नेपाल र भारतको सम्बन्ध भूगोलले नजिक बनाएको, इतिहासले जोडेको र जनस्तरको सामाजिक-सांस्कृतिक अन्तरक्रियाले विशिष्ट बनाएको सम्बन्ध हो । खुला सीमा, साझा सभ्यता, धार्मिक आस्था, पारिवारिक सम्बन्ध, व्यापार र जनजीवनका अनेक आयामले यी २ देशलाई दक्षिण एसियाका अन्य छिमेकी सम्बन्धभन्दा फरक बनाएका छन् । तर ऐतिहासिक निकटता र सांस्कृतिक आत्मीयता मात्रले आधुनिक राज्यबीचको साझेदारीलाई दिगो बनाउन सक्दैन । त्यसका लागि राष्ट्रिय हितको पारस्परिक सम्मान, आर्थिक परिपूरकता, संस्थागत विश्वास र परिणाममुखी सहकार्य आवश्यक हुन्छ ।
नोभेम्बर २२–२३, २०२६ मा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमण र त्यस क्रममा प्रस्तुत गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ सम्बन्धी संयुक्त दृष्टिकोणले द्विपक्षीय सम्बन्धलाई नयाँ सन्दर्भमा अघि बढाउने अवसर दिएको छ । ऊर्जा, पूर्वाधार, व्यापार, पारवहन, प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि, जलवायु र विपद् व्यवस्थापन लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धताले सम्बन्धलाई परम्परागत कूटनीतिक संवादभन्दा फराकिलो विकास साझेदारीतर्फ उन्मुख गराएको देखिन्छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त सम्बोधनमा व्यक्त गरेको ‘नेपाल के बिना हमारे धाम अधुरे हैं, नेपाल के बिना हमारे राम भी अधुरे हैं’ भनाइले २ देशबीचको सभ्यतागत तथा सांस्कृतिक सम्बन्धको गहिराइलाई अभिव्यक्त गर्छ । तर आजको आवश्यकता यो आत्मीयतालाई भावनात्मक अभिव्यक्तिमा मात्र सीमित नराखी आर्थिक अवसर, जनताको जीवनस्तर, क्षेत्रीय स्थायित्व र साझा सुरक्षाको ठोस आधारमा रूपान्तरण गर्नु हो ।
विकासका २ आकांक्षा, साझा सम्भावना
भारतको ‘विकसित भारत २०४७’ स्वतन्त्रताको शतवार्षिकीसम्म विकसित राष्ट्र बन्ने दीर्घकालीन राष्ट्रिय लक्ष्य हो । ‘समुन्नत नेपाल’ पनि आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन, संस्थागत सुदृढीकरण, रोजगारी र आत्मनिर्भर अर्थतन्त्र निर्माणसँग जोडिएको राष्ट्रिय आकांक्षा हो । यी २ आकांक्षा परस्पर विरोधी होइनन् । बरु उचित नीति र सन्तुलित सहकार्य भएमा एकअर्काका परिपूरक बन्न सक्छन् ।
भारतको विशाल बजार, औद्योगिक क्षमता, प्रविधि, लगानी र पूर्वाधार अनुभव नेपालको विकासका लागि महत्वपूर्ण अवसर हुन् । नेपालको जलस्रोत, जैविक विविधता, पर्यटन, युवा जनशक्ति, भौगोलिक अवस्थिति र सांस्कृतिक सम्पदाले भारतको क्षेत्रीय आर्थिक तथा सामाजिक सम्बन्धलाई थप गतिशील बनाउन सक्छन् । यस अर्थमा नेपाल र भारतबीचको सम्बन्धलाई दाता र सहायता प्राप्त गर्ने राष्ट्रको परम्परागत दृष्टिकोणबाट माथि उठाएर पारस्परिक लाभमा आधारित साझेदारीका रूपमा विकास गर्न आवश्यक छ ।
