पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – पोखरामा बुधबारदेखि ‘किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन भएको प्रतियोगिताको गण्डकीका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले उद्घाटन गरे ।

प्रतियोगिताको पहिलो दिनको खेलमा गण्डकी प्रदेश, नेपाल एपिएफ क्लब र आयोजक किङ्स क्लब पोखराले विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै ३ अंक जोडेको छ । गण्डकीले पहिलो र दोस्रो सेट समान २५–१७ ले जिते पनि तेस्रो सेट १९–२५ ले गुमाएको थियो । चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै गण्डकीले जीत सुनिश्चित गरेको हो ।

दोस्रो खेलमा नेपाल एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा एपीएफले पहिलो सेट २९–२७ ले जित्दा दोस्रो सेट १८–२५ ले पुलिसलाई सुम्पिएको थियो ।

तेस्रो सेट २५–१८ ले जितेको एपीएफले चौथो सेट २२–२५ ले गुमाएपछि खेल पाँचौँ सेटमा पुगेको थियो । निर्णायक सेट १५–१३ ले जित्दै एपीएफले २ अंक जोड्यो । पराजित पुलिसले १ अंक प्राप्त गरेको छ ।

यसैगरी खेलमा आयोजक किङ्स क्लब पोखराले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । आयोजकले कोशीलाई २६–२४, २५–१८ र २५–२० को सेटमा हराउँदै ३ अंक जोडेको हो ।

‘राउन्ड रोबिन’ प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ४ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो हुने टोलीले १ लाख र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए ।

प्रतियोगिता उद्घाटन गर्दै मन्त्री गुरुङले खेलकुद क्षेत्रको विकासका लागि सरकारसँगै निजी क्षेत्र, क्लब, सङ्घसंस्था र खेलप्रेमी समुदायको सक्रियता पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए । उनले किङ्स क्लबले पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न गरेको पहल प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरे ।

‘गण्डकी प्रदेशमा भलिबलप्रतिको आकर्षण र खेलाडीको प्रतिभा प्रशंसनीय छ । खेलाडीको प्रतिभाको सम्मान गर्दै खेलकुदलाई पेसा र भविष्य निर्माणको माध्यम बनाउनु आवश्यक छ,’ मन्त्री गुरुङले भने । प्रतियोगिता संयोजक थमन गुरुङले राष्ट्रियस्तरमा पुरुष भलिबलको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।