काठमाण्डु- यमनमा इरान समर्थित हुथी विद्रोही समूहले आफ्नो सैन्य प्रभाव विस्तार गर्दै साउदी अरबमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण तीव्र बनाएको छ। साउदी नेतृत्वको गठबन्धनले लामो समयदेखि सैन्य दबाब र हवाई आक्रमण जारी राखे पनि हुथीको प्रभाव घट्नुको सट्टा थप विस्तार भइरहेको छ।
हुथीले यमनको लालसागर तटीय क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गरेपछि अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षालाई लिएर झन् चिन्ता बढेको छ।
विशेषगरी लालसागरलाई अदनको खाडीसँग जोड्ने रणनीतिक रूपमा महत्त्वपूर्ण बाब अल मन्देब जलडमरूमध्यमा हुथीको प्रभाव बढ्नुलाई अन्तर्राष्ट्रिय व्यापारका लागि चुनौतीका रूपमा हेरिएको छ।
यमनको सम्पूर्ण भूभाग नियन्त्रणमा नराखे पनि हुथीले मध्यपूर्वकै शक्तिशाली सैन्य संरचनामध्ये एक साउदी अरबलाई निरन्तर चुनौती दिइरहेको छ।
यसको पछाडि दुई दशकभन्दा लामो युद्ध अनुभव, इरानको सैन्य सहयोग, यमनी सरकारी पक्षभित्रको विभाजन र हवाई आक्रमणको सीमित प्रभाव प्रमुख कारण रहेको विश्लेषण गरिएको छ।
बुधबार हुथीले साउदी अरबको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र रास तनुरालाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेको थियो।
साउदी नेतृत्वको गठबन्धनले उक्त क्षेत्रमा चारवटा ड्रोन खसालेको पुष्टि गरे पनि तेल प्रशोधन केन्द्रमा क्षति पुगेको पुष्टि गरेको थिएन। रोयटर्सले ल्याएको भूउपग्रह तस्बिरमा भने उक्त केन्द्र वरपर ठूलो मात्रामा धुवाँ देखिएको थियो।
त्यसको एक दिनअघि रियादस्थित साउदीको सार्वभौम सम्पत्ति कोष पब्लिक इन्भेस्टमेन्ट फन्डको मुख्यालय रहेको भवनमा आक्रमण भएको थियो। उक्त घटनामा ११ जना घाइते भएका थिए।
हुथीले यमनको होदेइदा बन्दरगाहमा साउदीले आक्रमण गरे जेद्दा र लालसागर तटीय क्षेत्रका अन्य साउदी बन्दरगाहलाई निशाना बनाउने चेतावनीसमेत दिएको छ।

कसरी शक्तिशाली बन्यो हुथी समूह?
सन् २००४ मा यमनी सरकारविरुद्ध सशस्त्र विद्रोह सुरु गरेको हुथी समूह अहिलेको जस्तो संगठित सैन्य शक्तिका रूपमा उदाएको थिएन। दुई दशकभन्दा लामो संघर्षले यसलाई युद्ध अनुभव भएको संगठित सैन्य शक्तिमा रूपान्तरण गरेको छ। यसले राजनीतिक र सैन्य संस्थासमेत निर्माण गरिसकेको छ।
दुई दशकको युद्ध अनुभव, इरानी सैन्य सहयोग र सरकारी सेनाबीचको आन्तरिक कलह हुथीको शक्ति विस्तारको मुख्य आधार
सन् २०१४ मा राजधानी सानामाथि कब्जा जमाएपछि हुथीले सरकारी संरचना, सैन्य स्रोतसाधन र रणनीतिक भूभागमा पहुँच पाएको थियो। त्यसले आफ्नो प्रभाव थप मजबुत बनाउन उसलाई सहयोग पुर्यायो।