अयोध्या–जनकपुरबीचको सरयू–कमला एक्सप्रेस, रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको स्थलगत सर्वेक्षण तथा पूर्व–पश्चिम रेल सञ्जालमा सहकार्यका पहलले पर्यटन, व्यापार र जनस्तरीय सम्पर्क विस्तार गर्ने सम्भावना राख्छन् ।
संयुक्त दृष्टिकोणले आर्थिक तथा विकास साझेदारी, भौतिक र डिजिटल सम्पर्क, ऊर्जा तथा जलस्रोत, सुशासन, प्रविधि, शिक्षा, खेलकुद, संस्कृति तथा पर्यटन, स्वास्थ्य र कृषिलगायत १० क्षेत्रमा सहकार्यको रूपरेखा प्रस्तुत गरेको छ । यसको सकारात्मक पक्ष भनेको सम्बन्धलाई परम्परागत व्यापार, सुरक्षा र पूर्वाधारका विषयमा मात्र सीमित नराखी भविष्यको अर्थतन्त्रसँग जोड्नु हो । ती क्षेत्रमा भएका प्रतिबद्धता कति समयमा, कुन संस्थागत संरचनामार्फत र कस्तो आर्थिक प्रतिफलसहित कार्यान्वयन हुन्छन् भन्ने कुराले नै यसको वास्तविक सफलता निर्धारण गर्नेछ ।
आर्थिक साझेदारी : अवसरसँगै निर्भरताको प्रश्न
भारतले नेपालका लागि घोषणा गरेको १५ हजार करोड भारतीय रुपैयाँ बराबरको विकास सहयोग महत्वपूर्ण आर्थिक प्रतिबद्धता हो । यसमध्ये ३ हजार ५०० करोड भारतीय रुपैयाँ अनुदानका रूपमा पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि र ११ हजार ५०० करोड भारतीय रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि रुपैयाँमा उपलब्ध हुने ऋण सुविधाका रूपमा प्रस्ताव गरिएको छ ।
नेपालको पूर्वाधार विकास, ऊर्जा उत्पादन र विपद्पछिको पुनर्निर्माणका लागि यस्तो सहयोग उपयोगी हुन सक्छ । तर विकास सहयोगको मूल्यांकन रकमको आकारबाट मात्र गर्नु पर्याप्त हुँदैन । ऋणको सर्त, ब्याजदर, भुक्तानी अवधि, परियोजनाको लागत, खरिद प्रक्रिया, स्थानीय रोजगारी, प्रविधि हस्तान्तरण र दीर्घकालीन आर्थिक प्रतिफल पनि उत्तिकै महत्वपूर्ण हुन्छन् ।
नेपालले प्रत्येक ठूला परियोजनाको राष्ट्रिय प्राथमिकता, आर्थिक सम्भाव्यता, वातावरणीय प्रभाव र ऋण वहन क्षमताका आधारमा मूल्यांकन गर्नुपर्छ । विकासका नाममा दीर्घकालीन वित्तीय दायित्व सिर्जना हुने तर उत्पादन, रोजगारी र राजस्वमा अपेक्षित प्रतिफल नआउने अवस्था नेपालको हितमा हुँदैन ।
नेपालको आर्थिक कूटनीतिको लक्ष्य सहायता प्राप्तिमा सीमित हुनु हुँदैन । त्यसले लगानी आकर्षित गर्ने, निर्यात विस्तार गर्ने, स्वदेशी उत्पादन बढाउने, प्रविधि हस्तान्तरण गर्ने र नेपाली उद्यमलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने क्षमता विकास गर्नुपर्छ । यही रूपान्तरणले आर्थिक सहकार्यलाई निर्भरताबाट परिपूरकतामा लैजान सक्छ ।
