काठमाण्डु- निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरेको छ।
गत असोज १८ देखि २३ मा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले अध्यावधिक गरेको हो।
आयोगले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिले गरेको १५औँ महाधिवेशनलाई मान्यता दिँदै यसअघिको निर्णयलाई निरन्तरता दिएको हो।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ को उपदफा ३ मा पदाधिकारी हेरफेर भएमा आयोगले दल दर्ता किताबमा सोहीबमोजिम विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था छ। निर्वाचित केन्द्रीय समिति र प्रदेश समितिको विवरण निर्वाचन भएको एक महिनाभित्र आयोगलाई उपलब्ध गराउनुपर्ने प्रावधान पनि त्यसै दफामा उल्लेख छ।
यसअघि पूर्वसभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ गते महाधिवेशन गर्ने कार्यतालिकासहित आयोगमा पत्र बुझाएको थियो। तर आयोगले भने गगन नेतृत्वकै कार्यसमितिको विवरण अद्यावधिक गरेको छ।
थापा नेतृत्वको कार्यसमितिलाई आयोगले मान्यता दिएपछि देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका थिए।
सर्वोच्चले गत वैशाख ४ मा आयोगको निर्णय सदर गर्दै उनीहरूको रिट खारेज गरेको थियो। त्यसपछि देउवाले गत साउन ६ मा र खड्काले साउन १२ मा फैसलाको पुनरावलोकन माग गर्दै निवेदन दिएका थिए।
सर्वोच्चले पुनरावलोकनको निस्सा दिएपछि आधिकारिकतासम्बन्धी विवाद फेरि अदालतमा विचाराधीन छ।



प्रतिक्रिया