काठमाण्डु – बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू आगामी डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्किने तया।रीमा छन् । सन् २०२४ अगस्टमा सत्ताच्युत भएपछि उनी भारतमा बस्दै आएकी छन् ।
बंगलादेशमा डिसेम्बर १६ लाई विजय दिवसका रूपमा मनाइन्छ । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि यही दिन बंगलादेश स्वतन्त्र भएको थियो ।
समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार मंगलबार स्वदेश फर्किने मिति घोषणा गर्दै हसिनाले वर्तमान प्रधानमन्त्री तारिक रहमानलाई राष्ट्रिय ध्वजावाहक विमानमार्फत आफ्नो स्वदेश फिर्तीको व्यवस्था मिलाउन आग्रह गरेकी छन् ।
हसिनाका प्रवक्ता सैयद मोजम्मेल अलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२४ अगस्ट ५ मा शेख हसिनालाई बंगलादेशकै विमानबाट भारत ल्याइएको थियो । अब उनले दिल्लीबाट ढाकासम्मको हवाई यात्राको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेकी छन् ।’
हसिनाका सहयोगी अबु ओबैदा अरिनले एपीसँग भनेका छन्, ‘बंगलादेश फर्किनका लागि उनले डिसेम्बर १६ अर्थात् विजय दिवसको दिन रोज्नुको विशेष अर्थ छ ।’
अरिनले हसिना स्वदेश फर्किएपछि उनको नेतृत्वमा बंगलादेश पुनः शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढ्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलनका कारण १५ वर्ष लामो शासन छाड्न बाध्य भएपछि हसिना भारत पुगेकी थिइन् । उक्त आन्दोलनका क्रममा सयौँ प्रदर्शनकारी मारिएका थिए ।
हसिनालाई अनुपस्थितिमै सरकारले मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ जसलाई हसिनाले स्वीकार गरेकी छैनन् । बंगलादेश फर्किएपछि आफूले यस मुद्दामा आफ्नो पक्ष राख्ने उनको भनाइ छ ।
तर, बंगलादेश सरकारको धारणा भने बिल्कुल फरक छ । बंगलादेशका विदेश मामिलासम्बन्धी राज्यमन्त्री हुमायुन कबिरले हसिना स्वदेश फर्किन चाहे उनलाई हतकडी लगाएर कडा निगरानीमा ल्याइने चेतावनी दिएका छन् । उनका अनुसार हसिना कुनै सामान्य यात्रु होइनन् ।
यस्तो अवस्थामा प्रश्न उठ्छ-बंगलादेश पुग्नेबित्तिकै पक्राउ पर्न सक्ने र मृत्युदण्डको सजायसमेत सुनाइसकिएको थाहा हुँदाहुँदै हसिना किन स्वदेश फर्किन चाहन्छिन् ?
के उनी साँच्चिकै आफ्नाविरुद्धका मुद्दाको सामना गर्न चाहन्छिन् वा स्वदेश फर्किने घोषणामार्फत आफ्नो पार्टी अवामी लिगलाई पुनः राजनीतिक रूपमा सक्रिय बनाउन खोजिरहेकी छन् ? अर्कोतर्फ, उनको स्वदेश फिर्तीलाई लिएर भारत र बंगलादेशबीच कुनै कूटनीतिक सहमति बन्न सक्छ ?
हसिनाको राजनीतिक रणनीति के छ ?