पारवहन र सम्पर्क सञ्जाल : भूपरिवेष्टित अवस्थाबाट प्रतिस्पर्धात्मक अवसरतर्फ
नेपालको भूपरिवेष्टित अवस्था राष्ट्रिय विकास र आर्थिक सुरक्षासँग प्रत्यक्ष जोडिएको भौगोलिक यथार्थ हो । अन्तर्राष्ट्रिय व्यापार, समुद्री पहुँच, इन्धन तथा औद्योगिक कच्चा पदार्थको आपूर्ति र निर्यातमुखी अर्थतन्त्रका लागि पारवहन सुविधा अत्यन्त महत्वपूर्ण हुन्छ ।
यस सन्दर्भमा गुजरातस्थित दीनदयाल बन्दरगाह (कान्दला) मार्फत नेपालको पारवहन पहुँच विस्तार गर्ने र आवश्यक पूर्वाधार तयार भएपछि ओडिशाको पारादीप बन्दरगाहसमेत उपलब्ध गराउने घोषणा सकारात्मक कदम हो । समुद्री पहुँचका वैकल्पिक मार्गले नेपालको व्यापारिक निर्भरता घटाउन, ढुवानी लागत प्रतिस्पर्धी बनाउन र आपूर्ति शृंखलाको लचिलोपन बढाउन सक्छन् ।
तर बन्दरगाहमा पहुँच उपलब्ध हुनु र त्यसको व्यावसायिक उपयोग सुनिश्चित हुनु फरक कुरा हुन् । नेपालले सडक तथा रेल सम्पर्क, भन्सार प्रणाली, डिजिटल कागजी प्रक्रिया, गोदाम, शीतभण्डार र निर्यातयोग्य उत्पादनको क्षमता समानान्तर रूपमा विकास गर्नुपर्छ ।
अयोध्या–जनकपुरबीचको सरयू–कमला एक्सप्रेस, रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको स्थलगत सर्वेक्षण तथा पूर्व–पश्चिम रेल सञ्जालमा सहकार्यका पहलले पर्यटन, व्यापार र जनस्तरीय सम्पर्क विस्तार गर्ने सम्भावना राख्छन् ।
त्यसैगरी बनबासा, भैरहवा, सुनौली र दोधारा–चाँदनी क्षेत्रका एकीकृत जाँच चौकी तथा सीमा पूर्वाधार र धार्चुला–दार्चुला मोटरेबल पुलजस्ता परियोजनाले सीमावर्ती आर्थिक गतिविधिलाई सहज बनाउन सक्छन् ।
तथापि पश्चिम नेपालको आर्थिक तथा सामरिक सम्भावनालाई पूर्णरूपमा उपयोग गर्न झुलाघाट–जौलजीबी क्षेत्रको सीमा सम्पर्क पूर्वाधार, विशेषत: बैतडीको झुलाघाटमा मोटरेबल पुल निर्माणजस्ता दीर्घकालीन अपेक्षाका परियोजनालाई पनि समान प्राथमिकताका साथ अघि बढाउनु आवश्यक छ । यस्तो पूर्वाधारले सुदूरपश्चिमलाई सीमावर्ती क्षेत्रबाट मात्र नभई क्षेत्रीय व्यापार, पर्यटन र समृद्धिको महत्वपूर्ण प्रवेशद्वारका रूपमा स्थापित गर्न सक्छ ।
तर सम्पर्क सञ्जालको रणनीतिक महत्व व्यापारिक सुविधामा मात्र सीमित हुँदैन । यसले संकटको समयमा खाद्यान्न, औषधि, इन्धन र अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्ने क्षमता पनि बढाउँछ । त्यसैले नेपालले एकल मार्ग वा एकल आपूर्ति स्रोतमा अत्यधिक निर्भर नहुने गरी वैकल्पिक पारवहन, भण्डारण र आपूर्ति व्यवस्थापनको राष्ट्रिय रणनीति विकास गर्नुपर्छ ।
