कोशीको मुख्यमन्त्रीबाट हिक्मतलाई हटाउन शेरधन फेरि सक्रिय

कोशीको मुख्यमन्त्रीबाट हिक्मतलाई हटाउन शेरधन फेरि सक्रिय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउन नेकपा एमालेका नेता शेरधन राई फेरि सक्रिय भएका छन् ।

केही महिनाअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर कार्कीलाई मुख्यमन्त्रीबाट हटाउने प्रयासमा राईले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।  

तर त्यसबेला ओलीले तत्कालका लागि कार्कीको पद जोगाइदिएका थिए । अहिले फेरि राई मुख्यमन्त्री परिवर्तनको पहलमा जुटेको एमालेका एक प्रदेशसभा सदस्यले जानकारी दिएका छन् ।

ती सांसदका अनुसार राईले कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन पहल गरिरहेका छन् । यसका लागि उनले पटक–पटक अध्यक्ष ओलीसँग भेटघाटसमेत गरेको बताइएको छ ।

‘केही दिनअघिबाटै प्रदेश इन्चार्ज शेरधन राई कोशीका मुख्यमन्त्री हिक्मत कार्की हटाउने विषयमा पहल गरिरहनुभएको छ भन्ने जानकारी हामीकहाँ पनि आएको छ । तिलकुमार कमरेडले पनि सहयोग गर्नुपर्छ है भन्ने कुरा गर्नुभएको छ,’ ती सांसदले भने, ‘प्रज्ञामार्फत जाऔँ अथवा यो कार्यकालका लागि छोडिदिऔँ भन्ने हाम्रो कुरा हो । तर अध्यक्ष ओली पनि कार्कीलाई हटाउन सकारात्मक देखिनुभयो ।’

मुख्यमन्त्री बन्ने तयारीमा हुनुहुन्छ भन्ने प्रश्नमा मेन्याङ्बोले भने  त्यसबारे कुनै जानकारी नभएको बताए ।

‘नेताहरूबीच कुरा भएको भए मलाई थाहा भएन तर यसबारे मलाई चाहिँ जानकारी छैन,’ उनले काठमाण्डुपाटीसँग भने, ‘अध्यक्षज्यूसँग धेरै अगाडि भेटेको हो ।’

कार्कीको तर्क : विधि र प्रक्रियाबाट मात्रै हटाउन सकिन्छ

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की भने आफूलाई पदबाट हटाउने विषय विधि र प्रक्रियाअनुसार मात्रै सम्भव हुने बताउँछन् ।  

दलको समर्थनभन्दा स्वतन्त्र सांसदहरूको समर्थनमा आफू मुख्यमन्त्री बनेकाले कुनै पनि दलको ह्विपका आधारमा आफूलाई पदबाट हटाउन नसकिने उनको तर्क छ ।

कार्की संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन् । यही संवैधानिक व्यवस्थाका कारण आफूलाई हटाउने प्रयासले प्रदेशसभा विघटनको अवस्था निम्त्याउन सक्ने तर्क उनले गर्दै आएका छन् ।

‘यत्तिकै मुख्यमन्त्री हटाउने विषय हुँदैन होला । विधि र प्रक्रियाको पनि पालना हुनुपर्छ । तर मलाई हटाउन लागेको विषयमा अहिले त्यस्तो जानकारी छैन,’ कार्कीले काठमाण्डुपाटीसँग भने, ‘अध्यक्षज्यू विधि र प्रक्रियामा चल्ने मान्छे हो । बुवालाई कसैले कान फुकिदिएको होला, तर कान फुकेको भरमा उहाँ चल्नुहुन्न । विधि र प्रक्रियाको विषयमा हाम्रो अध्यक्ष पूर्ण जानकार हुनुहुन्छ ।’

गत साउनमा पनि कार्कीको मुख्यमन्त्री पद धरापमा परेको थियो । त्यतिबेला उनलाई पदमा कायम राख्न एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र वरिष्ठ नेता विद्या भण्डारीलगायत नेताहरूले भूमिका खेलेको बताइन्छ । यसपटक पनि कार्कीलाई नहटाउने पक्षमा यी नेताहरू अगाडि आउन सक्ने दाबी गरिएको छ ।

शेरधन र हिक्मतबीच पुरानै टकराव

कोशी प्रदेशका एमाले इन्चार्ज शेरधन र मुख्यमन्त्री कार्कीबीचको असमझदारी पुरानै हो । यही राजनीतिक टकरावका कारण राईले कार्कीलाई हटाएर मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन खोजेको बताइन्छ ।

केही समयअघिसम्म कोशी प्रदेशका इन्चार्ज राई एमालेकी तत्कालीन वरिष्ठ नेता विद्या भण्डारीनिकट मानिन्थे । तर एमालेको एघारौँ महाधिवेशनमा उनले ओलीलाई साथ दिएपछि उनी ओलीनिकट नेताका रूपमा चिनिन थालेका छन् ।