काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको आधिकारिकताका विषयमा अफवाहमा नलाग्न आग्रह गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बैठकलाई सम्बोधन गर्दै थापाले संसद् पुन:स्थापना हुन्छ भन्नु र कांग्रेसको आधिकारिकता फेरिन्छ भन्नु उस्तै रहेको उल्लेख गरे ।
उनले फागुन २१ गतेको निर्वाचनमा आफूले नै टिकट दिएर निर्वाचन सम्पन्न भइसकेकाले अब स्थानीय तहको निर्वाचन पनि आफ्नै नेतृत्वमा हुने उल्लेख गरेका छन् ।
‘फागुन २१ गतेको निर्वाचनमा टिकट दिएर चुनावमा भाग लिइसकियो । अब आउने स्थानीय निर्वाचन मेरै नेतृत्वमा जान्छ,’ थापाले भने, ‘संसद् पुन:स्थापनाको मुद्दा चलिरहेको छ । संसद् पुन:स्थापना हुन्छ भनेर एमालेका एक जना साथीहरूले भनिरहनुभएको थियो । कांग्रेसको विषय पनि त्यस्तै हो । संसद् पुन:स्थापना हुन्छ भन्ने कुरा पत्याउनुहुन्छ भने कांग्रेसमा पनि पत्याउनुहोस्, नत्र यसको पछि नलाग्नुहोस् ।’
थापाले केही व्यक्तिहरूले आफ्नो आलोचना गरेरै परिचय कमाएको समेत उल्लेख गरेका छन् । पार्टीका पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरूलाई संकेत गर्दै थापाले आफूविरुद्ध जति टीकाटिप्पणी हुने गरेको छ, उति नै बलियो हुँदै गएको उल्लेख गरेका छन् ।
नेपाली कांग्रेसको १५औं महाधिवेशन देउवा पक्षले यही मंसिर अन्तिम हप्ता गर्ने तयारी गरिरहेको छ तर गगन थापा पक्षले त्यो महाधिवेशन आधिकारिक नभएको भन्दै समूहमा नलाग्न आग्रह गरिरहेको छ ।



प्रतिक्रिया