बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी निर्विरोध, उपाध्यक्षमा रामचन्द्र खनाल

बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी निर्विरोध, उपाध्यक्षमा रामचन्द्र खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन्। संघको उपाध्यक्षमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल चयन भएका छन्।

यसअघिको कार्यसमितिमा उपाध्यक्ष रहेका रेग्मीलाई शुक्रबार हुने संघको साधारणसभाले औपचारिक रूपमा अध्यक्ष घोषणा गर्नेछ। पछिल्ला केही वर्षदेखि संघमा उपाध्यक्षलाई नै अध्यक्ष बनाउने अभ्यास रहँदै आएको छ।

यसअघि संघको कार्यसमिति सदस्य रहेका खनाल उपाध्यक्षमा निर्विरोध भएका हुन्। संघको कार्यसमिति निवर्तमान अध्यक्षसहित १० सदस्यीय हुन्छ। कार्यसमितिमा केही सदस्यको पदावधि समाप्त हुने र केही पद रिक्त हुने भएकाले नयाँ सदस्यसमेत थपिने भएका छन्।

लक्ष्मी सनराइज बैंकबाट हालै अवकाश पाएका अजयविक्रम शाहको सदस्य पद रिक्त भएको छ। त्यस्तै, लगातार दुई कार्यकाल सदस्य भइसकेका एभरेस्ट बैंकका सीईओ सुदेश खालिङ पनि कार्यसमितिबाट बाहिरिने भएका छन्।

नेपाल बैंकका सीईओ तिलकराज पाण्डे भने दोस्रो कार्यकालका लागि दोहोरिने भएका छन्। खालिङ र शाहको स्थानमा सानिमा बैंकका पवनकुमार आचार्य र सिद्धार्थ बैंकका रामेश्वरप्रसाद बस्याल कार्यसमितिमा आउने भएका छन्। खनाल उपाध्यक्षमा निर्वाचित भएपछि रिक्त हुने एक सदस्य पदमा भने नयाँ कार्यसमितिले नियुक्ति गर्नेछ।

यसैबीच, संघले यस वर्ष पूर्वबैंकर उपेन्द्र पौडेललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ दिने भएको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल (तत्कालीन ग्रिन्डलेज बैंक) बाट बैंकिङ करिअर सुरु गरेका पौडेल एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए।

उनी नबिल बैंकको सञ्चालक समिति अध्यक्षसमेत भइसकेका छन्। यसअघि पौडेलले नेपाल बैंकर्स संघको उपाध्यक्ष र अध्यक्षको भूमिका निर्वाह गरेका छन्। उनलाई शुक्रबार बेलुका नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्मान गर्दैछन्।