देउवा समूहलाई चन्द्र भण्डारीको आह्वान, ‘व्यक्ति होइन, विचार ठूलो, गुट होइन, पार्टी ठूलो’

देउवा समूहलाई चन्द्र भण्डारीको आह्वान, ‘व्यक्ति होइन, विचार ठूलो, गुट होइन, पार्टी ठूलो’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले पार्टीलाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई एकजुट हुन आह्वान गरेका छन्।

निर्वाचन आयोगबाट नेपाली कांग्रेस पार्टी अद्यावधिक भइसकेको उल्लेख गर्दै भण्डारीले विगतका मतभिन्नता र असमझदारी संवादमार्फत समाधान गर्न आग्रह गरेका हुन्।

उनले कांग्रेस कुनै एक व्यक्ति वा पुस्ताको मात्र पार्टी नभई पाँच पुस्ताको त्याग, तपस्या, पसिना र योगदानबाट निर्माण भएको साझा घर भएको बताएका छन्।

‘यो कुनै एक व्यक्ति वा पुस्ताको मात्र पार्टी होइन। पाँच पुस्ताको त्याग, तपस्या, पसिना र योगदानले निर्माण भएको हाम्रो साझा घर हो’, उनले भनेका छन्, ‘यसको निर्माणमा हामी सबैको सहभागिता, संघर्ष र लगानी जोडिएको छ।’

भण्डारीले पार्टीभित्र नेतृत्व चयनका विषयमा देखिएका मतभिन्नतातर्फ संकेत गर्दै जनताको चाहनामा जोकोही प्रधानमन्त्री बन्न सक्ने लोकतान्त्रिक व्यवस्थामा कार्यकर्ताको चाहनामा जोकोही पार्टी सभापति बन्न सक्ने बताएका छन्।

‘हामीले बनाएको प्रजातान्त्रिक घरभित्र जनताको चाहनामा जोकोही प्रधानमन्त्री हुन सक्छ भने, कार्यकर्ताको चाहनामा पार्टी सभापति पनि जोकोही हुन सक्छ। विमति किन ?’ उनले प्रश्न गरेका छन्।

उनले इतिहासको विरासत जोगाउँदै वर्तमानको जिम्मेवारी पूरा गर्न र भावी पुस्ताका लागि सक्षम पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

भण्डारीले व्यक्ति र गुटभन्दा पार्टी, विचार, लोकतन्त्र र राष्ट्रहित ठूलो रहेको उल्लेख गर्दै भनेका छन्, ‘व्यक्ति होइन, विचार ठूलो; गुट होइन, पार्टी ठूलो; स्वार्थ होइन, लोकतन्त्र र राष्ट्रहित ठूलो !’

उनको यो अभिव्यक्ति निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको नेपाली कांग्रेसको कार्यसमिति अद्यावधिक भएपछि आएको हो । शेरबहादुर देउवा समूह समानान्तर महाधिवेशनतिर गइरहेका बेला भण्डारीले पार्टीभित्र एकता खोजेका हुन् ।