काठमाण्डु- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले यही मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा गर्न लागेको समानान्तर १५औँ महाधिवेशनको तयारी तीव्र पारेको छ। तर, महाधिवेशनबाट सभापति कसलाई बनाउने भन्ने विषय अझै अन्योलमा छ । यस प्रसङ्गले आफूलाई साथ दिएका नेता मिलाउन देउवालाई कठिन भएको छ।
देउवाले पार्टी सभापतिमा बीपीपुत्र शशांक कोइरालालाई अघि सार्ने तयारी गरेका छन्। तर, सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका विमलेन्द्र निधि त्यसका लागि बाधक देखिएका छन्। निधिले बिहीबार सभापतिमा आफ्नो दाबी सार्वजनिक गर्दै शशांकको समेत सहयोग खोजेका छन्।
यद्यपि, देउवा पक्षका नेताहरू भने अन्तिममा निधिलाई मनाएर शशांकलाई नै सभापति बनाउने दाबी गर्छन्। उनीहरूका अनुसार शशांकलाई सभापति बनाउने विषयमा देउवा पक्षका शीर्ष नेताहरूबीच प्रारम्भिक सहमति जुटिसकेको छ।
‘शेरबहादुर दाइले सभापतिमा शशांक कोइरालालाई अगाडि सार्नुभएको छ। अबको सभापति शशांक दाइ नै हो। विमलेन्द्र दाइले हामीसँग सभापतिको विषयमा कुनै कुरा गर्नुभएको छैन। शेरबहादुर दाइसँग पनि यो कुरा पुगेको छैन रे। मेरो भर्खरै कुरा भएको थियो,’ कांग्रेस देउवा पक्षका नेता कान्छाराम तामाङले भने, ‘उठ्ने तयारी गरेकै भए विमलेन्द्र दाइले फिर्ता लिनुपर्छ। अबको सभापति शशांकलाई बनाउनुपर्छ भनेर देउवा दाइले हामीलाई भनिसक्नुभएको छ।’
शशांकलाई सभापति बनाउने विषयमा शीर्ष नेताहरूबीच सहमति जुटिसकेको एक नेताले बताए। उनलाई सभापति बनाउन प्रकाशमान सिंहलगायतका नेताहरूले पनि साथ दिने देउवा पक्षको बुझाइ छ।
‘प्रकाशमान दाइहरूले दाबी गर्ने अवस्था छैन। उहाँले शशांकलाई नै सहयोग गर्नुहुन्छ,’ तामाङले भने, ‘शशांकलाई सभापति बनाउन देउवा निकट नेताहरू सबै एक हुनुहुन्छ। विमलेन्द्र दाइ पनि अन्तिममा हामीसँगै आउने हो।’
यस विषयमा कांग्रेस नेता एनपी साउदसँग पनि कुरा गर्दा उनले सहमतिको महाधिवेशन गराउने प्रयासमा शशांकलाई अघि सार्ने विषयमा नेताहरूको विमति नरहने संकेत गरे। यद्यपि, यसबारे औपचारिक छलफल भने भइनसकेको उनको भनाइ छ।
पार्टी विभाजन भए पनि शशांकलाई नै सभापति बनाउने देउवा पक्षको तयारी, निधिलाई सभापतिपछिको सम्मानजनक पद दिने प्रस्ताव
‘शशांक दाइको विषयमा नेताहरूको विमति हुँदैन होला, तर यसबारे पूर्ण छलफल भएको छैन। सहमतिको महाधिवेशन बनाऔँ भन्ने विषयमा त पार्टीभित्र सबै नै एक हुनुहुन्छ,’ साउदले भने, ‘सहमतिको महाधिवेशन बनाउन विभिन्न छलफल र तयारी भने हुन्छ।’

विमलेन्द्रलाई फकाउने
कांग्रेस सभापतिमा दाबी गरेका विमलेन्द्र निधिलाई मनाएर शशांकका पक्षमा सहमति जुटाउने देउवा पक्षको तयारी छ। त्यसका लागि निधिलाई सभापतिपछिको सम्मानजनक पद दिने प्रस्तावमा छलफल भइरहेको नेताहरू बताउँछन्।
देउवा पक्षका एक शीर्ष नेताका अनुसार निधिलाई सभापतिबाहेक अन्य पद दिएर सहमतिमा ल्याउने प्रयास भइरहेको छ। सहमति जुटे निर्वाचन प्रक्रिया नै अघि नबढाउने देउवा पक्षको तयारी छ।
