काठमाण्डु– चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले सरकारसँग भएका सहमति कार्यान्वयन नभए २६औँ अनशनसहित आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै केसीले आगामी मंसिर ११ गतेभित्र सहमतिविपरीतका निर्णय नसच्याए र सहमति कार्यान्वयन नगरे आन्दोलनमा उत्रिने बताएका हुन् ।
सरकारले यसअघि भएको सहमति उल्लंघन गरेको आरोप लगाउँदै उनले जवाफदेहिता, सुशासन र स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारका माग सम्बोधन गर्न आग्रह गरेका छन् ।
केसीले सहमतिअनुसार काम नगरेको र छानबिन समितिको कार्यक्षेत्रसमेत सहमतिको मर्मविपरीत तोकिएको दाबी गरेका छन् ।
‘स्वास्थ्य, शिक्षा, जवाफदेहिता र सुशासनको नारासहित निर्वाचित सरकारबाटै यिनै विषयमा भएका सहमतिहरू बारम्बार उल्लङ्घन हुनु अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ ।
सरकारसँग ६ बुँदे सहमति भएपछि उनले गत कात्तिक २१ गते २५औँ सत्याग्रह स्थगित गरेका थिए । त्यसको करिब १९ दिनपछि उनले पुनः आन्दोलनको चेतावनी दिएका हुन् ।



प्रतिक्रिया