हसिनाको स्वदेश फिर्तीको घोषणालाई उनको व्यक्तिगत इच्छाका रूपमा मात्रै हेर्नु उपयुक्त हुँदैन । यसका पछाडि अवामी लिगको राजनीतिक भविष्य र पार्टीभित्र आफ्नो पकड कायम राख्ने प्रयाससमेत हुन सक्छ ।
ढाकास्थित सेन्टर फर गभर्नेन्स स्टडिजका अध्यक्ष जिल्लुर रहमानले अलजजिरासँग कुरा गर्दै हसिनालाई बंगलादेश फर्किएपछि आफ्नो अवस्था के हुन्छ भन्ने राम्ररी थाहा भएको बताएका छन् । तर, राहदानी प्राप्त गर्ने र स्वदेश फर्किने विषय उठाउनुको उद्देश्य अवामी लिगका नेता तथा कार्यकर्तालाई राजनीतिक रूपमा सक्रिय राख्नु रहेको उनको विश्लेषण छ ।
रहमानका अनुसार हसिना कुनै पनि परिस्थितिमा पार्टीको नेतृत्व अरू कसैलाई सुम्पिन चाहन्नन् । यही प्रवृत्ति हसिना र अवामी लिग दुवैका लागि समस्या बन्न सक्ने उनको भनाइ छ । पार्टीले आफ्नो अस्तित्व जोगाउन नयाँ नेतृत्व खोज्नुपर्ने अवस्था आउन सक्छ ।
त्यस्तै, बंगलादेश इन्टरप्राइज इन्स्टिच्युटका वरिष्ठ अनुसन्धान निर्देशक फैज सोभानले अलजजिरासँग भनेका छन्, ‘हसिनाको स्वदेश फिर्तीको घोषणाले उनलाई राजनीतिक रूपमा सान्दर्भिक बनाइराख्छ र देशभित्र आफ्ना समर्थकको मनोभाव बुझ्ने अवसर पनि दिन्छ ।
सोभानका अनुसार हसिनाको वास्तविक स्वदेश फिर्तीको सम्भावना कठिन छ । किनभने, त्यसको अर्थ मृत्युदण्डको सामना गर्नु वा बाँकी जीवन जेलमा बिताउनु हुन सक्छ ।
अमेरिकाका पूर्वकूटनीतिज्ञ जोन ड्यानिलोभिचले पनि अलजजिरासँगको कुराकानीमा हसिनाको स्वदेश फिर्ती घोषणालाई आफ्ना समर्थकलाई एकजुट बनाउने प्रयासका रूपमा व्याख्या गरेका थिए ।
उनको विश्लेषणमा डिसेम्बरमा स्वदेश फर्किने घोषणा गर्नुको उद्देश्य बंगलादेशमा घट्दै गएको आफ्नो राजनीतिक सान्दर्भिकतालाई पुनः चर्चामा ल्याउनु हो ।
हसिनाले स्वदेश फर्किन रोजेको मिति पनि राजनीतिक रूपमा महत्त्वपूर्ण छ । सन् १९७१ डिसेम्बर १६ मा बंगलादेशको मुक्ति युद्ध समाप्त भएको थियो ।
यो दिन बंगलादेशको इतिहासमा विशेष महत्व राख्छ । हसिनाका पिता शेख मुजिबुर रहमान बंगलादेशको स्वतन्त्रता आन्दोलनका प्रमुख नेतामध्ये एक थिए ।
त्यसैले विजय दिवसका दिन स्वदेश फर्किने घोषणा गरेर हसिनाले आफ्नो राजनीतिक विरासत र बंगलादेशको स्वतन्त्रता आन्दोलनसँग जोडिएको पारिवारिक इतिहासलाई समेत अघि सार्न खोजेको देखिन्छ ।
किन बढ्यो अवामी लिगको गतिविधि र हिंसा ?
