काठमाण्डु- नेपालका लागि अस्ट्रेलियाली राजदूत साइमन अर्न्स्टले यहाँको विकासलाई पूर्वाधार निर्माण, सरकारी बजेट खर्च र बाह्य सहयोगको उपलब्धिमा मात्र सीमित गरेर हेर्न नहुनेमा जोड दिएका छन्। उनलेे विकासको वास्तविक आधार नागरिकको सहभागिता, स्थानीय नेतृत्व र समुदायको स्वामित्व भएको पनि बताएका छन् ।
काठमाण्डुमा मंगलबार आयोजित ‘लर्निङ फ्रम नेपाल : अ ग्यादरिङ फर पिपुल–लेड डेभलपमेन्ट’ कार्यक्रममा बोल्दै राजदूत अर्न्स्टले नेपालको विकास प्रक्रियाबाट विश्वका अन्य देशले समेत सिक्न सक्ने बताए ।
विकासका लागि बाहिरबाट योजना बनाएर समुदायमा लागू गर्नेभन्दा स्थानीय नागरिकलाई आफ्ना समस्या पहिचान गर्ने, समाधानका उपाय खोज्ने र त्यसको कार्यान्वयनमा नेतृत्व गर्ने अवसर दिनुपर्ने उनलेे बताए ।
नेपालको ग्रामीण क्षेत्रमा लामो समयदेखि समुदायको सहभागितामा भइरहेका विकास प्रयासको प्रशंसा गर्दै उनले स्थानीय तहमा परिवर्तन ल्याउन सक्रिय व्यक्तिहरूको प्रतिबद्धता महत्त्वपूर्ण रहेको बताए ।
‘समुदायको विकासका लागि दशकौँदेखि निरन्तर काम गरिरहेका व्यक्तिहरूको प्रतिबद्धता र समर्पण प्रशंसनीय छ । तर यो काम सहज छैन । तपाईंहरूले अघि बढाउन खोजेको परिवर्तन हामी सबैका लागि राम्रो संसार निर्माण गर्ने प्रयास हो,’ उनले भने ।
राजदूत अर्न्स्टको सम्बोधनले नेपालको विकास प्रक्रियामा देखिएको एउटा महत्त्वपूर्ण प्रश्नलाई उजागर गरेको छ । त्यो हो, विकासका योजना कसले बनाउने, त्यसको प्राथमिकता कसले निर्धारण गर्ने र विकासबाट प्राप्त उपलब्धिको स्वामित्व कसले लिने ?
नेपालले पछिल्ला तीन दशकमा विकासका विभिन्न चरण पार गरेको छ । सडक, विद्युत्, सञ्चार, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको क्षेत्रमा पहुँच विस्तार भएको छ । गरिबी न्यूनीकरणमा पनि उल्लेखनीय प्रगति भएको छ । तर यी उपलब्धिसँगै विकासको गुणस्तर, रोजगारी सिर्जना, उत्पादन वृद्धि, सार्वजनिक सेवा प्रवाह र नागरिकको निर्णय प्रक्रियामा सहभागिताको प्रश्न अझै महत्त्वपूर्ण छ ।
विशेषगरी संघीयता कार्यान्वयनपछि विकासलाई नागरिकको घरदैलोसम्म पुर्याउने अवसर सिर्जना भएको छ । तर अधिकार र स्रोत स्थानीय तहसम्म पुग्नु मात्र पर्याप्त छैन ।
स्थानीय समुदायले आफ्नो आवश्यकता पहिचान गर्ने, योजना निर्माणमा सहभागी हुने र सरकारी निकायलाई जवाफदेही बनाउने क्षमता पनि विकास हुनुपर्छ । राजदूत अर्न्स्टले नेपालको विकास अनुभवबाट सिक्न सकिने मुख्य पक्ष यही भएको बताए ।
विकासको केन्द्रमा नागरिक, सरकार र दातृ निकाय होइन
राजदूत अर्न्स्टले विकासको परम्परागत अभ्यासमा समुदायलाई सहयोग प्राप्त गर्ने निष्क्रिय समूहका रूपमा हेर्ने प्रवृत्ति रहेको बताएका छन्। सरकारी निकाय वा दातृ संस्थाले योजना बनाउने, आवश्यक सामग्री तथा सेवा उपलब्ध गराउने र समुदायले त्यसको लाभ लिने पद्धतिले मात्र दिगो परिवर्तन सम्भव नहुने उनको तर्क छ ।
उनले सीमान्तकृत समुदायका मानिससँग आफ्नै समस्या समाधान गर्न आवश्यक ज्ञान, अनुभव, क्षमता र आत्मसम्मान रहेको उल्लेख गर्दै त्यसलाई पहिचान र परिचालन गर्नुपर्ने बताए ।
समुदायमा पुगेर बाहिरबाट तयार पारिएका समाधान थोपर्नुभन्दा स्थानीय मानिसका कुरा सुन्ने, उनीहरूबीच छलफल गराउने र सामूहिक निर्णयका लागि सहजीकरण गर्ने पद्धति प्रभावकारी हुन सक्ने उनलेे बताए।
