काठमाण्डु – मलेसियामा गैरकानुनी रूपमा संकलन गरिएको रकम पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव तथा पूर्व मुख्यसचिव एकनारायण अर्याललाई ठगी तथा संगठित अपराध सम्बन्धी कसूरमा पक्राउ गरिएको प्रहरीले आधिकारिक जानकारी दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार विज्ञप्ति जारी गर्दै अर्याललाई बुधबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।
सीआईबीका अनुसार मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार उक्त प्रकरणमा ८ करोड ३७ लाख ४ हजार ३९ अमेरिकी डलर ९२ सेन्ट र ३ करोड ७१ लाख ७९ हजार ९८० पाउन्ड ८० पेन्स गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँभन्दा बढी रकम अपचलन भएको आरोप छ ।
उक्त रकम अधिकार क्षेत्र नाघेर र कानुनी प्रक्रियाविपरीत मलेसिया पठाउने निर्णय गरिएको प्रहरीको आरोप छ । संगठित समूहको लाभका लागि श्रमिकलाई ठगी गर्ने कार्यमा संलग्नहरूलाई संरक्षण गरी गैरकानुनी रूपमा संकलित रकम विदेश पठाउने निर्णय प्रक्रियामा अर्यालको भूमिका रहेको सीआईबीको दाबी छ ।
विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
यस प्रकरणमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गर्न काठमाण्डु जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जीको अनुमति लिइएको सीआईबीले जनाएको छ ।
स्याङ्जाको करेन्डाँडा–४ स्थायी ठेगाना भएका ५९ वर्षीय अर्याललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुराम शमशेर जबराले जानकारी दिए ।




प्रतिक्रिया