बालेनको भारत भ्रमण : भैरहवा-लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति

बालेनको भारत भ्रमण : भैरहवा-लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति

नयाँ रेलमार्ग र ऊर्जा परियोजना अघि बढाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता पाउने भएको छ।

भारतले भदौ १० गतेको भोटेकोसी विपद्पछिको पुनर्निर्माण तथा पूर्वाधार विकासका लागि ५ हजार ६०० करोड रुपैयाँ अनुदान र ऊर्जा क्षेत्रका परियोजनाका लागि १८ हजार ४०० करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको हो।

नेपालका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार र सोमबार भएको वार्तापछि जारी संयुक्त विज्ञप्तिमा उक्त सहायता घोषणा गरिएको हो।

भारतले उपलब्ध गराउने २४ हजार करोड रुपैयाँमध्ये ३ हजार ५०० करोड भारतीय रुपैयाँ अर्थात् ५ हजार ६०० करोड नेपाली रुपैयाँ अनुदान हुनेछ। यो रकम नेपालमा विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनामा खर्च गरिनेछ।

त्यस्तै, ११ हजार ५०० करोड भारतीय रुपैयाँ अर्थात् १८ हजार ४०० करोड नेपाली रुपैयाँ भारतीय रुपैयाँमा उपलब्ध गराइने ऋण सहायता हो। यो रकम ऊर्जा क्षेत्रका परियोजनामा उपयोग गरिनेछ।

कुन परियोजनामा कति रकम खर्च गर्ने र सहायता उपलब्ध गराउने प्रक्रिया के हुने भन्ने विषय भने दुवै देशबीचको आपसी परामर्शबाट टुंगो लगाइने विज्ञप्तिमा उल्लेख छ।

गत भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोगप्रति प्रधानमन्त्री शाहले आभार व्यक्त गरेका छन्। भारतले दिने अनुदानमध्ये एक हिस्सा उक्त विपद्पछिको पुनर्निर्माणमा खर्च गरिने भएको छ।

भैरहवा–लखनउ हवाई रुट दुईतर्फी

नेपालको हवाई कनेक्टिभिटी विस्तारका लागि काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति दुई देशबीच भएको छ। हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको बी–३४५ हवाई रुटलाई दुवैतर्फी बनाउने सहमति दुई प्रधानमन्त्रीबीच भएको हो।

यसका लागि दुवै देशका प्राविधिक अधिकारीबीच परामर्श गरी कार्यान्वयनका प्रक्रिया टुंग्याइनेछ। नागरिक उड्डयनका अन्य प्रस्तावमा पनि छलफल जारी राख्ने सहमति भएको छ।

नेपालले लामो समयदेखि भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेश मार्गको माग गर्दै आएको छ।

संयुक्त विज्ञप्तिमा भने विशेष रूपमा काठमाडौं–भैरहवा–लखनउ रुटलाई दुईतर्फी बनाउने सहमति उल्लेख गरिएको छ। अन्य हवाई मार्गसम्बन्धी प्रस्तावलाई छलफलबाट टुंग्याइने जनाइएको छ।

काण्डला बन्दरगाहबाट पारवहन सुविधा

भारतले नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि गुजरातस्थित दीनदयाल बन्दरगाह अर्थात् काण्डला हुँदै नयाँ पारवहन मार्ग उपलब्ध गराउने भएको छ।

त्यस्तै, ओडिशास्थित पारादीप बन्दरगाहमा पनि आवश्यक पूर्वाधार तयार भएपछि नेपाललाई पहुँच उपलब्ध गराइने संयुक्त विज्ञप्तिमा उल्लेख छ।

यसअघि नेपालले भारतसँग मुन्द्रा र धाम्रा बन्दरगाह प्रयोग गर्न अनुमति मागेको विषय सार्वजनिक भएको थियो। तर संयुक्त विज्ञप्तिले तत्काल काण्डला बन्दरगाहबाट नयाँ पारवहन मार्ग उपलब्ध गराउने र पारादीपमा पूर्वाधार तयार भएपछि पहुँच दिने व्यवस्था स्पष्ट गरेको छ।

५ हजार ६०० करोड अनुदान र १८ हजार ४०० करोड ऋण सहायता, काण्डला बन्दरगाहबाट पारवहन सुविधा, भैरहवा–लखनउ हवाई रुट दुईतर्फी बनाइने

यसले तेस्रो मुलुकसँगको व्यापारका लागि नेपालका समुद्री पारवहन विकल्प विस्तार गर्नेछ। तर पारादीपको पहुँचका लागि आवश्यक पूर्वाधार निर्माण र काण्डलाबाट हुने ढुवानीको व्यावहारिक व्यवस्था टुंगिन बाँकी छ।

अयोध्या–जनकपुर रेल सेवा

दुई प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गरेका छन्।

यो रेल सेवाले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नुका साथै रामायण सर्किटलाई जोड्ने अपेक्षा गरिएको छ। भारत र नेपालबीचको सभ्यतागत सम्बन्धलाई थप बलियो बनाउने दुवै नेताको विश्वास छ।

दुवै देशले बौद्ध तथा शिव–शक्ति धार्मिक पर्यटन सर्किट विकास गर्न पनि यस्तै प्रकारका सम्पर्क विस्तारको सम्भावना खोज्ने सहमति गरेका छन्।