नेपालको रणनीतिक अवस्थिति भारत र चीनजस्ता २ ठूला शक्तिबीच रहेको छ । यसले अवसर र चुनौती दुवै सिर्जना गर्छ । भारतसँग नेपालको ऐतिहासिक, आर्थिक र सामाजिक सम्बन्ध गहिरो छ भने चीनसँग पनि व्यापार, पूर्वाधार, कूटनीति र विकास सहकार्यका महत्त्वपूर्ण आयाम छन् ।
ऊर्जा सहकार्य : नेपालको आर्थिक रूपान्तरणको आधार
नेपाल–भारत सम्बन्धको सबैभन्दा ठूलो आर्थिक सम्भावनामध्ये जलविद्युत् र ऊर्जा व्यापार एक हो । नेपालमा जलविद्युत् उत्पादनको सम्भावना, भारतको बढ्दो ऊर्जा माग र दक्षिण एसियामा विस्तार हुँदै गएको क्षेत्रीय विद्युत् बजारले दुवै देशलाई दीर्घकालीन सहकार्यको अवसर दिएको छ ।
६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने प्रतिबद्धता, सप्तकोशी तथा सुनकोशी आयोजनामा सहकार्य र इनरुवा–न्यू पूर्णिया तथा दोधारा–बरेली प्रसारण लाइनसम्बन्धी पहल ऊर्जा साझेदारीका महत्त्वपूर्ण आयाम हुन् ।
तर नेपालको ऊर्जा रणनीति विद्युत् उत्पादन र निर्यातमा मात्र केन्द्रित हुनु हुँदैन । विद्युत् घरेलु उद्योग, कृषि प्रशोधन, विद्युतीय यातायात, सूचना प्रविधि, पर्यटन र अन्य उत्पादनशील क्षेत्रमा खपत हुने वातावरण निर्माण गर्नुपर्छ । अन्यथा नेपालले ऊर्जा उत्पादन गर्ने तर उच्च मूल्य अभिवृद्धि हुने औद्योगिक गतिविधि बाहिरै केन्द्रित रहने जोखिम रहन्छ ।
ऊर्जा व्यापारमा बजार पहुँच, खरिद सम्झौता, मूल्य निर्धारण, प्रसारण शुल्क, भुक्तानी सुरक्षा र दीर्घकालीन नियामकीय स्थिरता निर्णायक हुन्छन् । नेपालको जलस्रोत सार्वभौम प्राकृतिक सम्पत्ति हो; यसको उपयोग पारस्परिक लाभ, वैज्ञानिक अध्ययन, वातावरणीय सन्तुलन र स्थानीय समुदायको हित सुनिश्चित हुने गरी हुनुपर्छ ।
नदी प्रणालीलाई केवल विद्युत् उत्पादनको स्रोतका रूपमा नभई सिँचाइ, बाढी नियन्त्रण, खानेपानी, जैविक विविधता र समग्र नदी बेसिन व्यवस्थापनको दृष्टिले हेर्नुपर्छ । ऊर्जा सहकार्य सफल भएमा यसले नेपालको विदेशी मुद्रा आर्जन मात्र बढाउने छैन, औद्योगिकीकरण, रोजगारी र आर्थिक सुरक्षालाई समेत बलियो बनाउन सक्छ । यसका लागि नेपालले जलविद्युत् उत्पादनसँगै प्रसारण, वितरण, भण्डारण र आन्तरिक खपतको एकीकृत रणनीति अपनाउनुपर्छ ।
राष्ट्रिय सुरक्षा र रणनीतिक स्वायत्तताको प्रश्न
नेपाल–भारत सम्बन्धलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट हेर्दा यसको महत्व अझ व्यापक देखिन्छ । राष्ट्रिय सुरक्षा अब परम्परागत सैन्य सुरक्षामा मात्र सीमित छैन । आर्थिक सुरक्षा, ऊर्जा सुरक्षा, खाद्य सुरक्षा, सीमा व्यवस्थापन, साइबर सुरक्षा, जलवायु सुरक्षा, आपूर्ति शृंखलाको स्थायित्व र नागरिकको मानवीय सुरक्षासमेत यसको अभिन्न अंग बनेका छन् ।
