काठमाण्डु – कतारमा जारी एसिया कप राइजिङ स्टार्स १ दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार पाकिस्तान ‘ए’ले नेपालसामु १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ४०.२ ओभरमा १६८ रनमा अलआउट भयो ।
नेपालले जवाफी ब्याटिङ सुरु गर्दै २ ओभरमा कुनै विकेट नगुमाई ५ रन बनाएको छ । क्रिजमा कुशल भुर्तेल १ र मयन यादव ४ रन बनाएर खेलिरहेका छन् । पाकिस्तानका मोहम्मद इमरानले पहिलो ओभरमा ४ रन खर्चिएका छन् ।
नेपाललाई जीतका लागि ४८ ओभरमा १६४ रन आवश्यक छ ।
प्रतियोगितामा नेपाल दोस्रो जीतको खोजीमा छ । पहिलो खेलमा भारतसँग ३०६ रनको फराकिलो हार व्यहोरेको नेपालले दोस्रो खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै पुनरागमन गरेको थियो ।

पाकिस्तान ‘ए’ भने यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । उसले पहिलो खेलमा यूएई र दोस्रो खेलमा भारत ‘ए’लाई हराएको थियो ।
नेपाल र पाकिस्तान ‘ए’बीच इमर्जिङ कपमा यसअघि सन् २०२३ मा एकपटक भेट भएको थियो । खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।
समूह ‘बी’मा पाकिस्तान ‘ए’ ४ अंकसहित शीर्ष स्थानमा छ भने २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । आजको खेल नेपालका लागि ३ वर्षअघिको हारको बदला लिने अवसरसमेत हो ।



प्रतिक्रिया