बेलायतको लण्डनस्थित रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका यमन तथा खाडी क्षेत्रका विज्ञ बराआ शिबानले द न्युयोर्क टाइम्ससँग कुरा गर्दै यमनी सरकार अति आत्मविश्वासी बन्दा हुथीले के योजना बनाइरहेको छ भन्ने कुरालाई कम आँकेको बताएका छन्।
यमनी सरकारी सेना र साउदी नेतृत्वको गठबन्धनसँग वर्षौँसम्म लड्दा हुथीको सैन्य अनुभव बढेको छ। रोयटर्सका अनुसार इरान र लेबनानको हिजबुल्लाहबाट प्राप्त सहयोग, क्षेप्यास्त्र तथा ड्रोन क्षमतामा भएको सुधार र विपक्षी पक्षबीचको विभाजनले हुथीको पछिल्लो विस्तारमा भूमिका खेलेको छ।
हुथीको शक्ति विस्तारको समयरेखा
-सन् १९९० को दशक : धार्मिक पृष्ठभूमिसहित उत्तरी यमनमा जैदी शिया धार्मिक पुनर्जागरण अभियानका रूपमा बिलिभिङ युथ समूहको उदय।
-सन् २००४ : सशस्त्र विद्रोहका क्रममा हुथी आन्दोलनका संस्थापक हुसेन अल हुथी सरकारी सेनाबाट मारिए। उनका समर्थकले विद्रोह जारी राखे।
-सन् २००४–२०१० : युद्ध अनुभवबाट यमनी सरकारी सेनासँग ६ चरणमा संघर्ष गर्दै सैन्य अनुभव हासिल।
-सन् २०११ : राजनीतिक उथलपुथलको फाइदा लिँदै अरब स्प्रिङ आन्दोलनका कारण यमनी सरकार कमजोर बनेपछि हुथीले आफ्नो नियन्त्रण क्षेत्र विस्तार गर्यो।
-सन् २०१४ : अन्तत: राजधानी कब्जा गर्न सफल भयो। पूर्वराष्ट्रपति अली अब्दुल्लाह सालेहप्रति वफादार सेनाको सहयोगमा सानामाथि कब्जा।
-सन् २०१५ : साउदीले सैन्य हस्तक्षेप थाल्यो। अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकार पुनःस्थापना गर्ने उद्देश्यसहित साउदी नेतृत्वको गठबन्धनले सैन्य हस्तक्षेप गर्यो।
-सन् २०१७ : शक्ति सुदृढीकरण तीव्र बनायो। पूर्वराष्ट्रपति सालेहसँगको गठबन्धन टुटेपछि हुथीले उनको हत्या गर्यो र उत्तरी यमनमा आफ्नो पकड थप मजबुत बनायो।
-सन् २०२२ : राष्ट्रसंघको मध्यस्थतामा युद्धविराम भयो। देशव्यापी युद्धविरामले हिंसात्मक गतिविधि घटायो।
-सन् २०२३–२०२५ : क्षेत्रीय शक्ति विस्तारको अवसर पायो। गाजा युद्धपछि हुथीले लालसागरमा अन्तर्राष्ट्रिय जहाजलाई निशाना बनाउँदै आक्रमण सुरु गर्यो।
-अगस्ट २०२६ : युद्ध पुनः सुरु भयो। इरानसँग जोडिएको व्यापक क्षेत्रीय द्वन्द्वका बीच यमनमा पुनः लडाइँ सुरु भयो।
-सेप्टेम्बर–नोभेम्बर २०२६ : भूभाग विस्तारलाई तीव्र बनायो। लालसागर तटीय क्षेत्रमा अघि बढ्दै हुथीले एडेनलाई समेत खतरा पुर्यायो र साउदी अरबमाथिका आक्रमण तीव्र बनायो।

साउदीमाथि आक्रमण गर्ने क्षमता कसरी?
