ओलीको कटाक्ष : ग्रेटर नेपालको नक्सा टाँसेर स्टन्ट गरे, भारतमा सीमा विवादबारे बोल्न सकेनन्

ओलीको कटाक्ष : ग्रेटर नेपालको नक्सा टाँसेर स्टन्ट गरे, भारतमा सीमा विवादबारे बोल्न सकेनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणलाई उपलब्धिविहीन भन्दै चर्को आलोचना गरेका छन् ।

उनले भ्रमण राष्ट्रहितका महत्वपूर्ण एजेन्डाभन्दा बाहिर गएर निजी भ्रमणजस्तो बनेको टिप्पणी गरेका छन् ।

बिहीबार राजधानीमा सम्पादकहरूसँगको संवादमा ओलीले विगतमा काठमाण्डु महानगरपालिकाको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँसेर ‘स्टन्ट’ गर्ने बालेनले भारत भ्रमणका क्रममा सीमा विवादबारे एक शब्द पनि नउठाएको आरोप लगाए ।

भ्रमणअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र कूटनीतिक क्षेत्रका जानकारहरूसँग कुनै परामर्श नगरेको भन्दै ओलीले सरकारको तयारीमाथि पनि प्रश्न उठाए । उनका अनुसार २५ घण्टाको छोटो भ्रमणमा महत्वपूर्ण कूटनीतिक विषयमा गम्भीर छलफल गर्ने अवसरसमेत गुमाइएको छ ।

ओलीले भ्रमणबाट कुनै नयाँ उपलब्धि हासिल नभएको दाबी गर्दै विगतदेखि अघि बढेका विषयको निरन्तरतालाई मात्रै उपलब्धिका रूपमा प्रस्तुत गरिएको टिप्पणी गरे ।

भारतीय आर्थिक सहायतामाथि अविश्वास

भारतले भ्रमणका क्रममा घोषणा गरेको आर्थिक तथा विकास सहायताप्रति पनि ओलीले अविश्वास व्यक्त गरे । विगतमा जनकपुर र भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएका रकमसमेत पूर्ण रूपमा प्राप्त नभएको स्मरण गराउँदै उनले यसपटकको घोषणालाई लिएर उत्साहित नहुन सुझाव दिए ।

‘पहिले प्रतिबद्धता जनाइएका रकम नै आएका छैनन्,’ ओलीको आशय थियो, ‘पुरानो अनुभव हेरेर मात्रै अहिलेको घोषणालाई मूल्यांकन गर्नुपर्छ ।’

नेपाल–भारत सम्बन्धका जटिल विषय समाधानका लागि गठन गरिएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन र त्यसले समेटेका एजेन्डालाई असान्दर्भिक बनाउन खोजिएको भन्दै ओलीले सरकारको आलोचना गरे । सीमा विवादलगायतका विषयमा साझा धारणा बनाउन तयार पारिएको प्रतिवेदनप्रति सरकारले अडान छाडेको उनको आरोप थियो ।

आफूलाई ‘हुल्लडबाज’ले हटाएको दाबी

संवादका क्रममा ओलीले गत भदौमा आफू संवैधानिक प्रक्रियाबाट नभई ‘हुल्लडबाजहरू’को गतिविधिबाट सत्ताच्युत भएको दाबी गरे । उनले आफ्नो बहिर्गमनलाई असंवैधानिक घटनाका रूपमा चित्रण गर्दै राजनीतिक परिस्थितिमाथि प्रश्न उठाए ।

अमेरिकी रक्षा तथा सुरक्षा रणनीतिसम्बन्धी कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा हस्ताक्षर गर्ने तयारी भएको अवस्थामा आफूले नै त्यसलाई रोकिदिएको दाबी पनि ओलीले गरे ।

आफ्नो नेतृत्वको सान्दर्भिकता र उमेरबारे सम्पादकहरूले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले उमेरलाई नेतृत्वको अयोग्यताको आधार बनाउन नहुने तर्क गरे ।

आफ्ना नीति गलत भए स्पष्ट रूपमा लेखेर दिन चुनौती दिँदै उनले भने, ‘खालि हट्, हट् मात्रै नभन्नुहोस् । ट्रम्प, मोदी सबै बुढा छन्, म आज एकैदिनमा बुढो भएको होइन । पहिलोचोटि प्रधानमन्त्री बन्ने बेला पनि म बुढै थिएँ ।’

प्रेस, न्यायालय र संवैधानिक निकायमाथि प्रश्न

ओलीले वर्तमान सरकारको कार्यशैलीलाई लिएर प्रेस स्वतन्त्रता, न्यायालय र संवैधानिक निकायहरूको भूमिकामाथि पनि प्रश्न उठाए ।

मिडियाभित्रै प्रहरी प्रवेश गर्ने र सरकारले सञ्चारमाध्यममाथि कठोर व्यवहार गर्दा पनि प्रेस जगतबाट पर्याप्त प्रतिवाद नभएको उनको टिप्पणी थियो । उनले पञ्चायतकाल र राजतन्त्रको अन्तिम समयका प्रेस प्रतिरोधका घटनाहरू स्मरण गराउँदै अहिलेको सञ्चार क्षेत्रको भूमिकामाथि असन्तुष्टि जनाए ।

न्यायालयको न्यायसम्पादनमा सरकारी प्रभाव देखिएको संकेत गर्दै उनले न्यायालय र संवैधानिक निकायहरूको कामप्रति पनि असन्तुष्टि व्यक्त गरे । शासकले अदालतको सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।

लोकतन्त्रका लागि आन्दोलन

ओलीले मुलुकमा लोकतन्त्र पुन:स्थापनाका लागि आन्दोलन आवश्यक रहेको तर्कसमेत अघि सारे । एमालेले स्थानीय र प्रदेश तहका निर्वाचन एकैसाथ गर्ने प्रस्तावको विरोध गर्ने उनको भनाइ थियो ।

संविधानको मर्म र लोकतान्त्रिक व्यवस्थाअनुसार स्थानीय र प्रदेश तहका निर्वाचन आ–आफ्नै निर्धारित अवधिमा हुनुपर्ने ओलीको अडान छ । निर्वाचनलाई एकैपटक गराउने प्रस्तावले संवैधानिक व्यवस्थाको मर्मविपरीत परिणाम निम्त्याउने उनको तर्क थियो ।