काठमाण्डु – गत भदौ रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीमा बेपत्ता भएका ४ हजार ५३८ जनालाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले सरकारसमक्ष सिफारिस गरेको छ ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट पहिचान तथा यकिन भएका ३ हजार ९१५ नेपाली र ७ वटा विदेशी नियोगबाट प्राप्त विवरणअनुसार ६२३ विदेशी नागरिकलाई मृत घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
समितिको निर्णयअनुसार अब सरकारले कानुनी प्रक्रियाअनुसार उनीहरूको मृत्यु घोषणा गर्न सक्नेछ ।
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत्यु घोषणा गर्न सक्ने व्यवस्था छ ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाली नागरिकको हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण संकलन गरेको थियो ।
विदेशी नागरिकको हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूचीका आधारमा दाबी पेस गर्न २ चरणमा ७ दिने सूचना प्रकाशन गरिएको थियो ।

२०८७ सम्म सबै समुदायमा पूर्वसूचना प्रणाली
कार्यकारी समितिको बैठकले ‘सबैका लागि पूर्वसूचना’ राष्ट्रिय मार्गचित्र २०८३–२०८७ पनि स्वीकृत गरेको छ ।
मार्गचित्रले २०८७ सालसम्म नेपालका सबै समुदायमा विपद्को पूर्वसूचना पुर्याउने लक्ष्य राखेको छ । त्यसका लागि बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालन गर्ने योजना अघि सारिएको छ ।
त्यसैगरी बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ र त्यससम्बन्धी २०८३/८४ देखि २०९१/९२ सम्मको कार्ययोजना स्वीकृत गरेको छ ।
वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना २०८३–२०८७ पनि बैठकले पारित गरेको छ ।



प्रतिक्रिया