यसले विकासको प्राथमिकता निर्धारण गर्ने अधिकार समुदायमै स्थापित गर्ने उनको अनुभव छ । स्थानीय मानिसले आफ्ना आवश्यकता पहिचान गर्न र समाधानका लागि पहल गर्न थालेपछि विकासका कार्यक्रमप्रति उनीहरूको अपनत्व पनि बढ्ने उनले बताए ।
‘नेपालको सन्दर्भमा यो विषय अझ महत्त्वपूर्ण छ । भौगोलिक विविधता, सामाजिक असमानता, जातीय विभेद, गरिबी र स्थानीय आवश्यकतामा रहेको भिन्नताका कारण देशभर एउटै प्रकृतिको विकास योजना प्रभावकारी नहुन सक्छ’, उनले भने, ‘हिमाल, पहाड र तराईका आवश्यकता फरक छन् । एउटै प्रदेशभित्रका विभिन्न स्थानीय तहका समस्या पनि समान छैनन् ।’
त्यसैले विकासको योजना स्थानीय आवश्यकता र समुदायको सहभागिताका आधारमा तय हुनुपर्ने उनको भनाइको सार थियो ।
संघीयता कार्यान्वयनको वास्तविक परीक्षा
नेपालले संघीय शासन प्रणाली अपनाउनुको एउटा प्रमुख उद्देश्य शासन, अधिकार र स्रोतलाई नागरिकको नजिक पुर्याउनु हो । संविधानले स्थानीय तहलाई विभिन्न अधिकार दिएको छ । अहिले ७५३ स्थानीय सरकारमार्फत नागरिकलाई सेवा प्रवाह गर्ने व्यवस्था छ ।
तर संघीयताको सफलता स्थानीय तहको संख्या र संवैधानिक अधिकारमा मात्र निर्भर हुँदैन । नागरिकले सरकारी निर्णय प्रक्रियामा कति सहभागिता जनाउन पाएका छन्, स्थानीय सरकारले उनीहरूको आवश्यकता कति सम्बोधन गरेको छ ।सार्वजनिक निकायलाई कति जवाफदेही बनाउन सकिएको छ भन्ने कुराले यसको प्रभावकारिता निर्धारण गर्छ ।
राजदूत अर्न्स्टले समुदायको सशक्तीकरण र स्थानीय लोकतन्त्रबीचको सम्बन्धलाई विशेष महत्त्व दिए । समुदायका समूह र टोलस्तरीय संस्थाहरू स्थानीय वडा तथा पालिकासँग सहकार्य गर्न सक्षम भएमा विकास प्रक्रियामा नागरिकको भूमिका बढ्ने उनलेे बताए। यसले स्थानीय सरकारलाई पनि नागरिकप्रति उत्तरदायी बनाउन मद्दत गर्ने उनको सुझाव छ।
नेपालको ग्रामीण क्षेत्रमा समुदायको सहभागिताबाट भएका अभ्यासले यो सम्भावना देखाएको उनले बताए ।
समुदायका नागरिक स्थानीय सरकारको वार्षिक बजेट तथा योजना निर्माणमा सहभागी हुने, सार्वजनिक सुनुवाइमा प्रश्न उठाउने, सामुदायिक बाढी नियन्त्रणका संरचना निर्माण गर्ने र जनप्रतिनिधिलाई जिम्मेवारीप्रति जवाफदेही बनाउने अभ्यास यसका उदाहरण भएको उनले उल्लेख गरे ।
यसले नागरिकलाई विकासका लाभग्राहीबाट निर्णयकर्ता र कार्यान्वयनकर्ताका रूपमा रूपान्तरण गर्न सक्ने उनको धारणा थियो ।
नेपालमा संघीयता कार्यान्वयनको प्रमुख चुनौती पनि यही हो । स्थानीय तहमा बजेट र अधिकार पुगे पनि कतिपय अवस्थामा योजना निर्माण तथा कार्यान्वयनमा नागरिकको अर्थपूर्ण सहभागिता कमजोर छ । पहुँच भएका समूहको प्रभाव बढी हुने र सीमान्तकृत समुदायका आवश्यकता ओझेलमा पर्ने समस्या पनि छ ।
त्यसैले स्थानीय लोकतन्त्रलाई बलियो बनाउन समुदायका संस्था, नागरिक समूह र स्थानीय सरकारबीच नियमित संवाद र सहकार्य आवश्यक रहेको उनको सम्बोधनको आशय थियो ।
विकासको पुरानो शैली बदल्नुपर्ने
राजदूत अर्न्स्टले अन्तर्राष्ट्रिय विकास क्षेत्रमा प्रचलित छोटो अवधिका परियोजना, माथिबाट तल जाने योजना र निश्चित सूचकका आधारमा उपलब्धि मापन गर्ने प्रवृत्तिमाथि पनि पुनर्विचार गर्नुपर्ने बताए ।
