जनकपुर-अयोध्या रेल

शनिबारदेखि नियमित सेवा सुरु हुँदै, भाडा कति ?

शनिबारदेखि नियमित सेवा सुरु हुँदै, भाडा कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालको जनकपुरधाम र भारतको अयोध्यालाई जोड्ने अन्तरदेशीय रेल सेवाको टिकट बुकिङ प्रक्रिया र यात्रासम्बन्धी नियम सार्वजनिक भएका छन् ।

भारतीय रेल्वे बोर्डले जनकपुरधाम–अयोध्या क्यान्टबीच सञ्चालन हुने सरयू–कमला साप्ताहिक एक्सप्रेसका लागि टिकट आरक्षण, भाडा, यात्रुको पहिचान र सामान बोक्नेसम्बन्धी व्यवस्था निर्धारण गरेको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार नयाँ दिल्लीमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए । नियमित यात्रु सेवा शनिबार देखि सुरु हुनेछ ।

रेल्वे अधिकारीहरूका अनुसार यो रेल सेवा सातामा एक दिन सञ्चालन हुनेछ । जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्ने तालिका छ ।

टिकट कसरी बुक गर्ने ?

नेपाली यात्रुले भारतीय रेल्वेको आधिकारिक वेबसाइट तथा मोबाइल एपमार्फत टिकट बुक गर्न सक्नेछन् । त्यस्तै, नेपालमा रहेका आधिकारिक टिकटिङ एजेन्टबाट पनि टिकट लिन सकिने व्यवस्था गरिएको छ ।

भारतीय यात्रुले इन्डियन रेलवे क्याटरिङ एन्ड टुरिजम कर्पोरेसन (आईआरसीटीसी) को वेबसाइट, मोबाइल एप तथा भारतभरका यात्रु आरक्षण प्रणाली (पीआरएस) काउन्टरबाट टिकट काट्न सक्नेछन् ।

रेल्वेले यात्राको मितिबाहेक बढीमा ६० दिन अगाडिसम्म टिकट आरक्षण गर्न सकिने व्यवस्था गरेको छ ।

भाडा कति ?

सरयू–कमला एक्सप्रेसको भाडा सम्बन्धित श्रेणीका भारतीय एक्सप्रेस रेलको प्रचलित आधारभूत भाडादरअनुसार निर्धारण गरिएको भारतीय रेल्वे बोर्डले जनाएको छ ।

त्यसमा आरक्षण शुल्क, सुपरफास्ट सरचार्ज तथा लागू छ भने वस्तु तथा सेवा कर (जीएसटी) थपिनेछ । भारतीय रेल्वेले रेलका विभिन्न श्रेणी अनुसार भाडादर निर्धारण गरेको छ । जसअनुसार शयनयान (स्लिपर) श्रेणीको टिकट ३६५ भारतीय रुपैयाँ, वातानुकूलित तृतीय इकोनोमी श्रेणीको ८८५ रुपैयाँ, वातानुकूलित तृतीय श्रेणीको ९६५ रुपैयाँ र वातानुकूलित द्वितीय श्रेणीको १ हजार ३६० भारतीय रुपैयाँ तोकिएको छ ।

रेलमा एसी दोस्रो श्रेणी, एसी तेस्रो श्रेणी, एसी तेस्रो इकोनोमी र स्लीपर श्रेणीका डब्बा रहनेछ । यो अन्तरदेशीय रेल सेवामा सुरुमा नेपाली र भारतीय नागरिकले मात्र यात्रा गर्न पाउने व्यवस्था गरिएको छ ।

यात्राका क्रममा यात्रुले आफ्नो नागरिकता वा मान्य परिचयपत्र साथमा राख्नुपर्नेछ । टिकट आरक्षण गर्दा पनि यात्रुको राष्ट्रियता र परिचयपत्रसम्बन्धी विवरण आवश्यक पर्नेछ ।

त्यस्तै, रेलमा प्रतीक्षा सूची (वेटिङ लिस्ट) र आरएसी टिकटको व्यवस्था छैन । यात्राका लागि कन्फर्म टिकट अनिवार्य गरिएको छ ।

रेलमा तत्काल (तत्काल र प्रिमियम तत्काल), ज्येष्ठ नागरिक, महिला तथा आपत्कालीन कोटाको सुविधा पनि उपलब्ध हुने छैन ।

रेलमा यात्रुले निश्चित तौलसम्मको सामान निःशुल्क बोक्न पाउनेछन् । एसी दोस्रो श्रेणीमा ५० किलो, एसी तेस्रो श्रेणीमा ४० किलो र स्लीपर श्रेणीमा ४० किलो सामान बोक्ने सीमा पनि निर्धारण गरिएको छ ।

निर्धारित सीमाभन्दा बढी तौलको सामान बोक्दा अतिरिक्त शुल्क लाग्नेछ । यात्रुले बढीमा दुई थान सामान बोक्न पाउने व्यवस्था पनि गरिएको छ । जनकपुरधामदेखि अयोध्यासम्मको रेलमार्गको दूरी करिब ६०४ किलोमिटर छ । यात्रामा करिब १९ घण्टा लाग्नेछ ।