साउदी अरबमाथि आक्रमण जारी राख्न हुथीले यमनको सम्पूर्ण भूभाग नियन्त्रण गर्न आवश्यक पर्दैन। राजधानी सानासहित ठूलो भूभाग आफ्नो नियन्त्रणमा राखेको हुथीले परम्परागत विद्रोही समूहको तुलनामा निकै उन्नत सैन्य क्षमता विकास गरिसकेको छ।
इरानको सहयोगले हुथीको क्षेप्यास्त्र तथा ड्रोन भण्डार र प्रविधि विकासमा योगदान पुर्याएको छ। स्थानीय स्तरमा हतियार उत्पादन गर्ने क्षमताले पनि उसको सैन्य शक्ति टिकाइराख्न सहयोग गरेको छ।
इरानको साथ र यमनी शक्तिबीचको विभाजनले हुथी विद्रोही बलियो, साउदी अरबमाथि आक्रमण तीव्र
साउदी अरबसँग अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली भए पनि हरेक क्षेप्यास्त्र र ड्रोनलाई रोक्न त्यस्ता प्रणाली सधैँ सफल हुँदैनन्। आक्रमण रोक्न नसक्दा जनधन र पूर्वाधारमा क्षति पुग्ने जोखिम रहन्छ। तर क्षेप्यास्त्र र ड्रोन खसाल्दैमा आक्रमण गर्ने समूहको क्षमता पूर्ण रूपमा समाप्त हुँदैन।
यसैले निरन्तर सैन्य दबाब र आक्रमणका बाबजुद सीमापार द्वन्द्व रोक्न साउदी अरबलाई कठिन भइरहेको छ।

साउदीको हवाई आक्रमण किन प्रभावहीन?
आधुनिक समयमा हवाई सैन्य श्रेष्ठता हासिल गर्दैमा भूभागमाथि नियन्त्रण स्थापित गर्न सकिँदैन। साउदी अरबका हवाई आक्रमणले हुथीको सैन्य क्षमतामा क्षति पुर्याउन सक्छन्। तर गुमेको भूभाग पुनः कब्जा गर्न र त्यसलाई आफ्नो नियन्त्रणमा राख्न प्रभावकारी तथा समन्वित स्थलसेना आवश्यक हुन्छ।
यमनको पहाडी भूगोलले पनि सरकारी सेनाको सैन्य अभियानलाई कठिन बनाएको छ। अलजजिराले मंगलबार प्रकाशित गरेको एक रिपोर्टमा कठिन भौगोलिक अवस्था, हुथीको प्रतिरक्षा संरचना र सरकारी सेनाभित्रका प्रतिस्पर्धी प्राथमिकताका कारण व्यापक हवाई आक्रमणका बाबजुद मध्य यमनमा प्रतिआक्रमण सुस्त भएको उल्लेख छ।
अर्थात् हवाई आक्रमणबाट हुथीका सैन्य संरचनामा क्षति पुर्याउन सकिए पनि उसको नियन्त्रणमा रहेका क्षेत्र पुनः कब्जा गर्न सरकारी पक्षलाई कठिन भइरहेको छ।
सरकारी सेनामा फुट हुथीका लागि अवसर
हुथीको शक्ति विस्तारको अर्को प्रमुख कारण उसका विपक्षी पक्षबीचको विभाजन हो। यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकार विभिन्न सैन्य समूह, आदिवासी लडाकु र फरक राजनीतिक स्वार्थ भएका शक्तिहरूको गठबन्धनमा निर्भर छ।
राजनीतिक तथा द्वन्द्व विश्लेषक मोहम्मद अल काधीले रोयटर्ससँग कुरा गर्दै सरकारी पक्षसँग आबद्ध शक्तिबीच वर्षौँदेखि जारी असहमति र आपसी द्वन्द्वले हुथीलाई फाइदा पुर्याएको बताएका छन्।