हसिनाको स्वदेश फिर्तीको घोषणा त्यस्तो समयमा आएको छ, जतिबेला बंगलादेशमा अवामी लिगका नेता तथा कार्यकर्ताका गतिविधिलाई लिएर तनाव बढिरहेको छ ।
पछिल्ला केही सातादेखि अवामी लिगका नेता तथा कार्यकर्ताले तल्लो तहमा आफ्नो उपस्थिति देखाउने प्रयास गरिरहेका छन् । विशेषगरी गोपालगन्जसहित विभिन्न जिल्लामा प्रदर्शन, तोडफोड र आगजनीका घटना भएका छन् । त्यसको जवाफमा सरकारले पनि हिंसा नियन्त्रण गर्न विभिन्न कदम चालेको छ ।
यहाँ ध्यान दिनुपर्ने विषय के छ भने अवामी लिगको राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगाइएको छ । यस्तो अवस्थामा पार्टीका नेता तथा कार्यकर्ताले सार्वजनिक प्रदर्शन गर्नु वर्तमान सरकारका लागि कानुन व्यवस्था कायम राख्ने चुनौती बनेको छ ।
हसिनाले नयाँ राहदानी र राष्ट्रिय परिचयपत्रको माग गरेपछि बंगलादेशमा हिंसात्मक गतिविधि बढेको छ । यस घटनाक्रमलाई हेर्दा सरकारको चिन्ता हसिनाको स्वदेश फिर्तीमा मात्रै सीमित छैन ।
उनको स्वदेश फिर्तीको घोषणाले अवामी लिगका नेता, कार्यकर्ता र समर्थक पुनः संगठित हुन सक्ने आशंका पनि सरकारलाई छ । त्यसैले सरकारले डिसेम्बर आसपास सीमाक्षेत्रमा निगरानी बढाउने बताएको छ ।
सरकार किन बन्यो कठोर ?
हसिनाको स्वदेश फिर्तीबारे बंगलादेश सरकारका दुई वरिष्ठ अधिकारीले दिएका अभिव्यक्तिले सरकारको धारणा बुझ्न सहयोग गर्छन् ।
विदेश मामिलासम्बन्धी राज्यमन्त्री हुमायुन कबिरले मंगलबार विदेशी कूटनीतिज्ञहरूलाई जानकारी दिएपछि पत्रकारहरूसँग कुरा गर्दै भनेका थिए, ‘शेख हसिनालाई कडा निगरानीमा हतकडी लगाएर मात्रै देश ल्याउन सकिन्छ ।’
उनले कुनै अभियुक्तलाई सामान्य यात्रुका रूपमा देश प्रवेश गर्न अनुमति दिन नसकिने बताएका थिए । उनले अवामी लिगमाथि आतंकवादलाई प्रोत्साहन गरेको आरोपसमेत लगाएका थिए । उनका अनुसार बंगलादेशमा आतंकवादको सम्बन्ध अवामी लिगसँग जोडिएको छ ।
अर्कोतर्फ, अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका मुख्य अभियोजक मोहम्मद अमिनुल इस्लामले हसिनाका लागि विमान पठाइदिन गरिएको आग्रहलाई ‘अभूतपूर्व’ बताएका छन् । उनले कुनै फरार दोषीका लागि अर्को देशसँग विमान मागिएको घटना विश्वमै विरलै हुने बताएका छन् ।
उनले अवामी लिगलाई आतंकवादी संगठन घोषणा गर्नुपर्ने हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको पनि बताए ।
यसको अर्थ हसिनाको स्वदेश फिर्तीसँगै अवामी लिगको संगठनात्मक तथा कानुनी हैसियतको प्रश्न पनि जोडिएर आएको छ ।
भारत के चाहन्छ ?
