नेपालले पहुँच पाएका काण्डला र पारादीप बन्दरगाह कस्ता हुन्, कहाँ छन् ?

नेपालले पहुँच पाएका काण्डला र पारादीप बन्दरगाह कस्ता हुन्, कहाँ छन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतले नेपाललाई तेस्रो मुलुकसँगको व्यापारका लागि गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न दिने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार प्रधानमन्त्री वालेन्द्र शाहसँगको संयुक्त पत्रकार सम्मेलनमा नेपालको पारवहन व्यापार सहज बनाउन यी दुई बन्दरगाहमा पहुँच उपलब्ध गराउने घोषणा गरेका हुन्।

नेपालले यसअघि भारतसँग गुजरातको मुन्द्रा र ओडिशाको धाम्रा बन्दरगाह प्रयोग गर्न अनुमति मागेको थियो। तर भारतले ती दुईको सट्टा सरकारी व्यवस्थापनमा रहेका काण्डला र पारादीप बन्दरगाह उपलब्ध गराउने निर्णय गरेको हो।

नेपालले हाल तेस्रो मुलुकसँगको व्यापारका लागि भारतका कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको छ। नयाँ दुई बन्दरगाहमा पहुँच पाएपछि नेपालको समुद्री पारवहनका लागि विकल्प थपिनेछ।

काण्डला बन्दरगाह : गुजरातको पश्चिमी तटमा

काण्डला बन्दरगाह भारतको गुजरात राज्यको कच्छ जिल्लामा पर्छ। गान्धीधाम सहरनजिकै कच्छको खाडीमा अवस्थित यो बन्दरगाह अरब सागरको तटीय क्षेत्रमा छ। यसको आधिकारिक नाम अहिले दीनदयाल बन्दरगाह प्राधिकरण हो।

भारतको पश्चिमी तटमा रहेको यो प्रमुख बन्दरगाह सन् १९५० को दशकमा विकास गरिएको हो। सन् १९५५ मा भारतको प्रमुख बन्दरगाहका रूपमा घोषणा गरिएको काण्डलाको नाम सन् २०१७ मा परिवर्तन गरी दीनदयाल बन्दरगाह राखिएको हो।

एउटा गुजरातको अरब सागर किनारमा, अर्को ओडिशाको बंगालको खाडीमा, तेस्रो मुलुकसँगको व्यापारका लागि नेपालले पाउने भए दुई नयाँ समुद्री मार्ग

भारतको बन्दरगाह तथा जलमार्ग मन्त्रालयका अनुसार काण्डला बहुप्रकारका मालसामान ओसारपसार गर्ने बन्दरगाह हो। यहाँबाट पेट्रोलियम पदार्थ, तेलजन्य सामग्री, रसायन, फलाम तथा स्टिल, खाद्यान्न, नुन र अन्य औद्योगिक सामग्रीको आयात–निर्यात हुन्छ। यसमा १६ वटा सुख्खा मालवाहक बर्थ, सातवटा तेल जेट्टी र दुईवटा कन्टेनर टर्मिनल छन्।

कच्छको खाडीभित्र अवस्थित भएकाले यो बन्दरगाह समुद्री छालको प्रत्यक्ष प्रभावबाट तुलनात्मक रूपमा सुरक्षित छ। वर्षभरि सञ्चालन गर्न सकिने बन्दरगाहका रूपमा पनि यसको महत्त्व छ।

भारतको पश्चिमी तथा उत्तरी भूभागको व्यापारिक आवश्यकतामा काण्डलाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। नेपालले यसको प्रयोग गर्न पाएमा पश्चिमी समुद्री मार्ग हुँदै आउने सामानका लागि थप पारवहन विकल्प उपलब्ध हुनेछ।

पारादीप बन्दरगाह : बंगालको खाडीको प्रमुख व्यापारिक केन्द्र

ओडिशा राज्यको समुद्री तटमा रहेको पारादीप बन्दरगाह बंगालको खाडीमा अवस्थित छ। यो महानदी नदीको मुहाननजिकै पर्छ। भारतको पूर्वी तटमा रहेको यो ओडिशा राज्यको एक मात्र प्रमुख बन्दरगाह हो।

