प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियो क्षेत्रमा सञ्चारमन्त्री तिमिल्सिनाको निरीक्षण

प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियो क्षेत्रमा सञ्चारमन्त्री तिमिल्सिनाको निरीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर १० र १३ अन्तर्गत जनागालस्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा निर्माण प्रस्ताव गरिएको अत्याधुनिक इनडोर चलचित्र छायांकन स्टुडियो (सिनेपा) क्षेत्रको निरीक्षण गरेका छन् ।

सञ्चारमन्त्री तिमिल्सिनाले स्टुडियो निर्माणस्थलको भौगोलिक तथा प्राविधिक पक्ष, वातावरणीय प्रभाव र स्थानीय सरोकारबारे बुधबार जानकारी लिए ।

उनले राष्ट्रिय महत्वको परियोजनालाई थप ढिलाइ नगरी स्थानीय बासिन्दाको भावना र वातावरणीय पक्षलाई सम्मान गर्दै अघि बढाउनुपर्ने बताए ।

निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा चलचित्र विकास बोर्डका पदाधिकारीसँगको छलफलमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले विकास आयोजनाबाट कसैलाई अन्याय हुन नहुने तर केही व्यक्तिको असहमतिका कारण राष्ट्रिय महत्वका परियोजना अनिश्चितकालसम्म रोकिन नहुने धारणा राखे ।

‘परियोजना बन्दा कसैलाई अन्याय हुनु हुँदैन । स्थानीय बासिन्दाको भावना र सरोकारलाई सम्मान गर्नुपर्छ । तर राष्ट्रिय महत्त्वको परियोजना केही व्यक्ति वा परिवारको असहमतिका कारण सधैँ रोकिने अवस्था पनि हुनु हुँदैन । कानुनी प्रक्रिया, स्थानीयको हित र राष्ट्रिय आवश्यकताबीच सन्तुलन कायम गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने ।

उनले चलचित्र स्टुडियो निर्माणलाई एउटा भौतिक संरचना निर्माणका रूपमा मात्र नभई स्थानीय आर्थिक गतिविधि, रोजगारी, पर्यटन र चलचित्र क्षेत्रको विकाससँग जोडेर हेर्नुपर्ने बताए । स्टुडियो सञ्चालनमा आएपछि कलाकार, चलचित्रकर्मी, प्राविधिक तथा पर्यटकको आवागमन बढ्ने र होटल, यातायातलगायत स्थानीय व्यवसाय विस्तार हुने उनको भनाइ थियो ।

‘यहाँ चलचित्र स्टुडियो निर्माण भयो भने यो क्षेत्र एउटा महत्त्वपूर्ण आकर्षणको केन्द्र बन्न सक्छ । त्यसबाट सिर्जना हुने रोजगारी, व्यवसाय र आर्थिक गतिविधिको लाभ स्थानीय बासिन्दाले पनि पाउँछन्। आयोजनाको प्रत्यक्ष लाभ मात्र होइन, अप्रत्यक्ष लाभसमेत हेर्नुपर्छ,’ उनले भने ।

करिब ४२ रोपनी क्षेत्रफलमा निर्माण गर्ने लक्ष्य राखिएको ‘सिनेपा’ स्टुडियोको निर्माणका लागि तयार पारिएको सुरुआती डिजाइनअनुसार संरचना बनाउन स्थानीयले अवरोध गरेपछि डिजाइन परिवर्तन गर्न पर्ने वा नपर्नेबारे चलचित्र विकास बोर्डले अध्ययन गरिरहेको छ । बोर्डका अनुसार प्रारम्भिक प्राविधिक अध्ययनअनुसार निर्माणका लागि करिब १ लाख घनमिटर माटो व्यवस्थापन गर्नुपर्ने देखिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले चलचित्र स्टुडियो निर्माणका लागि हालसम्म भएको कार्यप्रगति र देखिएका चुनौतीबारे जानकारी गराएका छन् ।

सोक्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले सुरुआती डिजाइन परिवर्तन गर्दा ठूलो परिमाणमा माटो कटान गर्नुपर्ने देखिएकाले वातावरणीय प्रभाव र प्राकृतिक सौन्दर्य संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए । डाँडाको भौगोलिक बनावट परिवर्तन हुँदा प्राकृतिक दृश्यमा समेत प्रभाव पर्न सक्ने भएकाले निर्माणको वैकल्पिक स्वरूप र स्थानबारे पुन: अध्ययन गर्न उनले निर्देशन दिए ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा बनेपामा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माण गर्ने कार्यक्रम समावेश गरिएको थियो । सोही योजनाअन्तर्गत २०८२ वैशाखमा शिलान्यास गरिएको ‘सिनेपा’ स्टुडियोमा इन्डोर तथा आउटडोर दुवै प्रकारका संरचना निर्माण गर्ने योजना छ ।