नेपाल र भारतबीचको खुला सीमा २ देशका नागरिकका लागि ऐतिहासिक सुविधा र सामाजिक सम्बन्धको आधार हो । यसले व्यापार, रोजगारी, पारिवारिक आवागमन र सांस्कृतिक सम्पर्कलाई सहज बनाएको छ । तर यही खुलापनलाई व्यवस्थित र सुरक्षित राख्न मानव बेचबिखन, लागूऔषध ओसारपसार, अवैध व्यापार, नक्कली मुद्रा, संगठित अपराध तथा अन्य सीमापार जोखिम नियन्त्रणका लागि प्रभावकारी समन्वय आवश्यक हुन्छ । खुला सीमाको समाधान अनावश्यक अवरोध सिर्जना गर्नु होइन; प्रविधिमा आधारित निगरानी, सूचना आदानप्रदान, संयुक्त समन्वय र नागरिकमैत्री सीमा व्यवस्थापन हो ।
नेपालको रणनीतिक अवस्थिति भारत र चीनजस्ता २ ठूला शक्तिबीच रहेको छ । यसले अवसर र चुनौती दुवै सिर्जना गर्छ । भारतसँग नेपालको ऐतिहासिक, आर्थिक र सामाजिक सम्बन्ध गहिरो छ भने चीनसँग पनि व्यापार, पूर्वाधार, कूटनीति र विकास सहकार्यका महत्त्वपूर्ण आयाम छन् ।
यस सन्दर्भमा नेपालले कुनै पनि छिमेकीको सुरक्षा चासोलाई बेवास्ता गर्नु हुँदैन; तर आफ्नो विदेश नीति अर्को देशको रणनीतिक प्राथमिकतामा सीमित पनि गर्नु हुँदैन । नेपालको रणनीतिक स्वायत्तता भनेको भारत र चीनबीच कृत्रिम दूरी कायम गर्नु वा दुईमध्ये कुनै एकलाई रोज्नु होइन ।
यसको अर्थ राष्ट्रिय हितका आधारमा स्वतन्त्र निर्णय गर्न सक्ने संस्थागत क्षमता निर्माण गर्नु हो । सबै साझेदारसँग सहकार्य गर्ने तर परियोजना र सम्झौताको मूल्यांकन राष्ट्रिय प्राथमिकता, आर्थिक प्रतिफल, सार्वभौमिकता र दीर्घकालीन सुरक्षाका आधारमा गर्ने नीति नै नेपालको हितमा हुन्छ ।
त्यसैगरी भारतको क्षेत्रीय नेतृत्व छिमेकी मुलुकहरूको विश्वास, पारस्परिक सम्मान र साझा हितमा आधारित हुनुपर्छ । नेपालको विकास साझेदारीलाई अन्य शक्तिराष्ट्रहरूको बढ्दो प्रभावसँग जोडेर हेर्नेभन्दा नेपालको राष्ट्रिय प्राथमिकता, सार्वभौमिक निर्णय र विकासका आकांक्षालाई सम्मान गर्ने दृष्टिकोणले क्षेत्रीय विश्वास र सहकार्यलाई बलियो बनाउन सक्छ ।
भारतले नेपालको सार्वभौमिकता, राजनीतिक संवेदनशीलता र स्वतन्त्र निर्णय क्षमताको सम्मान गर्नु र नेपालले भारतको वैध सुरक्षा चासोलाई सवेदनशीलतापूर्वक सम्बोधन गर्नु परस्पर विश्वासका आधार हुन् । यसैले नेपाल–भारत सम्बन्धमा रणनीतिक स्वायत्तता र रणनीतिक विश्वासलाई एकअर्काको विरोधी अवधारणाका रूपमा होइन, दिगो साझेदारीका पूरक आधारका रूपमा बुझ्नुपर्छ ।

जलवायु परिवर्तन र विपद् : साझा मानवीय सुरक्षाको चुनौती
हिमालय क्षेत्र जलवायु परिवर्तनको अग्रपंक्तिमा रहेको संवेदनशील भूभाग हो । हिमनदीको तीव्र क्षय, हिमताल विस्फोटजन्य बाढी, पहिरो र अनियमित वर्षाजस्ता जोखिम हिमाली क्षेत्रमै सीमित नरही नदी प्रणालीमार्फत तराई र गंगा मैदानसम्म फैलिन्छन् । यसले नेपाल र भारतको पारिस्थितिकीय स्थायित्व, जलस्रोत, खाद्य सुरक्षा र सीमापार जनजीवनलाई प्रत्यक्ष प्रभावित गर्छ ।