सन् १९६२ जनवरी ३ मा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले यसको शिलान्यास गरेका थिए। सन् १९६६ मा यसलाई भारतको प्रमुख बन्दरगाहका रूपमा सञ्चालनमा ल्याइएको थियो।

पारादीप बन्दरगाहले कोइला, कच्चा तेल, पेट्रोलियम पदार्थ, फलाम अयस्क, मलखाद, मलखाद उत्पादनका कच्चा पदार्थ, स्टिल तथा कन्टेनरलगायतका सामग्री ओसारपसार गर्छ।

बन्दरगाह प्राधिकरणका अनुसार यसमा १८ वटा बर्थ, तीनवटा सिंगल प्वाइन्ट मुरिङ र रो–रो जेट्टीसहितका पूर्वाधार छन्। यहाँको वार्षिक मालसामान व्यवस्थापन क्षमता २८ करोड ९० लाख मेट्रिक टन रहेको छ। बन्दरगाहमा आफ्नै रेलमार्ग तथा मालसामान ओसारपसारका लागि आधुनिक उपकरण र भण्डारण सुविधा छन्।

पारादीपले ओडिशासँगै झारखण्ड, छत्तीसगढ, मध्यप्रदेश, उत्तरप्रदेश, बिहार र पश्चिम बंगालका औद्योगिक तथा व्यापारिक क्षेत्रलाई समुद्री मार्गसँग जोड्दै आएको छ।

नेपाललाई के फाइदा ?

नेपाल भूपरिवेष्टित मुलुक भएकाले समुद्रसम्मको पहुँचका लागि छिमेकी मुलुकको पारवहन सुविधा प्रयोग गर्नुपर्छ। भारतसँगको पारवहन सन्धिअन्तर्गत नेपालले यसअघि कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको थियो।

काण्डला र पारादीपमा पहुँच पाएपछि नेपालले भारतको पश्चिमी र पूर्वी दुवै तटीय क्षेत्रमा थप विकल्प पाउनेछ। कुनै एउटा बन्दरगाहमा भीडभाड, ढुवानी अवरोध वा अन्य समस्या देखिए अर्को बन्दरगाह प्रयोग गर्न सकिने सम्भावना बढ्नेछ।

काण्डला पश्चिमी समुद्री मार्गसँग जोडिएकाले युरोप, मध्यपूर्व तथा अन्य अन्तर्राष्ट्रिय बजारबाट आउने सामानका लागि विकल्प बन्न सक्छ। पारादीपले पूर्वी समुद्री मार्ग हुँदै आउने सामानको ढुवानीमा थप सम्भावना खोल्न सक्छ।

तर बन्दरगाह प्रयोगको अनुमति पाउँदैमा नेपालका लागि ढुवानी खर्च र समय स्वतः घट्ने निश्चित हुँदैन। ती बन्दरगाहबाट नेपाली सीमासम्मको रेल तथा सडक सम्पर्क, भन्सार प्रक्रिया, पारवहन शुल्क, ढुवानीको दूरी र मालसामान ओसारपसारको व्यवस्थापनले वास्तविक लाभ निर्धारण गर्नेछ।

त्यसैले नयाँ बन्दरगाह प्रयोगको सुविधा कार्यान्वयनमा ल्याउन नेपाल र भारतले पारवहन सन्धिको प्रोटोकल, तोकिएका मार्ग, भन्सार प्रक्रिया र ढुवानी व्यवस्थासम्बन्धी थप प्राविधिक काम गर्नुपर्ने हुन्छ।

भारतले दुई नयाँ बन्दरगाहमा पहुँच दिने निर्णय गरेसँगै नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि समुद्री पारवहनका विकल्प विस्तार हुने भएका छन्।

नेपालले पहिलोपटक भारतीइ समुद्री पहुँच पाएको भने होइन। नेपालले यसअघि नै भारतका तीन बन्दरगाह प्रयोग गर्दै आएको छ। अब नेपालले दुई थप बन्दरगाहमा पहुँच पाउने भएको हो। यसले नेपालको समुद्री पारवहन विकल्पलाई थप सम्भवानालाई विस्तार गरेको छ।