कोशीमा मुख्यमन्त्री फेर्ने ओलीको जिद्दीले एमालेमा नयाँ शक्ति संघर्ष

कोशीमा मुख्यमन्त्री फेर्ने ओलीको जिद्दीले एमालेमा नयाँ शक्ति संघर्ष

विद्या-शंकर नजिकिँदा बन्दै नयाँ समीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाएर तिलकुमार मेयाङ्बोको नयाँ नेतृत्व स्थापित गर्न थालेको प्रयासले पार्टीभित्रको आन्तरिक शक्ति संघर्षलाई थप सतहमा ल्याएको छ।

कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको प्रयास भइरहेका बेला केन्द्रमा पूर्वराष्ट्रपति विद्या भण्डारी र महासचिव शंकर पोखरेलबीचको राजनीतिक निकटता बढ्दै गएको दाबी स्रोतले गरेको छ। यसले एमालेभित्र ओलीको नेतृत्वशैली र पार्टी सञ्चालनको तौरतरिकाविरुद्ध नयाँ समीकरण बन्ने सम्भावनालाई बलियो बनाएको एकजना पदाधिकारीले बताए ।

एमालेभित्र पछिल्लो समय देखिएको विवाद सामान्य सांगठनिक असन्तुष्टिमा मात्रै सीमित छैन। पार्टीको नेतृत्व हस्तान्तरण, पुस्तान्तरण, कार्यशैली परिवर्तन र पार्टीलाई सामूहिक नेतृत्व प्रणालीबाट सञ्चालन गर्नुपर्ने विषयमा नेताहरूबीच मतभेद चर्किंदै गएको छ।

महासचिव पोखरेलले पार्टी पुनर्गठन र नेतृत्व विकासको विषय उठाइरहेका बेला भण्डारी पनि सक्रिय राजनीतिमा फर्किएर पार्टीको पुनर्गठन र एकताको पक्षमा उभिएकी छन्। साताअघि भएको राष्ट्रिय भेलामा पनि वरिष्ठ नेता भण्डारीको अडानले अध्यक्ष ओली नयाँ निर्णय गर्नबाट रोकिएका छन्।

यही पृष्ठभूमिमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई हटाउने प्रयासलाई पनि एमालेको केन्द्रीय शक्ति संघर्षसँग जोडेर हेरिएको छ। कार्की महासचिव पोखरेल र पूर्वराष्ट्रपति भण्डारीसँग निकट सम्बन्धमा रहेका नेताका रूपमा चिनिन्छन्। उनलाई मुख्यमन्त्रीबाट हटाउने प्रयासमा अध्यक्ष ओली र कोशी प्रदेशका इन्चार्ज शेरधन राई सक्रिय देखिएपछि पार्टीभित्रको शक्ति संघर्ष प्रदेश सरकारमा पनि देखिन थालेको छ।

ओलीको निशानामा हिक्मत, शेरधन फेरि सक्रिय

‘कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने प्रयास एमालेभित्र फेरि अघि बढेको छ,’ एमाले कोशीका एक पदाधिकारीले भने, ‘यसका लागि प्रदेश इन्चार्ज शेरधन राईले अध्यक्ष ओलीसँग पटक-पटक भेटघाट गरेको खुलेको छ । एमालेका केही प्रदेशसभा सदस्यहरू पनि राईको पछि लागेका छन्।’

यसअघि गत साउनमा पनि ओलीले कार्कीलाई मुख्यमन्त्रीबाट हटाउन प्रयास गरेका थिए। त्यसबेला एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको प्रदेश सरकारसम्बन्धी सहमतिलाई कार्यान्वयन गर्न कार्कीलाई पदबाट हटाएर मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको थियो। ओलीको सन्देश लिएर राई विराटनगर पुगेका थिए। तर संवैधानिक र राजनीतिक जटिलताका कारण कार्कीले पद छाड्न अस्वीकार गरेपछि तत्कालका लागि उक्त प्रयास रोकिएको थियो।

मंसिरको दोस्रो सातादेखि पुनः कोशी प्रदेशका एमाले नेताहरूले भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर सरकार परिवर्तनबारे छलफल गरेका छन्। पूर्वमुख्यमन्त्री राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा र नेता होम थापालगायतले ओलीसँग भेट गरेका थिए। छलफलमा कार्कीलाई हटाएर मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने विषयसमेत उठेको थियो।

