सुर्खेत– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी बक्सिङमा विभागीय टोलीका खेलाडीले पहिलो चरणमा प्रभावशाली प्रदर्शन गरेका छन्। महिला र पुरुषतर्फ बिहीबार सम्पन्न ३४ बाउटका प्रतिस्पर्धासँगै क्वाटरफाइनलको समीकरण पूरा भएको छ।
वीरेन्द्रनगरस्थित मुख्य कभर्डहलमा जारी प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) का खेलाडीले विभिन्न तौल समूहमा जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएका छन्।
विभागीय टोलीसँगै आयोजक कर्णाली प्रदेश तथा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका खेलाडीले पनि पहिलो चरण पार गरेका छन्।
पुरुषतर्फको प्रतिस्पर्धा
पुरुषतर्फ ५० केजीमा एपीएफका लक्ष्मण राईले लुम्बिनीका लक्ष्मण चन्दलाई ५–० ले पराजित गरे। कर्णालीका मोहन गुरुङले गण्डकीका आकाश रानालाई ३–२ ले हराए।
५५ केजीमा कर्णालीका रोहन सारुले बागमतीका मदनकृष्ण डंगोललाई दोस्रो राउन्डमै आरएससीका आधारमा पराजित गर्दा कोशीका फुङ्लाङ काम्बाङले आर्मीका बलबहादुर खड्कालाई ४–१ ले हराए।
६० केजीमा आर्मीका खगेन्द्र रोका मगरले गण्डकीका चन्द्रबहादुर थापालाई आरएससीका आधारमा तथा एपीएफका विक्रम परियारले मधेशका उत्सव बस्नेतलाई ५–० ले पराजित गरे।
६५ केजीमा पुलिसका सोहन राई र आर्मीका नितेश नेपालीले क्रमशः गण्डकीका मानबहादुर हमाल र कोशीका अनिश भुजेललाई समान ५–० ले हराए। सुदूरपश्चिमका विनोद नगरजीले मधेशका ससिन शाक्यबाट वाकओभर पाए।
७० केजीमा पुलिसका सुजन पौडेलले कोशीका सुनिल कार्कीलाई दोस्रो राउन्डमै नकआउट गरे। एपीएफका विक्रम चौधरीले गण्डकीका निशान गुरुङलाई ५–० ले तथा सुदूरपश्चिमका भरत चन्दले मधेशका भुवन सुस्लिङलाई आरएससीका आधारमा पराजित गरे।
७५ केजीमा मधेशका मनिषकुमार चौधरीले पुलिसका रिवाज तामाङलाई ५–० ले हराउँदा एपीएफका सुमन कार्की र गण्डकीका रविन गुरुङले आ–आफ्ना प्रतिद्वन्द्वीलाई ४–१ ले पराजित गरे।
८० केजीमा एपीएफका झलक रोकायले गण्डकीका अमिश थापालाई ४–१ ले र सुदूरपश्चिमका बालकृष्ण सुनारले लुम्बिनीका चन्द्रज्योति थापा मगरलाई ५–० ले हराए।
८५ केजीमा गण्डकीका किरण विकले पुलिसका सम्राट थापा क्षेत्रीलाई ४–० ले पराजित गरे। आर्मीका मदन कार्कीले मधेशका सुरज बेल्दारबाट वाकओभर पाए।
९० केजीमा कोशीका रियाज ढकालले कर्णालीका विजयबाबु सुनारबाट वाकओभर पाए भने आर्मीका पिताम्बर थापा लुम्बिनीका अभिषेक बुढाथोकीले खेल परित्याग गरेपछि विजयी भए।
९० केजीमाथिको सुपर हेभी वेटमा गण्डकीका सौगात गुरुङले सुदूरपश्चिमका ललित भट्टलाई दोस्रो राउन्डमा आरएससीका आधारमा तथा आर्मीका गणेश प्रधानले बागमतीका विवेश बासुलाई खेल परित्यागका आधारमा पराजित गरे।

महिलातर्फ पनि प्रतिस्पर्धा
महिलातर्फ ४८ केजीमा कोशीकी मनिषा राईले लुम्बिनीकी सुहानी श्रेष्ठलाई ५–० ले हराउँदा आर्मीकी आरती बोम्जनले सुदूरपश्चिमकी भगवतीकुमारी साउदलाई तेस्रो राउन्डमा आरएससीका आधारमा पराजित गरिन्।
५१ केजीमा आर्मीकी लालुमाया खत्री क्षेत्रीले कर्णालीकी सिम्रन रसाइलीलाई पहिलो राउन्डमै आरएससीका आधारमा हराइन्।
५४ केजीमा कोशीकी मुस्कान तुलाधरले कर्णालीकी रोशनी बस्नेतलाई ५–० ले पराजित गरिन्। सुदूरपश्चिमकी दीपा रावलले वाकओभर दिएपछि लुम्बिनीकी उर्मिला बसेल क्वाटरफाइनलमा पुगिन्।
५७ केजीमा सुदूरपश्चिमकी कविता सिंहले लुम्बिनीकी श्रेया योगीबाट वाकओभर पाइन्। एपीएफकी खिमा खतीले बागमतीकी प्रिक्षा लामालाई ५–० ले हराइन्।
६० केजीमा लुम्बिनीकी मुस्कान अग्रवालले गण्डकीकी रोमिया गुरुङलाई ५–० ले पराजित गरिन्।
६५ केजीमा सुदूरपश्चिमकी सञ्जिता चौधरीले कोशीकी ग्रेस्टा श्रेष्ठलाई ५–० ले हराउँदा पुलिसकी लक्ष्मी घर्ती मगरले लुम्बिनीकी जेसिका पुरीले खेल त्यागेपछि जित हात पारिन्।
७५ केजीमा कर्णालीकी शर्मिला मल्लले खेल्न अस्वीकार गरेपछि सुदूरपश्चिमकी प्रतीक्षा रोकाया विजयी भइन्।
शुक्रबार ३५ क्वाटरफाइनल भिडन्त
प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान ११ बजेदेखि महिला र पुरुषतर्फ क्वाटरफाइनलका खेल सञ्चालन हुनेछन्।
प्राविधिक प्रतिनिधि पुष्करराज पन्तका अनुसार शुक्रबार कुल ३५ खेल हुनेछन्। जसमा महिलातर्फ १७ र पुरुषतर्फ १८ क्वाटरफाइनल भिडन्त रहनेछन्।



प्रतिक्रिया