त्यसैले जलवायु परिवर्तनलाई वातावरणीय चुनौतीका रूपमा मात्र नभई साझा राष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको रणनीतिक सवालका रूपमा सम्बोधन गर्न आवश्यक छ । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारतले प्रदान गरेको मानवीय तथा प्राविधिक सहयोगले विपद् व्यवस्थापनमा द्विपक्षीय सहकार्यको महत्व देखाएको छ । अब यस्तो सहयोगलाई विपद्पछिको राहतमा मात्र सीमित नराखी पूर्वतयारी, जोखिम नक्सांकन, नदी तथा मौसमसम्बन्धी तथ्यांक आदानप्रदान, पूर्वसूचना प्रणाली, संयुक्त खोज तथा उद्धार र पुनर्निर्माण क्षमतासम्म विस्तार गर्नुपर्छ ।
नदी प्रणाली राजनीतिक सीमाभन्दा प्राकृतिक भूगोल र पारिस्थितिकीय अन्तरनिर्भरताबाट निर्देशित हुन्छ । त्यसैले नेपाल र भारतले साझा नदी बेसिनको संयुक्त व्यवस्थापन संयन्त्र विकास गर्ने, जलप्रवाह तथा वर्षासम्बन्धी वास्तविक समयको तथ्यांक नियमित आदानप्रदान गर्ने, हिमताल विस्फोटजन्य बाढी र बाढी जोखिमको संयुक्त अनुगमन गर्ने तथा सीमापार पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने दिशामा ठोस पहल गर्नुपर्छ ।
यसका साथै जोखिमयुक्त क्षेत्रमा संयुक्त विपद् अभ्यास, पूर्वनिर्धारित उद्धार योजना र जलवायु अनुकूलनका साझा परियोजना सञ्चालन गर्न आवश्यक छ । विपद्पछिको राहतभन्दा विपद्अघिको संयुक्त तयारी र जोखिम न्यूनीकरणमा लगानी गर्नु मानवीय दायित्व मात्र होइन, रणनीतिक आवश्यकता पनि हो ।
प्रविधि, शिक्षा र युवा : भविष्यको साझेदारी
संयुक्त दृष्टिकोणको अर्को महत्वपूर्ण पक्ष शिक्षा, प्रविधि र नवप्रवर्तन हो । नेपालमा भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) को अफशोर क्याम्पस स्थापना गर्ने सहमति, दक्षिण एसियाली उपग्रहको उपयोगका लागि उपग्रह सञ्चार सञ्जालसम्बन्धी समझदारी तथा डिजिटल सेवा, स्टार्टअप र वित्तीय सम्पर्क विस्तारका पहलले नेपालको ज्ञान तथा प्रविधि क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्न सक्छन् ।
तर प्रविधि सहकार्यको उद्देश्य संस्थागत उपस्थिति विस्तारमा मात्र सीमित नराखी नेपाली विश्वविद्यालयको अनुसन्धान क्षमता, स्थानीय प्राविधिक जनशक्तिको विकास, नवप्रवर्तन, उद्यमशीलता र प्रविधि हस्तान्तरणलाई समेत प्राथमिकतामा राख्नुपर्छ । डिजिटल पूर्वाधार विस्तारसँगै डेटा सुरक्षा, साइबर सुरक्षा, गोपनीयता र महत्त्वपूर्ण राष्ट्रिय सूचना प्रणालीको संरक्षणलाई पनि उत्तिकै महत्व दिनुपर्छ ।