ओलीले कार्कीसँग दशैं–तिहारपछि मार्गप्रशस्त गर्ने समझदारी भएको दाबी गरेको बैठकमा सहभागी नेताहरूले बताएका छन्। तर कार्कीले आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताएका छन्। राईले पनि सरकार परिवर्तनबारे छलफल भए पनि ठोस निर्णय नभइसकेको बताएका छन्।

मुख्यमन्त्री कार्कीले भने आफूलाई हटाउने विषय विधि र संवैधानिक प्रक्रियाबाट मात्रै सम्भव हुने बताउँदै आएका छन्। संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त भएका कार्कीले आफू कुनै दलको समर्थनमा मात्रै नभई स्वतन्त्र सांसदहरूको समर्थनमा मुख्यमन्त्री बनेको तर्क गर्दै आएका छन्।

किन सहज छैन कार्की हटाउन ?

कोशी प्रदेशको सरकार परिवर्तनको प्रयासमा सबैभन्दा ठूलो चुनौती संवैधानिक व्यवस्था हो। संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई सामान्य संसदीय दलको निर्णय वा पार्टी नेतृत्वको निर्देशनका आधारमा मात्रै पदबाट हटाउन सकिने अवस्था छैन।

संविधानको धारा १८८ मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने व्यवस्था छ। तर मुख्यमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म अविश्वासको प्रस्ताव पेस गर्न नपाइने संवैधानिक प्रावधान छ। त्यस्तै, अविश्वासको प्रस्ताव पेस गर्दा वैकल्पिक मुख्यमन्त्रीको नामसमेत प्रस्ताव गर्नुपर्ने हुन्छ।

यसकारण एमाले संसदीय दलभित्र कार्कीविरुद्ध बहुमत जुटे पनि त्यसले स्वतः मुख्यमन्त्री परिवर्तनको बाटो खोल्दैन। सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ सरकार गठनका लागि आवश्यक राजनीतिक आधार तयार गर्ने विषय पनि उत्तिकै जटिल छ।

एमालेका नेता तथा प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले सरकार परिवर्तनको अहिलेको बहसलाई बेमौसमी बाजाको संज्ञा दिँदै यसविरुद्ध संवैधानिक र राजनीतिक लडाइँ लड्ने बताएका छन्। अहिले एमालेप्रति जनतामा नकारात्मक धारणा बढिरहेको अवस्थामा प्रदेश सरकारहरूलाई अस्थिर बनाउने र पार्टीभित्रै नेता–कार्यकर्तालाई लडाउने गतिविधि उचित नरहेको उनले बताए ।

सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टीले पनि अहिले सरकार अस्थिर बनाउने प्रयास गर्न नहुने धारणा राखेको छ। निर्वाचनको मुखमा प्रदेश सरकार परिवर्तनको विषयले राजनीतिक अस्थिरता बढाउने उसको तर्क छ।

विद्या-शंकर नजिकिँदा ओलीमाथि दबाब

कोशी प्रदेशको सत्ता संघर्षलाई एमालेको केन्द्रीय राजनीतिसँग जोड्ने अर्को महत्त्वपूर्ण पक्ष विद्या भण्डारी र शंकर पोखरेलबीचको बढ्दो निकटता हो।

पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएपछि पार्टीभित्रको शक्ति सन्तुलनमा परिवर्तन आउन थालेको छ। उनलाई सक्रिय राजनीतिमा फर्काउने विषयमा सुरुमा ओली स्वयम् सकारात्मक देखिएका थिए। तर पछिल्लो समय पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण र कार्यशैली परिवर्तनका विषयमा भण्डारीले राख्दै आएका धारणाले ओलीको नेतृत्वसँग उनको सम्बन्ध कस्तो रहने भन्ने प्रश्न उठेको छ।

एमालेभित्रको असन्तुष्टिलाई सम्बोधन गर्न भण्डारीलाई पार्टीमा सक्रिय बनाइए पनि उनी आफूलाई ओलीको सहयोगी भूमिकामा मात्रै सीमित राख्ने पक्षमा छैनन्। राष्ट्रिय भेलामा उनले पार्टीभित्र कसैलाई निषेध गरेर होइन, सबैलाई समेटेर अघि बढ्नुपर्ने धारणा राखेकी थिइन्। उनले एमालेको निर्वाचन पराजयमा नेता तथा कार्यकर्ताको व्यवहार पनि जिम्मेवार रहेको बताएकी थिइन्।

