काठमाण्डु- लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
बुधबार न्यायाधीश डा. श्री रत्नबहादुर बागचन्दको एकल इजलासले सरकारसहित विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
अदालतले निवेदकको मागबमोजिम आदेश जारी गर्न नपर्ने आधार र कारण खुलाएर बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई आदेश दिएको छ।
त्यस्तै, रिट निवेदकले माग गरेको अन्तरिम आदेशका सम्बन्धमा दुवै पक्षबीच छलफल गर्नुपर्ने भन्दै अदालतले आगामी मंसिर १४ गतेका लागि पेसी तोकेको छ।
राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहसहितले आनीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ अनुसार आनी उपाध्यक्ष पदका लागि योग्य नरहेको दाबी गरिएको छ।
सरकारले गत असोज ३० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा १ (ख) अनुसार आनीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
ऐनअनुसार उपाध्यक्षको पदावधि पाँच वर्षको हुन्छ। उनले मंसिर २ गतेदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेकी थिइन्।
नियुक्ति प्रक्रियामा प्रश्न
आनीको नियुक्तिलाई लिएर सुरुदेखि नै विवाद देखिएको छ। नियुक्तिपछि लुम्बिनीमा स्थानीयलाई प्राथमिकता नदिइएको, छनोट प्रक्रिया पारदर्शी नभएको र आवेदकहरूसँग अन्तर्वार्तासमेत नगरी नियुक्ति गरिएको भन्दै प्रश्न उठेका थिए। नियुक्तिविरुद्ध स्थानीय अभियन्ताहरूले विरोध र नियुक्ति बदरको मागसमेत गरेका थिए।
नियुक्तिको कानुनी आधार र योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च पुगेका निवेदकहरूले नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय पनि रिटमा उठाएका छन्।
लुम्बिनी विकास कोष बुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण, विकास र प्रवर्द्धनका लागि स्थापित संस्था हो।
लुम्बिनीको गुरुयोजना कार्यान्वयन, पुरातात्त्विक तथा धार्मिक सम्पदाको संरक्षण र अन्तर्राष्ट्रिय स्तरमा लुम्बिनीको पहिचान विस्तार गर्नु कोषका प्रमुख काम हुन्। कोषको नेतृत्वमा रहने उपाध्यक्षको नियुक्ति त्यसैले धार्मिक तथा सांस्कृतिक महत्वसँगै सार्वजनिक चासोको विषय पनि बनेको छ।
अहिले सर्वोच्चले वालेन्द्र शाह नेतृत्वको सरकारसँग नियुक्तिको आधार मागेको हो। कारण देखाऊ आदेश जारी हुँदैमा नियुक्ति बदर भएको मानिँदैन। अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा मंसिर १४ गते हुने छलफलपछि अदालतले निर्णय गर्नेछ।



प्रतिक्रिया