नेपालका युवालाई केवल श्रम बजारको जनशक्तिका रूपमा होइन, ज्ञान, अनुसन्धान, उद्यमशीलता र क्षेत्रीय नवप्रवर्तनका साझेदारका रूपमा विकास गर्नुपर्छ । शिक्षा र प्रविधिमा सहकार्यले नेपाली युवालाई विदेश पलायनको विकल्प मात्र होइन, स्वदेशमै अवसर सिर्जना गर्ने आधार दिन सक्नुपर्छ ।
अन्तत: नेपाल–भारत सम्बन्धको भविष्य ऐतिहासिक निकटताको निरन्तरतामा मात्र होइन, पारस्परिक सम्मान, विश्वास र बदलिँदो क्षेत्रीय यथार्थअनुरूपको सहकार्यमा निर्भर छ ।
प्रतिबद्धतादेखि परिणामसम्म : कार्यान्वयनको परीक्षा
द्विपक्षीय सम्बन्धमा विगतदेखि नै धेरै समझदारी, घोषणा र परियोजना प्रस्ताव हुँदै आएका छन् । तर कार्यान्वयनको गति, समयसीमा र संस्थागत समन्वयमा देखिएका कमजोरीले कतिपय परियोजनाको प्रतिफल अपेक्षाअनुसार प्राप्त हुन सकेको छैन । त्यसैले यसपटकको संयुक्त दृष्टिकोणको सफलता पनि घोषणाको व्यापकताबाट होइन, कार्यान्वयनको विश्वसनीयताबाट मापन गरिनुपर्छ ।
नेपालका परराष्ट्र सचिव र भारतका राजदूतको नेतृत्वमा गठित उच्चस्तरीय अनुगमन समूहले कम्तीमा प्रत्येक ६ महिनामा बैठक गर्ने र परियोजनाको कार्यान्वयनलाई तीव्रता दिने व्यवस्था सकारात्मक छ । तर प्रभावकारी अनुगमनका लागि प्रत्येक परियोजनाको स्पष्ट समयसीमा, जिम्मेवार निकाय, बजेट, प्रगति सूचक र जवाफदेहिताको व्यवस्था हुनुपर्छ । प्रमुख परियोजनाको प्रगति सार्वजनिक रूपमा प्रस्तुत गर्ने अभ्यासले पारदर्शिता र नागरिक विश्वास बढाउन सक्छ ।
नेपालले पनि आफ्नो तर्फबाट परियोजना छनोट, जग्गा प्राप्ति, वातावरणीय स्वीकृति, नीतिगत स्थिरता, खरिद प्रक्रिया र प्रशासनिक समन्वयमा देखिने अवरोध हटाउनुपर्छ । सरकार परिवर्तन भए पनि राष्ट्रिय प्राथमिकताका परियोजनामा नीतिगत निरन्तरता कायम राख्न सक्ने संस्थागत क्षमता आवश्यक छ ।
सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान द्विपक्षीय सम्झौताको समयानुकूल समीक्षा पारस्परिक सहमतिका आधारमा गर्ने विषयले पनि सम्बन्धलाई वर्तमान यथार्थअनुकूल बनाउने अवसर प्रदान गरेको छ । यस्ता विषयमा भावनात्मक प्रतिक्रिया वा राजनीतिक आरोप–प्रत्यारोपभन्दा तथ्य, संवाद, समानता र पारस्परिक सम्मानका आधारमा अघि बढ्नु आवश्यक हुन्छ ।

निष्कर्ष : साझा समृद्धिको आधार पारस्परिक विश्वास
‘विकसित भारत’ र ‘समुन्नत नेपाल’ एकअर्काका विकल्प होइनन्; सही नीति, पारस्परिक विश्वास र दूरदृष्टिपूर्ण सहकार्यबाट यी परिपूरक राष्ट्रिय आकांक्षा बन्न सक्छन् । भारतको आर्थिक क्षमता, विशाल बजार, प्रविधि र पूर्वाधार अनुभवले नेपालको विकासलाई गति दिन सक्छ । त्यसैगरी नेपालको जलस्रोत, भौगोलिक अवस्थिति, युवा जनशक्ति, सांस्कृतिक सम्पदा र क्षेत्रीय सम्पर्क क्षमताले भारतको छिमेक नीति तथा दक्षिण एसियाली सहकार्यलाई थप अर्थपूर्ण बनाउन सक्छ ।