भण्डारीले पार्टीभित्रको पुनर्गठन र व्यापक वाम एकताको विषयलाई पनि प्राथमिकतामा राख्दै आएकी छन्। यसले उनलाई एमालेभित्रको सम्भावित वैकल्पिक शक्ति केन्द्रका रूपमा हेरिने अवस्था बनाएको छ। ओलीले आफूखुसी स्थायी कमिटी र पोलिटब्युरो बनाउन खोजेपछि भण्डारीले हस्तक्षेप गरेर निर्वाचनको मुखमा एकपक्षीय रुपमा जान नहुने अडान लिएकी थिइन् ।

महासचिव पोखरेलसँग उनको राजनीतिक निकटता बढ्दै गएको कुराले पनि एमालेभित्र नयाँ समीकरणको चर्चा बढाएको छ। पोखरेलले पार्टीको सांगठनिक सुधार, नेतृत्व विकास र पुस्तान्तरणको विषय उठाउँदै आएका छन्। भण्डारी पनि पार्टीलाई व्यक्तिकेन्द्रित नभई संस्थागत प्रणालीबाट सञ्चालन गर्नुपर्ने पक्षमा देखिएकी छन्।

एमालेमा भण्डारी पक्षीय नेताहरूका अनुसार विद्या र शंकरबीच पार्टी पुनर्गठन र नेतृत्वको विषयमा साझा बुझाइ विकसित हुँदै गएको छ। उनीहरू उपयुक्त समयमा पार्टीभित्रको नेतृत्व र कार्यशैलीसम्बन्धी बहसलाई थप प्रभावकारी बनाउने पक्षमा एकजना नेताले दाबी गरेका छन्। यद्यपि ओलीविरुद्ध औपचारिक मोर्चाबन्दी वा छुट्टै समूह निर्माण गर्ने निर्णय सार्वजनिक भएको छैन।

राष्ट्रिय भेलामै ओली–शंकर मतभेद

एमालेको आन्तरिक विवाद पछिल्लो राष्ट्रिय भेलामा पनि स्पष्ट रूपमा देखिएको थियो। मंसिर २ र ३ गते काठमाण्डुमा भएको राष्ट्रिय भेलामा अध्यक्ष ओली र महासचिव पोखरेलका फरक धारणा सार्वजनिक भए।

पोखरेलले भेलामा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा पार्टीको संगठन कमजोर हुँदै गएको, जनतासँगको सम्बन्ध खुम्चिएको, नयाँ पुस्तासँग संवाद कमजोर भएको र पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्ने विषय उठाएका थिए।

उनले पार्टी पुनर्गठन, नेतृत्व विकास, जिम्मेवारी बाँडफाँटमा पारदर्शिता र संगठन सञ्चालनमा सुधार आवश्यक रहेको औँल्याएका थिए। पार्टीका पदाधिकारीको कार्यकाल र उमेर सीमासम्बन्धी बहसलाई समेत प्रतिवेदनमा समेटिएको थियो।

तर ओलीले भेलाको उद्घाटन र समापनका क्रममा नेतृत्व हस्तान्तरणको विषयमा प्रश्न उठाउँदै जिम्मेवारीमा रहेका व्यक्तिले पद छाड्नुपर्ने भए आफैं पनि तयार हुनुपर्ने बताएका थिए। उनले महासचिव पोखरेलको प्रस्तुतिलाई लक्षित गर्दै जिम्मेवारीमा बसेर काम गर्न नसक्नेले बाटो छाड्नुपर्ने आशय व्यक्त गरेका थिए।

ओलीले पोखरेललाई संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने र भेलाको व्यवस्थापन गर्ने भूमिकामा समेत सीमित गर्न खोजेको विषयले पार्टीभित्रको असन्तुष्टि थप उजागर गरेको थियो। पोखरेलले भने आफ्नो प्रतिवेदनमा समेटिएका पार्टी सुधारका विषयलाई भेलामा उठाएका थिए।

यसअघि पनि पार्टीको निर्वाचन पराजयपछि पोखरेलले नेतृत्व र संगठन पुनर्गठनको विषय अघि सारेका थिए। त्यसका लागि पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तासँग सुझाव संकलन गरिएको थियो। ती सुझावका आधारमा तयार पारिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने पोखरेलको अडानले ओलीसँगको दूरी बढाएको एमाले नेताहरूको भनाइ छ।

