७ दिनभित्र सुनकोशी–मरिण ठेक्का रद्दका कागजात बुझाउन लेखा समितिको निर्देशन

७ दिनभित्र सुनकोशी–मरिण ठेक्का रद्दका कागजात बुझाउन लेखा समितिको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सार्वजनिक लेखा समितिले ७ दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको छ।

मंगलबार बसेको समितिको बैठकमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफलपछि यस्तो निर्देशन दिइएको हो।

समिति सभापति भरतबहादुर खड्काले भने, ‘७ दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देश गर्दछु ।’

सभापति खड्काले कागजात प्राप्त भएपछि अध्ययन गरी थप छलफल अघि बढाइने बताए।

अन्तिम चरणमा पुगेको ठेक्का प्रक्रिया रद्द गरिएको भन्दै समितिमा उजुरी परेको थियो। विभागका महानिर्देशक रजौरियाले भने ठेक्का रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन्।

आयोजनाबाट मधेसका पाँच जिल्लाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ। १३.३ किलोमिटर सुरुङको ब्रेक थ्रु भइसके पनि त्यसपछि निर्माण कार्य अघि बढ्न सकेको छैन।