तथापि, साझा समृद्धिको आधार असमान निर्भरता होइन, पारस्परिक लाभ र समान सम्मान हुनुपर्छ । यसका लागि नेपालले आफ्नो आर्थिक तथा रणनीतिक क्षमता सुदृढ गर्दै स्वतन्त्र निर्णय गर्न सक्ने संस्थागत सामर्थ्य विकास गर्नुपर्छ भने भारतले नेपालको सार्वभौमिकता, संवेदनशीलता र राष्ट्रिय प्राथमिकतालाई सम्मान गर्दै सहकार्यलाई विश्वासयोग्य, पारदर्शी र परिणाममुखी बनाउनुपर्छ ।
नेपालको समृद्धिको आधार स्वदेशी उत्पादन, सक्षम संस्था, सुशासन, मानव पुँजी र सुदृढ राष्ट्रिय सुरक्षा हुन् । प्रधानमन्त्री बालेनको भारत भ्रमणले यी राष्ट्रिय प्राथमिकतालाई द्विपक्षीय विकास साझेदारीसँग जोड्ने नयाँ अवसर प्रदान गरेको छ । पुनर्निर्माण तथा पूर्वाधारका लागि २४० अर्ब रुपैयाँ बराबरको विकास सहायता, ऊर्जा सहकार्य, सीमापार रेल तथा हवाइ सम्पर्क विस्तार, झुलाघाट–धार्चुला मोटरेबल पुलको उद्घाटन तथा शिक्षा, प्रविधि र संस्थागत क्षमता विकाससम्बन्धी आठ समझदारी यस भ्रमणका महत्त्वपूर्ण उपलब्धि हुन् । अब यी समझदारीको प्रभावकारी कार्यान्वयनमार्फत राष्ट्रिय उत्पादन, रोजगारी सिर्जना, लगानी विस्तार र आर्थिक रूपान्तरणलाई गति दिनु आवश्यक छ ।
अन्तत: नेपाल–भारत सम्बन्धको भविष्य ऐतिहासिक निकटताको निरन्तरतामा मात्र होइन, पारस्परिक सम्मान, विश्वास र बदलिँदो क्षेत्रीय यथार्थअनुरूपको सहकार्यमा निर्भर छ । साझा सभ्यताले निर्माण गरेको सम्बन्धको भावनात्मक आधारलाई आर्थिक परिपूरकता, ऊर्जा तथा पूर्वाधार सहकार्य, प्रविधि हस्तान्तरण र रणनीतिक समझदारीमार्फत व्यावहारिक साझेदारीमा रूपान्तरण गर्ने अवसर दुवै देशसामु छ ।
‘विकसित भारत र समुन्नत नेपाल’को परिकल्पना प्रतिस्पर्धा होइन, परिपूरकता र निर्भरता होइन, पारस्परिक लाभ र औपचारिक निकटता होइन, जनस्तरमा अनुभूत हुने समृद्धिमा आधारित हुनुपर्छ । नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र रणनीतिक स्वायत्तताको सम्मान गर्दै अघि बढ्ने सहकार्यले मात्र यस सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सक्छ । विकसित भारत र समुन्नत नेपालको वास्तविक सफलता त्यतिबेला प्रमाणित हुनेछ, जब द्विपक्षीय साझेदारीले दुवै देशका नागरिकको जीवनस्तर उकास्नुका साथै नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र रणनीतिक स्वायत्ततालाई समेत सुदृढ बनाउनेछ ।
(लेखक पन्त राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक मामिलाका अध्येता एवं पूर्व सुरक्षा अधिकारी हुन् ।)



प्रतिक्रिया