रक्सौल–काठमाडौं रेलमार्गको सर्वेक्षण सम्पन्न

नेपाल र भारतबीच प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भे सम्पन्न भएको घोषणा गरिएको छ।

यससँगै नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकास गर्न भारतले सहकार्य गर्ने भएको छ। सीमापार रेलमार्ग, पुल, एकीकृत जाँच चौकी तथा पेट्रोलियम पाइपलाइन निर्माणलाई पनि दुई देशले प्राथमिकतामा राखेका छन्।

बनबासामा नयाँ एकीकृत जाँच चौकी निर्माणको शिलान्यास गरिएको छ। भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माण भइरहेका एकीकृत जाँच चौकीको प्रगतिलाई पनि स्वागत गरिएको छ।

त्यस्तै, भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने नयाँ मोटरेबल पुल उद्घाटन गरिएको छ। यसले पश्चिमी नेपाल र भारतबीचको प्रत्यक्ष आवागमन सहज बनाउने अपेक्षा गरिएको छ।

पेट्रोलियम पाइपलाइन विस्तार

भारत र नेपालबीचको पेट्रोलियम पूर्वाधार विस्तारअन्तर्गत मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन गरी नेपाली जनतालाई समर्पण गरिएको छ।

त्यस्तै, झापामा नयाँ पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गरिएको छ। सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माणको काम पनि छिटो सुरु गर्ने दुवै देशको प्रतिबद्धता छ।

भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणमा समेत सहकार्यको सम्भावना खोजिने भएको छ।

६६९ मेगावाटको तल्लो अरुणको शिलान्यास

ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्दै दुवै प्रधानमन्त्रीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास भर्चुअल माध्यमबाट गरेका छन्।

नेपालमा भारतीय कम्पनीहरूको संलग्नतामा निर्माण भइरहेका जलविद्युत् आयोजनाको काम छिटो सम्पन्न गर्ने सहमति पनि भएको छ।

त्यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिटो टुंग्याएर कार्यान्वयन सुरु गर्न दुवै देशले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाको डीपीआर तयार पार्ने कामलाई पनि तीव्रता दिने सहमति भएको छ। यी परियोजनाबाट जलस्रोतको पारस्परिक उपयोगका साथै बाढीको प्रभाव न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।

नेपालको इनरुवा–भारतको न्यू पूर्णिया र नेपालको दोधारा–भारतको बरेली जोड्ने दुई उच्च क्षमताका सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठन गर्ने प्रक्रियामा पनि प्रगति भएको छ।

नेपालमा आईआईटीको शाखा स्थापना हुने

भारतले नेपालमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को विदेशी शाखा स्थापना गर्ने भएको छ। यसले नेपालको शिक्षा क्षेत्रमा क्षमता अभिवृद्धि र रोजगारी सिर्जनामा सहयोग पुग्ने संयुक्त विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, प्रविधि, स्टार्टअप, डिजिटल सेवा तथा वित्तीय कनेक्टिभिटीका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको छ।

एक देशका नागरिक अर्को देशमा बसोबास गर्दा बैंकिङ तथा दूरसञ्चार सेवा सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने विषयमा पनि दुवै पक्षले जोड दिएका छन्।

चितवनमा कृषि औद्योगिक पार्क

भारतको अनुदान सहयोगमा चितवनमा कृषि औद्योगिक पार्क स्थापना गरिने भएको छ। नेपालमा भारतको सहयोगमा सञ्चालन भइरहेका उच्च प्रभाव सामुदायिक विकास परियोजना तथा राष्ट्रिय प्रहरी प्रतिष्ठान निर्माणको प्रगतिलाई पनि दुई प्रधानमन्त्रीले स्वागत गरेका छन्।

आठ समझदारीपत्रमा हस्ताक्षर

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच आठवटा समझदारीपत्र आदानप्रदान भएका छन्।

समझदारीपत्रहरू फरेन्सिक विज्ञानमा शैक्षिक तथा अनुसन्धान सहकार्य, प्रहरी तालिम, प्रशासनिक अधिकारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्य विकाससँग सम्बन्धित छन्।

फरेन्सिक विज्ञानमा भारतको गुजरातस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच सहकार्य हुनेछ। प्रहरी तालिमका लागि भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच समझदारी भएको छ।

त्यस्तै, नेपाली सरकारी कर्मचारीलाई प्रशिक्षण दिन भारतको राष्ट्रिय सुशासन केन्द्र र नेपालको प्रशासनिक कर्मचारी कलेजबीच सहकार्य हुनेछ।

भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार सञ्जाल स्थापना गर्ने समझदारी पनि भएको छ।

संयुक्त भिजन जारी, मोदीलाई निमन्त्रणा

दुई प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’ का लागि संयुक्त भिजन जारी गरेका छन्। यसले आर्थिक तथा विकास साझेदारी, कनेक्टिभिटी, ऊर्जा, जलस्रोत र जनस्तरको सम्बन्धलाई विस्तार गर्ने मार्गचित्र प्रस्तुत गर्नेछ।

यसमा जलवायु परिवर्तनसँग जुध्ने क्षमता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रमा नयाँ सहकार्यका विषय पनि समेटिएका छन्।

प्रधानमन्त्री शाहले भारत सरकारले आफू र प्रतिनिधिमण्डललाई दिएको आतिथ्यका लागि मोदीप्रति आभार व्यक्त गर्दै उनलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। मोदीले निमन्त्रणा स्वीकार गरेका छन्। भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिने विज्ञप्तिमा उल्लेख छ।