‘विमलेन्द्र दाइलाई सभापतिपछिको अरू कुनै पद दिने भन्ने विषयमा तयारी होला। उहाँ सभापति बन्ने विषयमा चाहिँ देउवा सकारात्मक हुनुहुन्न,’ ती नेताले भने, ‘निर्वाचन नगरिकन सहमतिको महाधिवेशन बनाउँदा दाइले साथ दिनुभयो भने निर्वाचनको प्रक्रियामा गइँदैन।’
उनका अनुसार महाधिवेशन हुनुअघि वा उद्घाटनपछि नेताहरूबीच पद बाँडफाँटमा सहमति जुट्न सक्छ। अहिले नेताहरूले आफ्नो दाबी प्रस्तुत गर्नु पद सुरक्षित राख्ने रणनीति पनि हुन सक्ने उनको भनाइ छ।
‘अहिलेसम्म नेताहरूले आफ्नो दाबी प्रस्तुत गर्ने समय मात्रै छ। महाधिवेशन हुन एक–दुई दिन अगाडि अथवा महाधिवेशन उद्घाटनपछि सबै कुरा मिलेर जान्छ,’ उनले भने, ‘नेताहरूले आफ्नो पद सुरक्षित राख्नका लागि पनि उम्मेदवारी घोषणा गर्नुभएको हिसाबमा बुझौँ।’
कांग्रेस नेता प्रकाशशरण महत पनि महाधिवेशनको तयारी पूरा भइनसकेकाले अहिले नै सहमतिको विषयमा निष्कर्ष निकाल्न नसकिने बताउँछन्। यद्यपि, शीर्ष नेताहरूलाई सम्मानजनक स्थान दिएर अघि बढ्ने विषयमा पार्टीभित्र नकारात्मक धारणा नरहेको उनको भनाइ छ।
‘शीर्ष नेतृत्वलाई सम्मानजनक ठाउँ दिने विषयमा कोही पनि नेता नकारात्मक हुनुहुन्न। पाँचै पुस्तालाई कांग्रेसले मिलाएर अगाडि बढ्छ। शेरबहादुर दाइले यसो गरौँ भनेपछि अरू नेताहरूले नमान्ने भन्ने कुरा हुँदैन। किनभने दाइलाई नै हामीले नेता मानेर हिँडेको हो,’ महतले काठमाण्डुपाटीसँग भने।
देउवा पक्षका अर्का नेताका अनुसार निधिले निर्वाचन नै भए पनि सभापतिमा प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन्। तर, देउवासँग अन्तिम छलफल भएपछि उनले उम्मेदवारी फिर्ता लिन सक्ने उनीहरूको अनुमान छ।
‘विमलेन्द्र दाइले निर्वाचन नै भए पनि म सभापतिमा लड्छु भन्नुभएको छ। तर, अन्तिममा देउवा दाइसँग कुरा भएपछि उम्मेदवारी फिर्ता लिनुहोला। उहाँले उम्मेदवारी फिर्ता लिएको अवस्थामा निर्वाचन हुँदैन, नत्र निर्वाचन हुने अवस्था पनि सिर्जना हुन सक्छ,’ ती नेताले भने।

शशांकलाई ढुक्क हुन देउवाको आग्रह
देउवाले शशांकलाई सभापतिमा अघि बढ्न ढुक्क रहन आग्रह गरेको उनी निकट नेताहरूको दाबी छ। पछिल्लो समय देउवाले शशांकलाई संयोजकका रूपमा अघि सारेर गतिविधि गरिरहेको र महाधिवेशनबाट पनि उनैलाई नेतृत्वमा पुर्याउने तयारी गरेको बताइएको छ।
देउवा निवास पुगेका नेताहरूलाई समेत अबको सभापति शशांक नै हुने जानकारी गराइसकेको कान्छाराम तामाङ बताउँछन्। ‘शशांक दाइलाई ढुक्क हुन देउवा दाइहरूले पनि आग्रह गर्नुभएको छ। १५औँ महाधिवेशनमा हाम्रो सभापति शशांक दाइ नै हो,’ तामाङले भने, ‘शशांक दाइले पनि मलाई देउवा दाइले ढुक्क हुनु, सभापतिका लागि तयार रहनु भन्नुभएको छ भनेर हामीलाई भन्नुहुन्थ्यो।’
उनका अनुसार सभापतिका लागि शशांकलाई अघि सार्दै अन्य शीर्ष नेताहरूलाई सम्मानजनक पद दिने विषयमा पनि प्रारम्भिक छलफल भइरहेको छ। ‘प्रकाशमान दाइ, विमलेन्द्र दाइ र अरू दाइहरू सम्मानित नेताका रूपमा रहनुहुन्छ। महामन्त्रीलगायत अरू पदका विषयमा पनि प्रारम्भिक छलफल सुरु भइसकेको छ,’ तामाङले भने।
