‘देउवाले संवादको ढोका बन्द गर्नुभयो, कांग्रेस सभापतिकै नाममा गतिविधि गर्नु लाजमर्दो’

‘देउवाले संवादको ढोका बन्द गर्नुभयो, कांग्रेस सभापतिकै नाममा गतिविधि गर्नु लाजमर्दो’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पूर्वसभापति शेरबहादुर देउवालाई सभापतिबाहेक जुनसुकै पद दिन आफूहरू तयार रहेको बताएका छन्।

उनले कांग्रेसलाई एकताबद्ध बनाउन देउवा पक्षसँग विभिन्न विकल्पमा संवादको प्रयास गरे पनि उनीहरूकै कारण वार्ताको ढोका बन्द भएको दाबी गरेका छन्।

काठमाण्डुपाटीसँग संक्षिप्त कुराकानी गर्दै महामन्त्री पौडेलले देउवालाई सभापतिपछिको जुनसुकै जिम्मेवारी दिन तयार रहेको तर सभापतिमा भने स्वीकार गर्न नसकिने स्पष्ट पारे।

‘हामीले देउवा दाइलाई सभापतिपछिको जुनसुकै पद दिन पनि तयार छौँ। सभापति मात्रै मान्न तयार होइनौँ भन्ने कुरा गरिसकेका हौँ। तर उहाँहरू आफ्नै पारामा लागेपछि संवादको ढोका नै बन्द गरिदिनुभयो। त्यसपछि थप कुरा गर्न पाइएन,’ पौडेलले भने।

उनले निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिइसकेको अवस्थामा देउवा पक्षले छुट्टै गतिविधि गर्नु उचित नभएको टिप्पणी गरे।

‘उहाँहरूले अदालतमा मुद्दा हाल्नुभएको छ। निर्वाचन आयोगले हामीलाई अद्यावधिक मान्यता दिएको छ। उहाँहरू हामीकहाँ आउँदा सानो भइन्छ भन्ने ठान्नुहुन्छ भने ठिकै हो। तर कांग्रेसकै नाममा उहाँहरूले थप गतिविधि गर्दा चाहिँ लाजमर्दो भयो,’ उनले भने।

कांग्रेसलाई एकताबद्ध बनाउने र लोकतन्त्रलाई थप सुदृढ गर्ने हो भने अझै पनि संवाद र सहकार्यको सम्भावना रहेको उनको भनाइ छ। ‘कांग्रेस एक बनाउने हो र लोकतन्त्रलाई थप सुदृढ बनाउने हो भने अझै पनि समय छ। उहाँहरू हामीसँग आउनुहोस्,’ पौडेलले भने।

यसैबीच, निर्वाचन आयोगले बुधबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरेको छ। आयोगको यो निर्णयसँगै गगन नेतृत्वको कार्यसमितिले आधिकारिक मान्यता पाएको छ।

गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनबाट थापा नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो। त्यसयता संस्थापन पक्ष र देउवा पक्षबीच पार्टीको आधिकारिकता र नेतृत्वलाई लिएर विवाद जारी छ।

आयोगले गगन नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक गरे पनि देउवा पक्षले भने मंसिर २१ गते महाधिवेशन गर्ने कार्यतालिकासहित यसअघि नै आयोगमा विवरण बुझाएको थियो। आयोगको पछिल्लो निर्णयसँगै देउवा पक्षले बुझाएको विवरण अद्यावधिक भएन।

यद्यपि, देउवा पक्षले मंसिर अन्तिम साता महाधिवेशन गर्ने तयारी नरोकेको बताउँदै आएको छ। अदालतमा आधिकारिकतासम्बन्धी मुद्दा विचाराधीन रहेकाले अन्तिम फैसला आफ्नो पक्षमा आउने दाबी देउवा पक्षका नेताहरूले गर्दै आएका छन्।

निर्वाचन आयोगको निर्णयपछि देउवा पक्षमाथि राजनीतिक र संस्थागत दबाब थपिएको छ। एकातिर आयोगले गगन नेतृत्वलाई आधिकारिकता दिएको छ भने अर्कोतिर देउवा पक्ष अदालतको फैसलाको प्रतीक्षामा छुट्टै महाधिवेशनको तयारीमा जुटेको छ। यसले कांग्रेसभित्रको विभाजन थप पेचिलो बन्ने देखाएको छ।