अमिताभको घर र दिलजीतको कन्सर्टमा बम विस्फोट गराउने धम्की, ग्रिनेड हान्ने चेतावनी

अमिताभको घर र दिलजीतको कन्सर्टमा बम विस्फोट गराउने धम्की, ग्रिनेड हान्ने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता अमिताभ बच्चनको घर ‘जलसा’ र भारतीय गायक दिलजीत दोसाँझको कन्सर्टमा बम विस्फोट गराउने धम्की आएको छ।

भारतको मुम्बईकी मेयर ऋतु तावडेलाई धम्कीपूर्ण इमेल प्राप्त भएको हो। इमेलमा बृहन्मुम्बई महानगरपालिका (बीएमसी) मुख्यालयस्थित मेयरको कार्यालय, मुम्बई मेट्रो नेटवर्कसहित विभिन्न संवेदनशील स्थानमा विस्फोट गराउने चेतावनी दिइएको छ।

शुक्रबार (नोभेम्बर २७) मुम्बईको महालक्ष्मी रेसकोर्समा आयोजना हुने दिलजीत दोसाँझको कन्सर्टलाई पनि निशाना बनाइएको छ। कन्सर्ट आयोजना गरिए मुम्बईमा लगातार ३० दिनसम्म ग्रेनेड आक्रमण गर्ने चेतावनी इमेलमा दिइएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।

इमेलमा खालिस्तान र सन् १९८४ को सिखविरोधी दंगाको प्रसंग उल्लेख गर्दै ‘बब्बर खालसा (परमार-क्यानडा)’ र ‘खालिस्तान नेसनल आर्मी’ नामका संगठनको उल्लेख गरिएको छ।

दिलजीतको कन्सर्टलाई लक्षित गरी यसअघि पनि धम्की आएको थियो। दुई दिनअघि बेंगलुरुमा नोभेम्बर २९ मा आयोजना हुने उनको कन्सर्टमा आईईडी विस्फोट गराउने चेतावनीसहितको इमेल प्राप्त भएको थियो।

अमिताभलाई पाँचौँपटक धम्की

अमिताभ बच्चनको घर ‘जलसा’लाई लक्षित गरी अक्टोबर २३ यता पाँचपटक बम विस्फोट गराउने धम्की आएको समाचारमा उल्लेख छ।

यसअघि नोभेम्बर १२ मा प्राप्त इमेलमा छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल, महालक्ष्मी स्टेडियम, मेयरको कार्यालय, अमिताभको घर जलसा र पञ्जाब नेसनल बैंकको एउटा शाखामा विस्फोट गराउने धम्की दिइएको थियो। त्यसपछि मुम्बईमा सुरक्षा सतर्कता बढाइएको थियो।

त्यस्तै, नोभेम्बर १८ मा ग्याङस्टर गोल्डी ढिल्लोंले अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई ज्यान मार्ने धम्की दिएका थिए। सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले बुलेटप्रुफ सुरक्षा व्यवस्था गरे पनि गोली हान्ने चेतावनी दिएका थिए।

यसअघि अक्टोबर २३ र नोभेम्बर ६ मा पनि इमेलमार्फत अमिताभको घर जलसामा बम विस्फोट गराउने धम्की आएको थियो।

उल्लेखनीय पक्ष, नोभेम्बर २६ मा सन् २००८ को मुम्बई आतंकवादी हमलाको १८औँ वार्षिकी मनाइँदै गर्दा पछिल्लो धम्की आएको हो।