काठमाण्डु – चीनले बाढीपहिरोबाट प्रभावित नेपालको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
चीनले विपद् प्रभावित क्षेत्रका नागरिकलाई घर पुनर्निर्माण गर्न तथा जनजीवन र कामकाज यथाशीघ्र सामान्य अवस्थामा फर्काउन सहयोग गर्ने जनाएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
नेपालले गत अगस्टको अन्त्यमा आएको विनाशकारी बाढीपहिरोपछि पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरी आर्थिक सहयोग जुटाउने तयारी गरिरहेको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले चीनको धारणा सार्वजनिक गरेका हुन् ।
नेपालले पुनर्निर्माणका लागि चीनले सहयोग गर्ने इच्छा व्यक्त गरे पनि त्यसको परिमाण भने नखुलाएको र प्रारम्भिक चेतावनी प्रणाली तथा जलवायुजन्य तथ्यांक आदानप्रदान गर्न सहमति जनाएको बताएको थियो । यसबारे रोयटर्सका पत्रकारले चिनियाँ विदेश मन्त्रालयको धारणा मागेका थिए ।
जवाफमा प्रवक्ता गुओले चीन र नेपाल हिमाल तथा नदीले जोडिएका मैत्रीपूर्ण छिमेकी मुलुक भएको उल्लेख गर्दै विपद्का बेला चीनले तत्काल सहयोग उपलब्ध गराएको बताए ।
उत्तरी नेपालस्थित रसुवा–नुवाकोट क्षेत्रमा भदौ १० गते ठूलो पहिरोको विपद् आएलगत्तै चीनले प्रभावित क्षेत्रका लागि आपत्कालीन सहायता घोषणा गरेको थियो । साथै अन्तर्राष्ट्रिय उद्धार सहकार्यसमेत गरेको थियो ।
चिनियाँ सरकारले नेपाललाई नगद सहायता र ५ चरणमा आपत्कालीन राहत सामग्री उपलब्ध गराएको उनले जानकारी दिए । त्यस्तै सुरुङ उद्धार तथा फरेन्सिक पहिचानमा विशेषज्ञता हासिल गरेका २० भन्दा बढी विज्ञ नेपाल पठाएको र मौसम, जलविज्ञान तथा भूगर्भसम्बन्धी तथ्यांक निरन्तर आदानप्रदान गरेको उनको भनाइ छ ।
यसका अतिरिक्त चीनका विभिन्न क्षेत्रका नागरिक तथा संस्थाहरूले पनि नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको हात बढाएको उनले बताए ।
प्रवक्ता गुओले विपद्ले नेपालमा ठूलो क्षति पुर्याएको र पुनर्निर्माणका क्रममा गम्भीर चुनौती रहेको उल्लेख गरे । चीनले नेपालको पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको र विपद्का कारण नेपालले भोग्नुपरेको पीडाप्रति सहानुभूति राखेको उनको भनाइ थियो ।
‘यसअघि उपलब्ध गराइएको आपतकालीन सहायताका अतिरिक्त चीनले नेपालको पुनर्निर्माण प्रयासलाई सक्रिय रूपमा सहयोग गर्नेछ । विपद् प्रभावित क्षेत्रका नागरिकलाई घर पुनर्निर्माण गर्न तथा उनीहरूको काम र जनजीवन यथाशीघ्र सामान्य अवस्थामा फर्काउन सहयोग गर्नेछ,’ उनले भने ।
चीनले पुनर्निर्माणमा सहयोग गर्नुका साथै विपद् जोखिम न्यूनीकरण र रोकथाम गर्ने नेपालको क्षमता अभिवृद्धिमा पनि सघाउने जनाएको छ । प्राकृतिक विपद्बाट उत्पन्न जोखिम तथा चुनौतीको सामना गर्न नेपालको क्षमता बलियो बनाउन सहयोग गरिने प्रवक्ता गुओले बताए ।
नेपालले पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमार्फत सहयोग जुटाउने तयारी गरिरहेका बेला चीनको प्रतिबद्धतालाई अर्थपूर्ण रूपमा हेरिएको छ । तर चीनले पुनर्निर्माणका लागि उपलब्ध गराउने आर्थिक सहयोगको निश्चित रकम भने खुलाएको छैन ।



प्रतिक्रिया