महामन्त्रीका लागि एनपी साउद पनि बलियो दाबेदारका रूपमा देखिएका छन्। प्रकाशशरण महत पनि महामन्त्री पदको दौडमा छन्। प्रकाशमान र विमलेन्द्रलाई वरिष्ठ नेता वा वरिष्ठ उपसभापतिजस्ता पदमा राख्ने तयारी भइरहेको देउवा पक्षका नेताहरूको भनाइ छ। देउवालाई भने सम्मानित नेताको हैसियतमा राख्ने प्रस्ताव छ।
कांग्रेस अहिले जटिल अवस्थामा रहेकाले विभिन्न पुस्ता र समूहलाई एक ठाउँमा ल्याउन शशांकलाई सभापतिमा अघि सारिएको देउवा पक्षका नेताहरूको दाबी छ। बीपी कोइरालाका छोरा भएकाले शशांकलाई अघि सार्दा पार्टीभित्र सहमति जुटाउन सहज हुने उनीहरूको आकलन छ।

पार्टी फुटे पनि शशांककै नेतृत्व
नेपाली कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। अदालतले गगन थापा पक्षलाई मान्यता दिएमा देउवा पक्षले छुट्टै पार्टी गठन गर्ने तयारी गरेको नेताहरूले बताउन थालेका छन्। त्यस्तो अवस्थामा पनि यही महाधिवेशनबाट सभापति चुनिने व्यक्ति नै नयाँ पार्टीको नेतृत्वमा रहने उनीहरूको भनाइ छ।
देउवा पक्षका नेता कान्छाराम तामाङले पार्टी विभाजनको अवस्था आए पनि शशांक नै सभापति रहने दाबी गरे। कांग्रेस नेता रमेश लेखकले पनि अदालतको फैसला देउवा पक्षको विपक्षमा आए पार्टी विभाजन हुन सक्ने संकेत गरेका छन्।
‘गगनजीहरूलाई नै अदालतले मान्यता दिन्छ भन्ने प्रस्ट छैन। हामी नीति र सिद्धान्तमा हिँडेका छौँ। यदि उहाँहरूकै पक्षमा फैसला भयो भने त पार्टी फुट्छ भन्दा फरक पर्दैन,’ लेखकले भने, ‘पार्टी कस्तो हुने, चुनाव चिह्न के राख्ने लगायत विषयमा छलफल भएको छैन। हामी त देउवा दाइलाई नै मान्यता आउँछ भन्ने विषयमा ढुक्क छौँ। नआएको अवस्थामा आफ्नो ढंगले अगाडि बढिएला।’
देउवा पक्षका नेता प्रकाशमान पनि अदालतको फैसलापछि पार्टी कसरी अघि बढ्ने भन्ने निर्णय हुने बताउँछन्। महाधिवेशनबाट निर्वाचित नेतृत्वकै अगुवाइमा छुट्टै पार्टी गठन हुन सक्ने अवस्था रहेको उनले बताए ।
‘अदालतमा मुद्दा विचाराधीन छ। हामी चाहन्छौँ, चाँडो फैसला होस्। हाम्रो महाधिवेशनपछि फैसला भयो भने पनि महाधिवेशनबाट आएको नेतृत्वकै नेतृत्वमा अर्को पार्टी बन्ने अवस्था देखिन्छ,’ सिंहले भने, ‘हामी तोकिएकै समयमा महाधिवेशन गर्छौँ। सहमति या प्रक्रियाबाट पनि जान सकिएला। पार्टीको विषयमा निर्णय भने अदालतको फैसलापछि हुन्छ।’
सर्वोच्च अदालतले देउवा पक्षलाई आधिकारिकता नदिएको अवस्थामा पार्टी विभाजन हुन सक्ने संकेत देउवानिकट नेताहरूले सार्वजनिक रूपमा गर्न थालेका छन्। तर, पार्टी विभाजनको सम्भावनालाई लिएर संस्थापन पक्षले भने असन्तुष्टि जनाएको छ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले समानान्तर गतिविधि गरिरहनुभन्दा पार्टी विभाजन गरेर अघि बढ्न देउवा पक्षलाई सुझाव दिएका छन्।
‘उहाँहरू आफ्नो हिसाबले अगाडि बढ्दा हामीलाई अझ राम्रो हुन्छ। मिल्नु हुँदैन भने आफ्नो हिसाबले जानुहोस्। तर, कांग्रेसका नाममा दुईवटा गतिविधि गरेको चाहिँ लाजमर्दो भयो,’ पौडेलले काठमाण्डुपाटीसँग भने, ‘एउटै संस्थामा यो मेरो, यो तेरो भन्ने झगडा गरिरहनुभन्दा उहाँहरू आफ्नै दिशामा लागेको राम्रो। विधि र प्रक्रिया नमान्ने हो भने त आफ्नो हिसाबले अगाडि जान सक्नुपर्यो नि।’



प्रतिक्रिया