुजरातस्थित काण्डला र ओडिशास्थित पारादीप बन्दरगाह प्रयोग गर्न दिने भएको छ। यसबाट नेपाललाई तेस्रो मुलुकसँगको व्यापार तथा पारवहनमा थप सहजता हुने अपेक्षा गरिएको छ।

नेपालले यसअघि गुजरातस्थित मुन्द्रा बन्दरगाहसम्म पहुँच उपलब्ध गराउन भारतसँग आग्रह गरेको थियो। तर भारतले मुन्द्रा बन्दरगाहमा पहुँच दिन सहमति नजनाएको र त्यसको सट्टा काण्डला बन्दरगाह उपलब्ध गराउने भएको विवरण सार्वजनिक भएको छ।

नेपाल भूपरिवेष्टित मुलुक भएकाले तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय बन्दरगाहमा निर्भर रहँदै आएको छ। यस्तो अवस्थामा थप बन्दरगाह प्रयोग गर्न पाउने व्यवस्थाले नेपालको व्यापारिक विकल्प विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

३. अयोध्या–जनकपुर रेल सेवा

भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्ने नयाँ रेल सेवा पनि सुरु हुने भएको छ। यसको नाम ‘सरयू–कमला एक्सप्रेस’ राखिएको छ।

भारतका प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री शाहले उक्त रेल सेवालाई संयुक्त रूपमा हरियो झण्डा देखाएर उद्घाटन गर्ने कार्यक्रम छ।

भगवान् रामको जन्मभूमिका रूपमा परिचित अयोध्या र माता सीताको जन्मभूमिका रूपमा परिचित जनकपुरधामलाई जोड्ने यो रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाह र मोदीबीचको वार्तालाई नेपाल–भारत सम्बन्धमा नयाँ गति दिने अवसरका रूपमा हेरिएको छ। ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार विकास, हवाई सम्पर्क र सीमा विवादलगायतका विषय पनि दुई देशका प्राथमिकतामा छन्।