विकासको परिणाम तत्काल देखिनुपर्ने दबाबले धेरैजसो परियोजना निश्चित समय र लक्ष्यमा सीमित हुने गरेका उनलेे बताएका छन् । तर सामाजिक परिवर्तन र समुदायको क्षमता विकास लामो समय लाग्ने प्रक्रिया भएको उनले व्याख्या गरे ।
उनका अनुसार स्थानीय समुदायको सोच, व्यवहार र संस्थागत क्षमता परिवर्तन गर्न निरन्तर संवाद, विश्वास र सहभागिता आवश्यक हुन्छ । त्यसैले विकासलाई परियोजनाको अवधि वा खर्च भएको बजेटबाट मात्र मापन गर्न नहुने उनको भनाइ थियो ।
‘दिगो परिवर्तन बाहिरबाट प्रदान गर्न सकिँदैन । यसलाई धैर्य, गहिरो रूपमा कुरा सुन्ने क्षमता र वास्तविक साझेदारीमार्फत समुदायभित्रै हुर्काउनुपर्छ,’ उनले भने ।
नेपालमा पनि विकास आयोजनाको सफलता प्रायः बजेट खर्च, भौतिक प्रगति र निर्माण भएका संरचनाका आधारमा मूल्यांकन गर्ने गरिन्छ । तर ती संरचनाले स्थानीय नागरिकको जीवनमा कस्तो परिवर्तन ल्याए, समुदायले तिनको संरक्षण र सञ्चालनमा कति स्वामित्व लिए तथा सेवा प्रवाह कति प्रभावकारी भयो भन्ने पक्ष उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
नेपाल विकास सहायता लिने मात्र होइन, सिकाउने देश पनि
राजदूत अर्न्स्टले नेपालको विकास अनुभवलाई अन्तर्राष्ट्रिय समुदायले सिक्न सक्ने अभ्यासका रूपमा प्रस्तुत गरे ।
नेपाललाई लामो समयदेखि अन्तर्राष्ट्रिय विकास सहायता प्राप्त गर्ने देशका रूपमा मात्र हेरिँदै आएको छ । तर यहाँका समुदायले आफ्नै पहलमा विकास गरेका अभ्यास, स्थानीय ज्ञान र सामाजिक रूपान्तरणका अनुभव अन्य देशका लागि पनि उपयोगी हुन सक्ने उनले बताए ।
‘नेपालभन्दा राम्रो कक्षाकोठा, प्रयोगशाला वा विश्वविद्यालयको व्याख्यान कक्ष अर्को कहाँ हुन सक्छ ?’ भन्ने आशय व्यक्त गर्दै उनले नेपालको अनुभवबाट विश्वका अन्य समुदायले पनि सिक्न सक्ने बताए ।
विकासको कुनै एउटा नमुना सबै देश र समुदायमा समान रूपमा लागू नहुने उनको बुझाई छ। स्थानीय परिवेश, संस्कृति, सामाजिक सम्बन्ध र समुदायको आवश्यकताअनुसार विकासको अभ्यास तय गर्नुपर्ने उनलेे बताए ।
यसले नेपाललाई विकास सहायता प्राप्त गर्ने मुलुकका रूपमा मात्र नभई विकासका नयाँ अभ्यास र ज्ञान निर्माण गर्ने देशका रूपमा समेत स्थापित गर्न सक्ने उनको धारणा थियो ।
दातृ निकायको सहयोगभन्दा स्थानीय क्षमता महत्त्वपूर्ण
राजदूत अर्न्स्टले अस्ट्रेलियाली सरकार र एसिया फाउन्डेसनले नेपालमा संघीयता कार्यान्वयन तथा स्थानीय सरकारको क्षमता अभिवृद्धिका लागि सहकार्य गरिरहेको जानकारी दिए ।
सबनेसनल गभर्नेन्स प्रोग्राममार्फत संघीय, प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरी सार्वजनिक संस्थालाई बलियो बनाउने, सेवा प्रवाह सुधार गर्ने र समावेशी शासन प्रणाली विकास गर्ने प्रयास भइरहेको उनले बताए ।
तर दातृ निकायको सहयोगको प्रभावकारिता त्यसले कति परियोजना सञ्चालन गर्यो वा कति रकम खर्च गर्यो भन्नेमा मात्र निर्भर नहुने उनको आशय थियो । सहयोगले स्थानीय संस्था र समुदायलाई कति सक्षम बनायो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।
राजदूत अर्न्स्टले नेपालको पश्चिमी क्षेत्रमा सन् १९९७ देखि समुदायकेन्द्रित विकासमा काम गर्दै आएको सहकर्मी समाजको उदाहरण प्रस्तुत गर्दै समुदायको क्षमता विकास र स्थानीय नेतृत्वमार्फत दिगो परिवर्तन सम्भव हुने बताए ।



प्रतिक्रिया