यमनी सरकारले भने द न्युयोर्क टाइम्ससँग कुरा गर्दै यी समस्या समाधान गर्न र एकीकृत सैन्य कमान्ड स्थापना गर्न कदम चालिएको जनाएको छ।
तर सरकारी सेनाले अहिले गुमेको भूभाग फिर्ता लिनुभन्दा अस्थायी राजधानी एडेनको सुरक्षा गर्न आफ्नो प्राथमिकता बदल्नुपरेको छ।

एडेनसमेत निशानामा
हुथीका लडाकु एडेनबाट करिब ६० किलोमिटरको दूरीसम्म अघि बढेपछि सरकारी सेनाले अस्थायी राजधानीको सुरक्षाका लागि थप सैन्य शक्ति परिचालन गरेको छ।
यमनी सेनाका प्रवक्ता कर्नेल माजेद अब्दुल्लाह अल नुजाइलीले मंगलबार एडेन हुथीको नियन्त्रणमा नजाने दाबी गरेका थिए। उनले युद्धमैदानको अवस्था कठिन रहेको स्वीकार गरे पनि सरकारी सेना सहरको रक्षा गर्न सक्षम रहेको बताएका थिए।
‘अहिलेको अवस्था हामीले चाहेजस्तो छैन, तर समाचारमा आएजति भयावह पनि छैन,’ उनले भनेका थिए। सरकारी सेनाको प्राथमिकता एडेनको रक्षा गर्ने, जलडमरूमध्यको सुरक्षा गर्ने, ताइजमाथिको घेराबन्दी अन्त्य गर्ने र सबै मोर्चामा दबाब कायम राख्ने रहेको उनले बताए।
विश्व स्वास्थ्य संगठनको तथ्यांक उद्धृत गर्दै द न्युयोर्क टाइम्सले अगस्टयता यमनमा २ हजार २०० भन्दा बढी मानिसको मृत्यु भएको र करिब ३ लाख ५० हजार विस्थापित भएको जनाएको छ।
एडेनस्थित अबुद सैनिक अस्पतालका चिकित्सा सेवा प्रमुख आरिफ अल दाइरीले पछिल्ला दुई महिना पछिल्ला वर्षहरूकै सबैभन्दा खराब रहेको बताएका छन्। उनका अनुसार आगामी दिनमा घाइतेको संख्या र दुःखद खबर थप बढ्न सक्ने जोखिम छ।
यमनबाहिर पनि चुनौती
हुथीको भूभाग विस्तारले मध्यपूर्वको व्यापक द्वन्द्वमा थप जोखिम सिर्जना गरेको छ। अमेरिका र इरानबीचको तनावका कारण होर्मुज जलडमरूमध्यमा दबाब बढिरहेका बेला बाब अल मन्देब क्षेत्रमा अस्थिरता थपिए अन्तर्राष्ट्रिय व्यापारका लागि अर्को महत्त्वपूर्ण समुद्री मार्ग प्रभावित हुन सक्छ।
बाब अल मन्देब जलडमरूमध्य लालसागर र अदनको खाडी जोड्ने साँघुरो समुद्री मार्ग हो। विश्व व्यापारका लागि यो अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यस क्षेत्रमा हुथीको प्रभाव बढ्दा अन्तर्राष्ट्रिय जहाजको आवागमन र समुद्री सुरक्षामा थप चुनौती उत्पन्न हुन सक्छ।
साउदी अरबका लागि अहिले दुईवटा चुनौती छन्। पहिलो, आफ्ना सहर र आर्थिक पूर्वाधारलाई हुथीका आक्रमणबाट जोगाउनु। दोस्रो, छिमेकी यमनमा स्थायित्व पुनःस्थापना गर्ने प्रयासलाई निरन्तरता दिनु।
लामो समयको सैन्य दबाबका बाबजुद हुथीले आक्रमण जारी राख्न सक्नुले मध्यपूर्वमा दीर्घकालीन सुरक्षा कायम गर्न केवल युद्धमैदानको सफलता मात्रै पर्याप्त नहुने देखाएको छ। –गल्फन्युजको सहयोगमा



प्रतिक्रिया