हसिनाको स्वदेश फिर्तीमा भारतको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुनेछ । उनी सन् २०२४ अगस्टदेखि भारतमा बस्दै आएकी छन् । बंगलादेश सरकारले यसअघि नै भारतसँग उनको सुपुर्दगीको माग गरिसकेको छ ।
भारत र बंगलादेशबीच सन् २०१३ मा सुपुर्दगी सन्धि भएको थियो । यही सन्धिअन्तर्गत बंगलादेशले हसिनालाई फिर्ता पठाउन भारतसँग आग्रह गरिरहेको छ । तर, सन्धि हुँदैमा भारतले हसिनालाई बंगलादेशको जिम्मा लगाउनैपर्छ भन्ने हुँदैन ।
उक्त सन्धिमा केही निश्चित परिस्थितिमा सुपुर्दगी अस्वीकार गर्न सकिने व्यवस्था छ । यसमा राजनीतिक प्रकृतिका अपराधसँग सम्बन्धित अपवाद पनि समावेश छ । यद्यपि, केही गम्भीर अपराधलाई भने यस्तो अपवादको दायराबाहिर राखिएको छ ।
भारतको विदेश मन्त्रालयले सन् २०२६ अप्रिलमा बंगलादेशको सुपुर्दगीसम्बन्धी अनुरोधको अध्ययन भइरहेको र नयाँ सरकारसँग रचनात्मक संवाद गर्न चाहेको बताएको थियो । तर, सूचना तथा प्रसारण सल्लाहकार जाहेद उर रहमानले हसिनाको स्वदेश फिर्तीका विषयमा सरकारको कुराकानी हसिनासँग नभई भारतसँग भइरहेको बताए ।
साथै, हसिनालाई कसरी फिर्ता ल्याउने भन्ने विषयमा भारतसँग छलफल गरिने पनि उनको भनाइ छ । उनका अनुसार हसिना फर्किन चाहन्छिन् र बंगलादेश पनि उनलाई फिर्ता चाहन्छ भने भारतले उनलाई जिम्मा लगाउन हिचकिचाउनु हुँदैन ।
यो अभिव्यक्तिले विदेश मामिलासम्बन्धी राज्यमन्त्रीले दिएको हतकडीसम्बन्धी चेतावनीभन्दा फरक पक्ष उजागर गर्छ । बंगलादेश सरकार हसिनासँग प्रत्यक्ष वार्ता गर्नुभन्दा भारतसँग उनको सुपुर्दगी प्रक्रियाबारे छलफल गर्न चाहन्छ ।
राहदानी रद्द भइसकेको अवस्थामा हसिना कसरी बंगलादेश फर्किन सक्छिन् भन्ने प्रश्न पनि उब्जिएको छ । बंगलादेश सरकारले सन् २०२४ अगस्टमा उनी भारत आएको केही महिनापछि उनको कूटनीतिक राहदानी रद्द गरिदिएको थियो । हसिनाले अहिले नयाँ राहदानी र राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएकी छन् । उनले बंगलादेश सरकारसँग ती कागजात जारी गर्न माग गरेकी छन् ।
स्वदेश फर्किएपछि हसिनालाई के हुन्छ ?
सन् २०२५ नोभेम्बरमा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो ।
यो मुद्दा सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसा र सरकारी कारबाहीसँग सम्बन्धित थियो । संयुक्त राष्ट्रसंघका अनुसार उक्त आन्दोलनका क्रममा करिब १ हजार ४०० मानिस मारिएका थिए ।
हसिनाले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएकी छन् । आफ्नो अनुपस्थितिमा मुद्दा चलाइएको र आफ्नो पक्ष राख्ने उचित अवसर नदिइएको उनको दाबी छ ।
अब प्रश्न उठ्छ-उनी बंगलादेश फर्किएमा उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने अवसर पाउँछिन् कि पाउँदिनन् ?
हसिनासँग फैसलाविरुद्ध पुनरावेदन गर्न निर्धारित ३० दिनको समयसीमा थियो, जुन बितिसकेको छ । अभियोजन पक्षका अनुसार अब उनको मृत्युदण्ड कार्यान्वयन रोक्ने सामान्य कानुनी बाटो बाँकी छैन । यद्यपि, राष्ट्रपतिसँग क्षमादान दिने अधिकार छ ।
त्यसैले उनी बंगलादेश फर्किएपछि सबैभन्दा पहिले पक्राउ र सजाय कार्यान्वयनसँग सम्बन्धित कानुनी प्रक्रिया मुख्य प्रश्नका रूपमा अघि आउनेछ ।
तर, बंगलादेश प्रवेश गर्नेबित्तिकै उनको मृत्युदण्ड कार्यान्वयन भइहाल्छ भन्नु उचित हुँदैन । यसका लागि सम्बन्धित कानुनी प्रक्रिया र राष्ट्रपतीय क्षमादानको सम्भावनासमेत विचार गर्नुपर्ने हुन्छ ।



प्रतिक्रिया