काठमाण्डु- लामो समयदेखि बन्द रहेको देशको पहिलो आधुनिक उद्योग विराटनगर जुट मिल पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको छ।
उद्योग सञ्चालनका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा रणनीतिक लगानीकर्ता खोज्न मिल व्यवस्थापनले आशयपत्र (ईओआई) आह्वान गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक साहको सक्रियतामा उद्योगलाई पुन: जगाउन लागिएको हो ।
विराटनगर जुट मिल लिमिटेडले बुधबार सूचना जारी गर्दै स्वदेशी तथा विदेशी अनुभवी लगानीकर्तालाई ३५ दिनभित्र आशयपत्र पेस गर्न आह्वान गरेको हो। मिलको पुनरुत्थान, आधुनिकीकरण र दीर्घकालीन सञ्चालनका लागि लगानीकर्ता छनोट गर्न लागिएको हो।
प्रस्तावित योजनाअनुसार विराटनगर र दमकमा रहेको मिलको करिब ६७ बिघा औद्योगिक जग्गा ३५ वर्षसम्मको लिज वा साझेदारी अवधारणामा उपलब्ध गराइने योजना सरकारले बनाएको छ।
मिल पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक कम्तीमा १२५ मेट्रिक टन जुटजन्य सामग्री उत्पादन गर्ने र पाँच हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य राखिएको छ।
नयाँ लगानीकर्तालाई आकर्षित गर्न मिलका पुराना वित्तीय, प्रशासनिक तथा श्रमसम्बन्धी दायित्व अलग राख्ने व्यवस्था प्रस्ताव गरिएको छ। यसअनुसार विगतका ऋण तथा दायित्वको भार नयाँ लगानीकर्तामाथि नपर्ने र त्यसको व्यवस्थापन मिल तथा सरकारले गर्ने योजना छ।
लगानीकर्ताले औद्योगिक व्यवसाय ऐन, २०७६ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार उपलब्ध हुने सुविधा पनि पाउनेछन्।
यसमा मेसिनरी आयातमा भन्सार सहुलियत, लाभांश फिर्ता लैजान पाउने सुविधा तथा सुरुवाती वर्षमा लिज भाडामा सहुलियतजस्ता व्यवस्था समेटिएका छन्।
आशयपत्र पेस गर्ने समय सकिएको एक महिनाभित्र योग्य रणनीतिक लगानीकर्ता छनोट गरी समझदारीपत्रमा हस्ताक्षर गर्ने र त्यसपछि सञ्चालनको प्रक्रिया अघि बढाउने योजना छ।
ऐतिहासिक उद्योग पुनः सञ्चालनको प्रयास
विराटनगर जुट मिल सन् १९३६ अर्थात् वि.सं. १९९३ मा स्थापना भएको नेपालको पहिलो आधुनिक उद्योग हो।
मुलुकको औद्योगिक विकासको इतिहासमा महत्त्वपूर्ण स्थान राख्ने यो उद्योग राजनीतिक अस्थिरता, व्यवस्थापकीय कमजोरी र आर्थिक समस्याका कारण पटकपटक बन्द हुँदै आएको छ।
उद्योग बन्द भएपछि त्यहाँ कार्यरत श्रमिकको रोजगारी गुम्नुका साथै जुटजन्य उत्पादनमा मुलुकको औद्योगिक क्षमता कमजोर भएको छ। जुट खेती, प्रशोधन र उत्पादनसँग जोडिएको आपूर्ति शृङ्खलामा समेत यसको प्रभाव परेको छ।
सरकारले बन्द तथा रुग्ण उद्योग पुनः सञ्चालन गर्ने नीतिअन्तर्गत विराटनगर जुट मिललाई निजी क्षेत्रको लगानी र व्यवस्थापनमार्फत सञ्चालनमा ल्याउन खोजेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा अघि बढाइएको यो प्रक्रियाले लगानीकर्ता आकर्षित गर्न सकेमा ऐतिहासिक उद्योग पुनर्जीवित हुने र रोजगारी तथा औद्योगिक उत्पादनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया