महान्यायाधिवक्ता कँडेलको तर्क, ‘दानबहादुर कार्कीले मुद्दा हाल्नुको साटो लड्डु बाँड्नुपर्ने हो

महान्यायाधिवक्ता कँडेलको तर्क, ‘दानबहादुर कार्कीले मुद्दा हाल्नुको साटो लड्डु बाँड्नुपर्ने हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- महान्यायाधिवक्ता नारायणदत्त कँडेलले दानबहादुर कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट नहटाइएको तर्क गरेका छन् ।

उनले कार्कीलाई उक्त पदबाट हटाइएको नभएर प्रधानमन्त्रीको कार्यालयमा थप महत्त्वपूर्ण जिम्मेवारी दिइएको जिकिर गरेका छन्।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा कार्कीले दायर गरेको रिटमाथि सुनुवाइका क्रममा सरकारकोतर्फबाट बहस गर्दै उनले यस्तो जिकिर गरेका हुन्।

‘उहाँलाई कारबाही गरिएको होइन, उच्च मूल्यांकन गरेर झन् महत्त्वपूर्ण र थप जिम्मेवारी दिइएको हो,’ उनले जिकिर गरे, ‘उहाँ त मुद्दा लिएर होइन, लड्डु लिएर खुसी मनाउन आउनुपर्ने हो।’

कँडेलले विशेष परिस्थितिका कारण सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी तोकेको बताए। कार्कीसँगको सुरक्षा क्षेत्रको अनुभव उपयोग गर्न सरकारले उनलाई उक्त जिम्मेवारी तोकेको उनले दाबी गरे।

‘सुरक्षा परिषद्मा प्रहरीको प्रतिनिधित्व हुँदैन। त्यही भएर सरकारलाई उहाँजस्तो अनुभवी सुरक्षा सल्लाहकार आवश्यक पर्‍यो,’ उनले भने, ‘अहिले पनि उहाँको सेवा सुविधा आईजीपीकै रुपमा कायम छ।’

कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नु उचित नभएको जिकिर कँडेलले गरे । यसले सरकारलाई शान्ति सुरक्षा कायम गर्न कठिन बनाउने अवस्था सिर्जना गर्ने दाबी पनि उनको थियो ।

सरकारले गत कात्तिक १८ गते कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। उक्त निर्णयविरुद्ध कार्की कात्तिक २० गते सर्वोच्च अदालत गएका थिए ।

सरकारले प्रधानमन्त्रीको विशेष सल्लाहकारको पत्र कार्कीले बुझेको जिकिर गरेको थियो । गृहमन्त्रालयले प्रधानमन्त्रीको विशेष सल्लाहकारको पत्र बुझिसकेकाले अब कार्कीको मुद्दाको अर्थ नरहेको जिकिर गरेको थियो ।