लखनऊ– भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्ने रेल सेवा उद्घाटन भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सरयू–कमला एक्सप्रेस’ नाम दिइएको रेल सेवालाई संयुक्त रूपमा हरियो झण्डा देखाएर उद्घाटन गरेका हुन्।
भारतको भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच सोमबार नयाँदिल्लीमा भएको उच्चस्तरीय द्विपक्षीय वार्ताका क्रममा अयोध्या-जनकपुर रेल सेवा सञ्चालन गर्ने विषयमा सहमति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भगवान् रामको जन्मभूमिका रूपमा परिचित अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई जोड्ने यो रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सरयू–कमला एक्सप्रेस सञ्चालन हुनुले अयोध्या र मिथिलाबीचको सदियौँ पुरानो सांस्कृतिक सम्बन्ध पुनः मजबुत हुने बताएका छन्।
रेल सेवाले दुवै देशका श्रद्धालुलाई सीधा आवतजावत गर्न सहज बनाउने उनले बताएका छन्। यसले नेपाली श्रद्धालु भगवान् रामको दर्शन गर्न अयोध्या पुग्न सक्नेछन् भने भारतीय श्रद्धालु देवी जानकीको पूजा गर्न जनकपुरधाम आउन सक्नेछन्।
मोदी र बालेनले ‘सरयू–कमला एक्सप्रेस’ लाई देखाए हरियो झण्डा, अयोध्या र मिथिलाबीचको सदियौँ पुरानो सांस्कृतिक सम्बन्ध थप बलियो हुने योगीको भनाइ
अयोध्या र जनकपुरधामबीच धार्मिक तथा पौराणिक सम्बन्ध रहँदै आएको छ। रामायणमा वर्णन गरिएअनुसार अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको थियो। यही सम्बन्धका कारण जनकपुरधामलाई सीताको माइती र अयोध्यालाई रामको घरका रूपमा लिइन्छ।
दुई धार्मिक सहरलाई रेल सेवाबाट जोड्ने योजनाले भारत र नेपालबीचको धार्मिक पर्यटन प्रवर्द्धनका साथै जनस्तरको सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाह र मोदीबीच सोमबार भएको करिब १०० मिनेट लामो द्विपक्षीय वार्तामा रेल सेवासहित नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो।




प्रतिक्रिया