ओलीको नेतृत्वशैलीप्रति असन्तुष्टि

एमालेभित्रको पछिल्लो विवादको एउटा मुख्य कारण अध्यक्ष ओलीको नेतृत्वशैली पनि हो। पार्टीको निर्णय प्रक्रियामा अध्यक्षको भूमिका अत्यधिक प्रभावशाली भएको, फरक मत राख्ने नेताहरूलाई पर्याप्त स्थान नदिइएको र संगठनका निर्णयहरू सामूहिक छलफलभन्दा नेतृत्वको इच्छाअनुसार अघि बढ्ने गरेको भन्दै नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्।

गत फागुन २१ को निर्वाचनमा एमालेले व्यहोरेको पराजयपछि पार्टीभित्र नेतृत्व र कार्यशैलीको समीक्षा गर्नुपर्ने आवाज थप बलियो बनेको थियो। महासचिव पोखरेलसहितका नेताहरूले निर्वाचनको परिणामलाई सामान्य हारका रूपमा मात्रै नलिई पार्टीको नीति, संगठन र नेतृत्वमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए।

यसअघि ओलीसँग निकट मानिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलसमेत पार्टी पुनर्गठनको बहसमा सहभागी भएपछि ओलीमाथिको आन्तरिक दबाब बढेको थियो। पार्टीको नेतृत्व दुई कार्यकालसम्म सीमित गर्ने, ७० वर्षे उमेरहद लागू गर्ने, तल्ला कमिटीलाई थप अधिकार दिने र नेतृत्व हस्तान्तरणको प्रक्रिया संस्थागत गर्ने विषयमा पनि नेताहरूबीच छलफल हुँदै आएको छ।

यद्यपि ओली पक्षले अहिले नै नेतृत्व परिवर्तनको बहस आवश्यक नभएको बताउँदै आएको छ। पार्टीको एघारौँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई काम गर्न दिनुपर्ने र संगठनलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने उसको तर्क छ।

कोशी विवादले केन्द्रीय समीकरणमा असर

कोशी प्रदेशका मुख्यमन्त्री कार्की र ओलीबीचको दूरी पछिल्लो समय बढ्दै गएको छ। कार्कीले पार्टीभित्र पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषयमा पोखरेलसँग निकटता राख्नु तथा भण्डारीको राजनीतिक पुनरागमनप्रति सकारात्मक देखिनुले पनि उनी ओलीको निशानामा परेको एमालेका नेताहरूको बुझाइ छ।

यसअघि साउनमा कार्कीलाई पदबाट हटाउने प्रयास हुँदा पोखरेल, पौडेल र भण्डारीलगायत नेताहरूले उनलाई पदमा कायम राख्न भूमिका खेलेको बताइएको थियो। अहिले पुनः कार्कीलाई हटाउने प्रयास सुरु भएपछि ती नेताहरूले कस्तो भूमिका खेल्छन् भन्ने चासो बढेको छ।

कार्कीलाई हटाएर मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने प्रयास सफल भएमा त्यसले कोशी प्रदेशको सरकारको नेतृत्व मात्रै परिवर्तन गर्ने छैन, एमालेभित्रको शक्ति संघर्षमा पनि एउटा पक्षको प्रभाव विस्तार हुने विश्लेषण गरिएको छ। अर्कोतर्फ, कार्कीले संवैधानिक प्रक्रियालाई आधार बनाएर पद जोगाउन सफल भएमा ओलीको प्रदेशस्तरीय राजनीतिक निर्णय कार्यान्वयनमा चुनौती देखिन सक्छ।

विद्या भण्डारी र शंकर पोखरेलबीचको बढ्दो निकटताले पनि यही विवादलाई थप अर्थपूर्ण बनाएको छ। उनीहरूबीच पार्टीको भविष्य, नेतृत्व हस्तान्तरण र सांगठनिक सुधारका विषयमा समान धारणा विकसित हुँदै गएको अवस्थामा कोशीको सत्ता संघर्ष केन्द्रीय राजनीतिसँग जोडिन पुगेको छ।

तर विद्या-शंकर समीकरण तत्कालै ओलीविरुद्ध खुला राजनीतिक मोर्चाका रूपमा प्रस्तुत हुने वा पार्टीभित्रै नेतृत्व परिवर्तनको औपचारिक अभियानमा रूपान्तरण हुने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन। दुवै नेताले पार्टीको एकता र पुनर्गठनको विषयलाई सार्वजनिक रूपमा प्राथमिकता दिँदै आएका छन्।